दुई साताको निषेधाज्ञा पछि पुनः निषेधाज्ञा हुन्छ कि हुदैन ?

बिहीबारदेखि काठमाडौं उपत्यका र विभिन्न सहरहरूमा लागू हुने दुई साताको निषेधाज्ञाले कोरोना संक्रमणको गतिमा कमी आउने सरकारले विश्वास लिएको छ ।

विज्ञहरूले भने यो अवधिमा संक्रमण विस्तार केही घट्न सक्ने भए पनि लापरबाही गरिए अवस्थामा सुधार नआउने बताएका छन् ।

विज्ञहरूका अनुसार तत्कालको निषेधाज्ञासँगै सबैलाई खोप, अनिवार्य स्वास्थ्य मापदण्डको पालना, कन्ट्याक्ट ट्रेसिङ, व्यापक पीसीआर परीक्षण, बिरामीलाई उपयुक्त स्वास्थ्य उपचारको सुविधा नभएसम्म स्थितिमा सुधार आउने देखिँदैन ।

‘निषेधाज्ञाको प्रभाव दुई सातामा देखिन थाल्छ, अहिलेलाई यति समय पर्याप्तजस्तो लाग्छ,’ स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा. रोशन पोखरेल भन्छन्, ‘दुई सातामा कोभिडको केस घट्न थाल्यो भने लकडाउन प्रभावकारी भएको बुझिन्छ ।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी भने निषेधाज्ञा स्प्रिङ तानेजस्तै हुने र केही दिन संक्रमणमा कम आएको देखिए पनि पुनः चहलपहल बढे फैलिन सक्ने दाबी गर्छन् ।

निषेधाज्ञाले हाल स्वास्थ्य संरचनामा देखिएको अत्यधिक दबाब, बेडको अभाव, आईसीयू नपाउने अवस्थामा केही कमी भने आउने उनको आकलन छ । निषेधाज्ञाले गर्दा व्यक्ति–व्यक्तिबीच घुलमिल र सम्पर्क हुन नपाउँदा संक्रमणको कडी तोडिएर रोगको विस्तार हुन पाउँदैन ।

यसकारण पनि निषेधाज्ञाले संक्रमण दर घटाउने विश्वास गरिएको हो । तर केही दिनयता नेपालमा देखिएको कोरोना संक्रमण अत्यधिक संक्रामक छ । यहाँ युके भेरिएन्ट, डबल म्युटेन्ट भेरिएन्ट देखिसकिएको छ भने भारतमा पुष्टि भइसकेको ट्रिपल म्युटेन्ट भेरिएन्टसमेत हुन सक्ने आशंका गरिएको छ ।

भारतमा डबल म्युटेन्ट मात्र नभई ट्रिपल म्युटेन्ट बढ्ने खतरा बढेको छ ।

स्वास्थ्य मन्त्रालयको एक अध्ययनअनुसार अहिले कोरोना देखिएका एक व्यक्तिले यो संक्रमण दुईभन्दा बढी व्यक्तिलाई सारिरहेका छन् । ‘संक्रमणको विस्तार ज्यामितीय दरमा भइरहेको छ,’ उनले भने ।

भाइरसको संक्रमणको ‘चेन’ तोड्न अत्यावश्यक कामबाहेक मानिसलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाउने निर्णयमा स्वास्थ्य मन्त्रालयका उच्च पदाधिकारीहरू दुई साताअघि नै पुगिसकेका स्रोत बताउँछ ।

यो पनि,,,कोरोनावाट सहकारी सङ्घका अध्यक्षको मृत्यु

जिल्ला सहकारी सङ्घ खोटाङका अध्यक्ष अनिल जोशीको कोरोनाबाट मृत्यु भएको छ । सहकारीकै कामको सिलसिलामा पोखरा पुग्नुभएका अध्यक्ष जोशीमा कोरोना सङ्क्रमण देखिएपछि पोखरास्थित आम्दा अस्पतालमा उपचार गराउँदा गराउँदै गए राति मृत्यु भएको हो ।

जोशीको शव पोखरास्थित नेपाली सेनाको शव व्यवस्थापन टोलीले आजनै व्यवस्थापन गर्ने तयारी गरेको जनाइएको छ । विराटनगरबाट गत चैत–२९ गते पोखरा जोशीमा यहि वैशाख–५ गते कोरोना पुष्टि भएपछि वैशाख–६ गते अस्पताल भर्ना गरिएको थियो ।

चैत–२५ दिक्तेलबाट विराटनगर हुँदै पोखरा पुग्नुभएका जोशीमा विराटनगर हुँदा सामान्य रुघाखोकी देखिएको पारिवारिक स्रोतले जनाएको छ । पारिवारिक स्रोतका अनुसार रुघाखोकीले च्याप्दै गएपछि पोखरामा स्वाब परीक्षण गर्दा जोशीलाई कोरोना पुष्टि भएको हो ।

सहकारी अभियान्ता अध्यक्ष अनिलको ४४ वर्षको उमेरमै कोरोनाबाट निधन भएपछि परिवार शोकमा डुबेको छ । दुई श्रीमती र एक छोराका बुबा अनिल लामो समयदेखि सहकारी संस्थामै क्रियाशील हुनुहुन्थ्यो ।

पोखरस्थित प्राइम सहकारी संस्थाका संस्थापक अध्यक्षसमेत रहनुभएका जोशी खोटाङमा सञ्चालित लालुपाते सहकारी संस्थाका अध्यक्ष एवम् सञ्चालक हुनुहुन्थ्यो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारका बुबा हरि जोशी तथा आमा रमा जोशीका तीन छोरामध्ये अनिल जेठा छोरा हुनुहुन्छ ।

दिक्तेल बजारका स्थानीय बासिन्दाको कोरोनाबाट मृत्यु भएपछि जिल्लामा उच्च स्वास्थ्य सुरक्षा सर्तकता अपनाइएको छ ।

यसैबीच, कोभिड–१९ को दोस्रो चरणको महामारीलाई मध्यनजर गर्दै खोटाङको त्रिधार्मिकधाम हलेसी मन्दिरसहित जिल्ला विभिन्न ठाउँमा लाग्ने हाटबजार १५ दिन बन्द गर्ने निर्णय गरिएको छ ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) खोटाङको आकस्मिक बैठकले दैनिकजसो दर्शनार्थीको भिड लाग्ने त्रिधार्मिकधाम हलेसी मन्दिरसहित जिल्लाका विभिन्न ठाउँमा लाग्ने हाटबजार यहि वैशाख मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने हलेसीमा उपस्थित हुने दर्शनार्थी एवम् तीर्थयात्रीको भिडले एक अर्कामा कोरोना फैलने खतरा बढेकाले १५ दिन हलेसी मन्दिर बन्द गर्ने निर्णय गरिएको डिसिसिएमसिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताउनुभयो ।

संयोजक शर्माका अनुसार कोभिड–१९ कै महामारी रोकथाम गर्न विसं २०७७ चैत ८ गतेदेखि २०७७ साल मङ्सिर १६ गतेसम्म बन्द गरिएको हलेसी मन्दिर बुधबारदेखि पुनः वैशाख मसान्तसम्मका लागि बन्द गरिएको हो ।

राजधानी काठमाडौँलगायत शहरबाट जिल्ला भित्रिने दर बढेसँगै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कोभिड–१९ का सङ्क्रमितलाई लक्षित गर्दै ३२ बेडको आइसोलेशन सेन्टर स्थापना गरेको छ ।

देशभर कोभिड फैलिन थालेसँगै गृह जिल्ला फर्कनेक्रम बढेपछि जिल्लामा पनि फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिक्तेलको भवनमा आइसोलेशन सेन्टर स्थापना गरेको हो ।

कोभिड–१९ का सक्रिय सङ्क्रमितलाई राखेर उपचार गर्ने व्यवस्थाका लागि आइसोलेशन सेन्टर निर्माण गरिएको नगरपप्रमुख दीपनारायण रिजालले बताउनुभयो ।

नगरपालिकाले नेपाली सेनाको सहयोगमा २७ पुरुष र पाँच महिला सङ्क्रमित राखेर उपचार गराउन मिल्ने गरी बिनाअक्सिजनको आइसोलेशन सेन्टर निर्माण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button