
बालुवाटारमा देउवाले ओलीलाई भने– ‘तपाईंहरु पनि सरकारमा आउनुहोस्’, ओलीले के दिए जवाफ ?
काठमाडौ । सत्ता साझेदार दलहरुबीच एमसीसीका पक्षमा सहमति जुटाउन नसके पछि नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सरकारमा सहभागी हुन आग्रह गरेका छन् । बिहिवार साँझ बालुवाटारमा भएको बैठकमा देउवाले ओलीलाई संघिय सरकारमा सहभागी हुन ओलीलाई आग्रह गरेका हुन् ।

उनी ओलीको साथ लिएर एमसीसी पास गर्ने योजनामा छन् । यता माओवादी केन्द्र र एकिकृत समाजवादी भने परिमार्जन बिना एमसीसी पास गर्न नहुने पक्षमा छन् । त्यसका लागि उनीहरु सरकार छोड्न पनि तयार छन् । माओवादीले अब यसवारे औपचारीक निर्णय लिन मात्र बाँकी छ ।

सत्तासाझेदार दलहरु नै एमसीसी विरुद्ध सडक संघर्षमा उत्रिएपछि देउवाले ओली तर्फ हात बढाएका हुन् । बिहीबार दिउँसो र साँझ गरेर देउवा र ओलीबीच दुई चरणको वार्ता सम्पन्न भएको छ । बिहीबार दिउँसो प्रतिनिधिसभाको बैठक स्थगित भए पछि संसद भवनमा नै भएको पहिलो चरणको वार्तामा यी दुई नेताहरुले साँझ फेरि भेट्ने योजना बनाएका थिए ।
देउवाको यो प्रस्तावमा एमाले पनि सकारात्मक देखिएपछि अब कुनै पनि बेला गठबन्धन भत्कने भएको हो । दिउँसो बानेश्वरमा भएको वार्तापछि नेकपा उपाध्यक्ष सुवास नेम्वाङले कांग्रेससँगको वार्ता सकारात्मक भएको बताएका थिए ।
कांग्रेसलाई साथ दिन एमालेले केही सर्तहरु राखेको छ । एमालेले आफूले कारवाही गरेका माधव नेपालसहितका १४ सांसदलाई कारवाही गर्नु पर्ने, सभामुख अग्निप्रसाद सापकोटालाई हटाउनु पर्ने माग राखेको छ । तर देउवा सभामुखलाई तत्काल हटाउने पक्षमा छैनन् । अहिले सभामुखलाई हटाउँदा एमसीसीबारे निर्णय लिन पनि ढिलो हुने भएकाले त्यसो गर्न चाहन्न् । त्यस्तै, एमालेले अहिलेको सत्तारुढ पाँच दलीय गठबन्धन पनि टुक्रिनु पर्ने माग राखेको थियो । देउवा अन्य प्रस्तावमा भने सकारात्मक देखिएका छन् ।



