
स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही हुन्छ : गृहमन्त्रालय
काठमाडौँ । गृह मन्त्रालयले स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्ने जनाएको छ ।

मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पताल तोडफोड गर्ने जो कोहीलाई पनि तत्काल नियन्त्रणमा लिइ कानुनी कारबाही गर्ने बताएको हो ।

कोभिड महामारीको यो विषम अवस्थामा बिरामीको उपचारमा खटिएका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि हातपात र दुर्व्यवहार हुनु निन्दनीय कार्य हो ।’विज्ञेप्तीमा भनिएको छ ।
बिहीबार राति भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको थियो, घटनामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परिसकेका छन् । बिरामीको मृत्यु भएपछि तुलसीपुरका मानबहादुर रावत, भरत राउत र लोकराज रावतले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको बाँके प्रहरीले जनाएको छ ।
उनीहरु तिनैजना पक्राउ परेको प्रहरीले जनाएको छ, अन्यको संलग्नताबारे पनि अनुसन्धान भइरहेको छ । साथै, मन्त्रालयले स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ ।

कतारसहित तीन देशमा नियमित उडान खुला
सरकारले जेठ १८ गतेदेखि नेपालसँग नियमित उडान भइरहेका चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रीपरिषद बैठकले चार्टर उडानमा वायुसेवा र एजेन्टको मिलोमतोमा यात्रुलाई ठगिने क्रम नरोकिएको भन्दैं चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको हो ।
जेठ १८ देखि सातामा एउटा उडान मात्र हुनेगरी कतारको राजधानी दोहा, टर्किको इस्तानबुल र चीनका कुनै पनि स्थानमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गरिएको हो ।
दुवै खोप लगाएका र पीसीआर नेगेटिभ भएका यात्रुलाई विमानस्थलबाटै १० दिन होम क्वारेन्टाइन बस्ने सर्तमा छाड्ने भनेको छ । एउटा खोप बाँकी भएको तर पीसीआर नेगेटिभ भएका यात्रुले तीन दिन काठमाडौंका होटलमा आफ्नै खर्चमा क्वारेन्टाइन बस्नु पर्ने जनाईएको छ ।
यस्तै, खोप नलगाएको तर पीसीआर नेगेटिभ आएकाले १० दिन अनिवार्य आफ्नै खर्चमा होटलमा बस्नुपर्ने छ ।
यसअघि सरकारले भारतीय यात्रुलाई साउदी अरब पुर्याउन नेपाल वायुसेवा निगम, हिमालय एयरलायन्सलाई चार्टर उडान अनुमति दिएको थियो ।
वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाएको सरकारले वैशाख २० मा आन्तरिक र २३ गते रातीदेखि भारतबाहेक अन्य मुलुकका लागि हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो ।



