
गभर्नरविरुद्ध आन्दोलन चर्काउँदै लगानीकर्ताहरु
धितोपत्र बजारका लगानीकर्ताहरूले गभर्नर महाप्रसाद अधिकारी विरुद्ध आन्दोलन चर्काउने भएका छन् । राष्ट्र बैंकको जिम्मेवार पदमा बहाल रहेकै समयमा गभर्नर अधिकारीको नेकपा एमाले पार्टीको विभागीय जिम्मेवारीमा समेत नाम जोडिएर आएपछि लगानीकर्ताहरु आन्दोलित भएका हुन् ।यसअघि देखिनै रुष्ट लगानीकर्ताहरूले गभर्नर अधिकारी विरुद्ध बुधबार दिउँसो ४ः३० बजे माइतीघरमा विरोध प्रदर्शन गर्ने भएका छन् । गभर्नर अधिकारीले गभर्नरभन्दा बढी पार्टीको कार्यकर्ताको रुपमा परिचालित भएको भन्दै लगानीकर्ताहरूले त्यसको भन्डाफोर गर्दै राजीनामा समेत माग गर्ने बताएका छन् ।

यसअघि नै गभर्नर अधिकारीले ४÷१२ को नीति ल्याएर सेयर बजारलाई नियन्त्रण गर्ने लागेपछि लगानीकर्ताहरु उनीसँग रुष्ट बन्दै आएका छन् । मंगलबार एमालेको अर्थ तथा योजना विभागको सदस्यमा ‘एम अधिकारी, खोटाङ’ भन्ने विवरण सार्वजनिक भएसँगै लगानीकर्ताहरु आन्दोलित भएका छन् ।यद्यपि, एम अधिकारी स्वयम् गभर्नर अधिकारी नै हुन् वा होइनन् सो भने अहिलेसम्म पुष्टि हुन सकेको छैन । विभागीय जिम्मेवारीमा रहेको उक्त व्यक्ति आफू नभएको अधिकारीको दाबी छ । नेकपा एमालेका नेताहरुले पनि एम अधिकारी गभर्नर अधिकार नभएको बताइरहे पनि ती व्यक्ति को हुन् भनेर स्पष्ट पार्न सकेको छैन ।




