ओलीलाई विधानबमोजिम हटाइएको हो : झलनाथ खनाल

२० माघ, काठमाडौं । नेकपा वरिष्ठ नेता झलनाथ खनालले ४४१ सदस्यीय केन्द्रीय कमिटीमध्ये झन्डै ७० प्रतिशत आफूहरूसँग भएकाले आधिकारिकता पाउने बताएका छन्। 

प्रचण्ड-नेपाल समूह मंगलबार निर्वाचन आयोग पुगेको छ। आधिकारिकता माग्दै दाबी पेश गरेपछि वरिष्ठ नेता खनालले आफूहरू नै आधिकारिक हुनेमा सय प्रतिशत विश्वस्त रहेको बताए।

‘हामीले दुई वटा केन्द्रीय कमिटी बैठकबाट प्रमाणित गरेका छौं। तेस्रो र हिजो सम्पन्न चौथो केन्द्रीय कमिटी बैठकमा पनि त्यही उपस्थिति रहेर निर्णय गरेका छौं,’ खनालले भने, ‘तथ्य, प्रमाण निर्णय र विधान सबै कुरालाई राखेर दाबी गरेका छौं। अहिले नेकपा भनेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल अध्यक्ष रहेको पार्टी नै आधिकारिक हो भन्ने दाबी प्रस्तुत गरेका छौं।’ 

उनले दल ऐनको धारामा टेकेर नै दाबी प्रस्तुत गरिएको बताए। 

‘विगतमा आ-आफूले कुरा राखियो होला। राजनीतिक रूपले दुई वटा समूह भए। विभाजित त भयो, कानुनी रूपमा पार्टी नफुटे पनि,’ खनालले भने, ‘त्यो सानै समूह भए पनि बालुवाटार एउटा टुक्रा त हो। यही पार्टीबाट फुटेको सानो टुक्रा हो। त्यसलाई पार्टी फोर्ने त तागत नै भएन। हामी नै आधिकारिक हो भन्ने दाबी गर्‍यो। संविधानले दिएको स्वतन्त्रता उपभोग गर्‍यो।’ 

खनालले पार्टीको आधिकारिकता पार्टीका विधान र निर्णयका आधारमा हुनुपर्ने बताए। 

‘हामीले प्रधानमन्त्री केपी ओलीसहितका नेतालाई हटाएको कुरा विधानबमोजिम हो, यही कुरा आयोगमा प्रस्तुत गरेका छौं,’ उनले भने, ‘ती तथ्यलाई पनि ध्यानमा राखेर निर्वाचन आयोगले निर्णय गर्छ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button