फिल्मी शैलीमा टुंगिदैछ निर्मला पन्त प्रकरण,अभियुक्त चाँडै सार्वजनिक गर्दै प्रहरी
वैतडीकी भागरथी भट्टको घटनामा प्रहरीले सफलता पाएपछि दुई वर्ष अघि भएको कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनालाई पनि किनारा लगाउन प्रहरीलाई तिब्र दवाव परेको छ । सो घटना भएको वर्षौ वितिसक्दा पनि प्रहरी घटनामा सलग्नलाई पक्राउ गर्न सकेको छैन । घटनास्थलको सुरक्षा लगायतका विषयमा सुरुमै प्रहरीले सावधानी नअपनाउँदा यो घटना प्रहरीका लागि निकै पेचिलो बन्दै गएको छ ।
तर भागरथी घटनामा पाएको सफलता पछि भने निर्मला घटनामा गिरेको प्रहरीको साख फेरी उचा भएको छ ।
स्थानिय स्तरवाट निर्मला घटनाको पनि सत्यतथ्य सार्वजनिक गर्न प्रहरीलाई दवाव परेको छ । तर प्रहरीले भने एक वर्ष देखि सो घटनाको पनि फेरी शुष्म अनुसन्धान गरिरहेको जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख नायव महानिरिक्षक (डिआईजी) उत्तम सुवेदीले निर्मला घटनामा पनि अब अनुसन्धान लगभग टुंगाएको जनाएका छन्।
प्रदेश सरुवा भएदेखि नै उनले निर्मला घटनालाई प्राथमिकतामा राखेका थिए । उनले घटनाको निकै नजिक पुगेको र अब केही दिनमै वास्तविकता सार्वजनिक गर्ने बताएका छन् । उनले अभियुक्तका बारेमा करिब सबै प्रमाण जुटाएको पनि बताएका छन् ।
प्रहरी अभियुक्त पहिचानमा लगभग सफल भएको जनाएको छ । उ हाम्रो निगरानीमै छ, केही टेक्नीकल कुराहरु पूरा भएपछि नियन्त्रणमा लिई सार्वजनिक गर्नेछौं’, उनले भने।
“पुरानो अनुसन्धान छँदैछ । त्यसबाट त्यति सफल हुन सकिएन । अब निर्मला कहाँ कहाँ जान्थिन् । उनको निकटता को–कोसँग थियो त्यतापट्टि अनुसन्धान केन्द्रित गरेका छौं । केही शंकास्पद लोकेसनको निगरानी पनि सुरु गरेका छौँ ।”
कतिपय अवस्थामा अझै स्थानीयले अनुसन्धानमा सहयोग नगरेको प्रहरी गुनासो छ । प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले समेत ३ महिनाभित्र अनुसन्धान सक्नेगरि काम गर्न निर्देशन दिएको बताइएको छ ।
निर्मला घटनामा पनि चिनजानकै व्यक्तिको संलग्नता हुनसक्ने प्रहरी आशंका छ । प्रहरीले भने ०७५ भदौमा ३९ वर्षीय दिलिपसिंह विष्टलाई अभियुक्तको रुपमा सार्वजनिक गरेको थियो ।
तर निर्मलाको स्वाबसँग डीएनए नमिलेपछि उनी छुटेका थिए । अझै केही प्रहरी अधिकारीहरु निर्मला घटनामा दिलिपकै संलग्नताको दाबी गर्छन् भने केही अधिकारीहरु प्रमाणले दिलिपको अभियोग पुष्टि गर्न नसक्ने बताउँदै आएका छन् ।
प्रहरीले निर्मलाको शव भेटिएको अवधिमा भारत र बाहिर गएकाहरुको निगरानी पनि सुरु गरेको जनाएको छ । प्रहरीले हालसम्म ८० जनाको डीएनए परीक्षण गरिसकेको बताइएको छ ।
‘अनुसन्धान भइरहेको विषयमा सार्वजनिक रुपले भएको प्रगति बताउन मिल्दैन तर अनुसन्धानको काम भने गहन रुपले जारी छ’ कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले भने। प्रहरीले यस अघि सो घटनामा दिलिप सिंह विष्टलाई अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो । तर अहिले प्रहरीले अर्का एक ब्यक्तिलाई अभियुक्त मानेर उनी माथि अनुसन्धान केन्द्रित गरेको छ ।
ति ब्यक्ति एक अघि पनि पक्राउ परेर रिहा भएका ब्यक्ति हुन् । आवश्यक प्रमाण फेला नपरेपछि एक पटक सोधपुछ पछि छोडिएका ब्यक्तिलाई प्रहरीले फेरी अनुसन्धानमा ल्याएको हो ।
प्रहरीले निर्मला घटनामा पनि भागरथी घटना जस्तै परिचित र नजिकका आफन्तनै संलग्न भएको हुनसक्ने अनुमान गरेको छ । प्रहरीले अभियुक्त नजिक पुगेको भन्दै अब छिटै सार्वजनिक गर्ने पनि जानकारी दिएको छ ।