
सुर्खेतमा ज्ञानेन्द्र शाहीको समूहमाथि आक्रमण
शुक्रबार राति सुर्खेतको वीरेन्द्रनगर स्थित करेखोला नजिक सामाजिक अभियन्ताका नामले परिचित ज्ञानेन्द्र शाहीको समूहमाथि आक्रमण भएको छ । राति झण्डै साढे ११ बजेतिर शाहीको समूहमाथि आक्रमण भएको प्रहरीले बताएको छ ।

सामाजिक सञ्जालमा पोष्ट भएको एक भिडियोमा शाही रुँदै घाइते एक युवकलाई अँगालो हालेको देखिन्छ । टाउकोको पछाडिको भागबाट रगत बगिरहेको देखिने ती युवकको प्राथमिक उपचार पनि गरेको देखिन्छ ।

शाहीले सामाजिक सञ्जालमा आफूसहित राजेश महत, कृष्ण पाण्डे, तिलक बस्नेत, नीतु खड्का, लोक बहादुर रोकाया, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईंमाथि आक्रमण भएको उल्लेख गरेका छन् ।
शाहीसहितको समूह देशका बिभिन्न जिल्लामा पुग्दै लकडाउनमा समस्यामा परेकाहरुको उद्दार तथा राहतमा जुटिरहेको छ । निषेधाज्ञाको समयमा समस्यामा परेकाहरुलाई बचाउन खोज्दा खोज्दै आफ्नो ज्यान खतरामा रहेको बताउँदै उनले भिडियोमा उल्लेख गरेका छन् ।
सुर्खेत प्रहरीका अनुसार शाहीको समूह र स्थानीयबीच झडप भएको हो । प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।
सो आक्रमणमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको उनले बताए । शाहीमाथि योसँगै सुर्खेतमा तीन पटक आक्रमण भएको छ । शाहीको समुहको उपचार कर्णाली प्रदेश अस्पतालमा भएको छ ।
गण्डकी प्रदेश : आज विपक्षी गठबन्धनबाट कृष्ण चन्द्र पोखरेल मुख्यमन्त्रीमा नियुक्त हुँदै
गण्डकी प्रदेशले लामो समयको रस्साकस्सी पछि आज नयाँ सरकार पाउने भएको छ । गत बैशाखको शुरुदेखि नयाँ सरकार बनाउनका लागि राजनैतिक पार्टीबीच चलिरहेको रस्साकस्सी आजबाट टुङ्गीदै छ ।
वैशाख १५ गते पहिलो पटक मुख्यमन्त्रीले विश्वासको मत लिंदै गर्दा जनमोर्चाका सांसद खीमविक्रम शाही बेपत्ता भएको भन्दै स्थगित गरिएका थियो । त्यसको दुइ सातापछि विश्वासको मत लिने तयारी हुँदै गर्दा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएका थिए ।
त्यसपछि प्रदेश प्रमुखले तीन दिनभित्र बहुमत पु¥याएर आउन आह्वान गरेकी थिइन् ।
प्रदेश प्रमुखले आह्वान गरेपछि विपक्षी गठबन्धनमा रहेका भनिएका राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले पार्टीको निर्देशन उल्लंघन गरेर हस्ताक्षर गर्न नमानेपछि बहुमत पुग्न सकेन ।
त्यसपछि प्रदेश प्रमुखले संसदको ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता समेत रहेका पृथ्वीसुब्बा गुरुङलाई नै दोस्रो पटक संविधानको धारा १६८ को उपधारा ४ बमोजिम मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।
कुनै पनि दलको बहुमत नभएमा तथा दुई वा दुईभन्दा बढी दलको मिलीजुली सरकार बन्न नसकेमा उपधारा ४ बमोजिम ठूलो दलको सरकार बन्ने व्यवस्था भएकाले सोही प्रक्रिया अनुसार प्रदेश प्रमुखले गुरुङलाई नियुक्त गरेकी थिइन् ।
मुख्यमन्त्रीमा नियुक्त भएका गुरुङले बिहीबार विश्वासको मत लिन असफल भएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ। प्रदेश प्रमुख सीता कुमारी पौडेलले शुक्रबार नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।
उनले आज शनिबारसम्मको समयसीमा तोकेर सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।
प्रदेश प्रमुखले आह्वान गरेको दुई घण्टामै प्रदेश सभाका विपक्षी दलका नेता कृष्ण चन्द्र नेपाली पोखरेलले बहुमत सदस्यहरुको हस्ताक्षर सहित प्रदेश प्रमुखको कार्यालय पुगेका थिए ।
उनले आफुसँग बहुमत रहेको भन्दै मुख्यमन्त्री नियुक्त गर्न बहुमत सांसदको हस्ताक्षर बुझाएका छन् । प्रदेश प्रमुख पौडेलले सरकार गठनको प्रक्रिया शनिबार बढाउने बताएपछि शुक्रबार सरकार बन्न सकेन् ।
गण्डकी प्रदेशमा कांग्रेसका १५, माओवादीका ११, जनमोर्चाका २, जनता समाजवादीका २, स्वतन्त्र सांसद दीपक मनाङे सहितको हस्ताक्षर सहित ३१ बहुमत सदस्यहरुले काँग्रेस नेतृत्वमा सरकार गठनका लागि सहमत भएका हुन् ।
मुख्यमन्त्री गुरुङले गत बिहिबार विश्वासको मत लिएका थिए । ६० सदस्यीय गण्डकी प्रदेश सभाका २७ सांसदले उनलाई विश्वासको मत दिएका थिए । अविश्वासमा ३० र १ जना तटस्थ बसेका थिए ।
स्वतन्त्र सांसद दिपक मनाङे अनुपस्थित रहेका थिए । अहिले आएर उनै सांसद मनाङेले विपक्षी गठबन्धनमा सहयोग गरेकाले विपक्षीमा बहुमत पुगेको हो ।



