
बाढी-पहिरोबाट १८ लाख मानिस प्रभावित हुने अनुमान : कुन-कुन जिल्ला जोखिममा ? (नामावली सहित)
यस वर्ष मनसुनजन्य विपदबाट देशभरमा १८ लाख मानिस प्रभावित हुने अनुमान छ । जल तथा मौसम विज्ञान विभागले विगतका वर्षहरूमा भन्दा यस वर्ष सरदरमा गत वर्षभन्दा धेरै वर्षा हुने जनाएको छ ।

गत वर्षको तथ्यांक हेर्दा विपद्बाट देशभरमा ५ सय ७३ जनाको ज्यान गएकोमा मनसुनजन्य विपद्बाट मात्रै ४ सय बढीको ज्यान गएको थियो ।

यस वर्ष मनसुन अवधिमा गत वर्षभन्दा जोखिम बढी रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको हो । यस वर्ष पहाडी तथा हिमाली क्षेत्रसहित देशभर गत वर्षभन्दा बढी पानी पर्ने सम्भावना छ ।
यस वर्ष भने बाढी तथा पहिरो दुवैको पूर्वानुमान गर्न सकिनेगरी प्रणालीको विकास गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले यस वर्ष मनसुनजन्य विपद्का घटनाबाट १८ लाख बढी मानिस प्रभावित हुने पूर्वानुमान गरिएको जानकारी दिए ।
उनले यस वर्ष २३ जिल्लाका १६ लाख ८७ हजार मानिस बाढी तथा डुबानबाट र २६ जिल्लाका १ लाख १७ हजार मानिस पहिरोबाट प्रभावित हुने पूर्वानुमान रहेको जानकारी दिएका हुन् ।
दार्चुला, बैतडी, डडेल्धुरा, अछाम, बझाङ, बाजुरा, डोटी, दैलेख, डोल्पा, हुम्ला, जुम्ला, जाजरकोट, अर्घाखाँची, बागलुङ, भोजपुर, धादिङ, गोर्खा, गुल्मी, इलाम, काभ्रेपलाञ्चोक, कास्की, खोटाङ, लमजुङलगायतका जिल्लामा पहिरोको जोखिम रहेको प्राधिकरणले जनाएको छ ।
यस्तै, कञ्चनपुर, कैलाली, बाँके, दाङ, रौतहट, सिरहा, सप्तरी, पर्सा, मोरङ, चितवनलगायतका अधिकांश जिल्लामा बाढी तथा डुबानको जोखिम रहेको छ । यो समाचार राजधानी दैनिकमा छ ।
स्याङ्जाको आँधीखोलामा शव भेटियो, पाल्पामा पहिरोले पुरिएर एक किशोरको मृत्यु
स्याङ्जाको भीरकोट नगरपालिका–३ स्थित आँधीखोलामा बिहान एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार आँधीखोलाको बीच भागमा उठेको ढिस्कोमा पुरुषको शव भेटिएको हो ।
आज बिहान ६ बजेतिर स्थानीयवासीले देखेर प्रहरीलाई खबर गरेपछि वडा प्रहरी कार्यालय वालिङ र दहथुम प्रहरी चौकी बयरघारीबाट गएको प्रहरीको टोली र स्थानीयले शव निकालेका हुन् ।
अन्दाजी ५०÷५५ वर्षको जस्तो देखिने पुरुषको शवको सनाखत हुन सकेको छैन ।
शवलाई पोष्टमार्टमका लागि गह्रौँ प्राथमिक अस्पताल वालिङमा ल्याइएको छ । आँधीखोला बढेर आएसँगै माथितिरबाट बगाएर ल्याएको हुनसक्ने भएकाले उक्त ठाउँभन्दा माथिका आँधीखोला तथा सहायक खोला छेउछाउका बस्तीहरुमा पहिचानका लागि सूचना गरिएको प्रहरी प्रवक्ता अधिकारीले बताउनुभयो ।
त्यस्तै पाल्पाको रिब्दीकोट गाउँपालिका–४ मन्छिपमा मङ्गलबार पहिरोले पुरिएर एक किशोरको मृत्यु भएको छ ।
स्थानीयवासी महेन्द्र भट्टराई क्षेत्रीको आफ्नै घर माथिबाट आएको पहिराले घर पुरिँदा उहाँका १९ वर्षीय छोरा मदन भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रहरी चौकी हार्थोक र स्थानीयवासीले उद्धार गरी उपचारका लागि पाल्पा अस्पताल पठाएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले पुष्टि गर्नुभयो ।
शव परीक्षण गरी शव आफन्तलाई बुझाइएको छ । घटनास्थलको मुचुल्का बनाई क्षतिको विवरण लिने कार्य भइरहेको हार्थोक प्रहरी चौकीका प्रमुख कृष्ण रेग्मीले जानकारी दिनुभयो । लगातारको वर्षाका कारण ग्रामीण भेगका धेरै घर जोखिममा परेका छन् ।
सिन्धुपाल्चोकमा बाढीका कारण ५० जना बेपत्ता, सेनाको हेलिकोप्टरसहित उद्धारका लागि २५० जना सुरक्षाफौज घटनास्थलमा
मेलम्चीमा आएको भीषण बाढीका कारण डुबानमा परेकाको उद्धारका सुरक्षा फौजको टोली घटनास्थल पुगेको छ।
गृहमन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार आज विहानै उद्दारका लागि हेलिकोप्टरसहित नेपाली सेना, नेपाल प्रहरीको टोली घटनास्थल पुगेको छ।
प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार चौतारा र काभ्रेको धुलिखेलबाट २५० जनाको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी टोली मेलम्ची पुगेको छ। मेलम्ची बजारस्थित एउटा घरको छतमा चार जना फसेका छन् । उनीहरुलाई उद्धारको प्रयास भइरहेको छ ।
अविरल वर्षापछि मेलम्चीमा आएको बाढीले कम्तिमा ५० जना सम्पर्कविहीन बनेका छन् ।
बाढीले एउटा बजार र चारवटा पक्की पुल बगाएको छ । हिजो बेलुका साढे ६ बजे हेलम्बु १ स्थित नाकोटे भन्ने ठाउँमा ठूलो पहिरो गएको थियो ।

बाढी र पहिरोले हेलम्बुको तिम्बु बजार सिंगै बगाएको छ । यसैगरी चनौटे भन्ने बजार पनि डुबानमा परेको छ । नदीेउका घरटहरा सबै बगेका छन् ।
मेलम्ची खानेपानी ड्याम, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतविक्षत बनाएको प्रहरीले जनाएको छ । हेलम्बुको चनौटेमा रहेको पुल र नाकोटेमा रहेको पुल पनि बगाएको छ । नाकोटेको पुल हालसालै निर्माण सम्पन्न भएको थियो ।
यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल बगाएको छ। बाढी र माटोको लेदोले मेलम्ची क्षेत्रका पक्की घरका संरचनामा पनि क्षति पुगेका छन्।
पहिरोले मेलम्चीको आयोजनाको सुरुङमा क्षति पुगे-नपुगेको पनि एकिन भएको छैन। बाढीले ५० औँ जना बेपत्ता भएको स्थानीयले बताएका छन्। केही घर भत्किएका छन् भने कम्तीमा पाँच पुल बगाएको छ। स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिँदै छ।



