
खेर गएको पाँच वर्षको जिम्मा कसले लिने, बहस गरौं : गगन थापा
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले खेर गएको पाँच वर्षको जिम्मा कसले लिने भन्ने बहस चलाउन कार्यकर्तालाई आग्रह गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले निर्वाचित जनप्रतिनिधिलाई गएको पाँच वर्षमा गरेका कामबारे सोध्न आह्वान गरेका हुन्।

‘पाँच वर्षमा यो अवस्था आउनुमा २०७४ सालमा जिम्मा पाएको एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीले लिनुपर्छ कि पर्दैन। ’थापाले भने ‘स्थानीय तहमा अहिले यो अवस्था आउनुमा कसैन कसैले जिम्मा लिनुपर्छ कि पर्दैन ? कसै न कसैले लिनैपर्छ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले कारण पाँच दलीय गठबन्धन बनेको र कांग्रेस सरकारमा पुगेको धारणा राखे । उनले काठमाडौंमा पाँच वर्ष अगाडि एमाले विजयी भएपनि के-के विकास गर्यो त्यसको लेखाजोखा गर्नुपर्ने समय आएको बताए।
उनले काठमाडौंमा पाँचवर्ष स्वास्थ्य क्षेत्र विशेष काम गर्न चाहेको बताए । उनले भने, ‘हाम्रा साधारण कुरा छन्। हामी पाँच वर्ष स्वास्थ्य क्षेत्रमा काम गर्न चाहन्छौं। काठमाडौंमा स्वास्थ्य उपचार अत्यन्त महंगो भयो।’ उनले महिलालाई काम नलाग्ने भनेर पन्छाइएको समयमा कांग्रेसले महिलालाई उम्मेदवार उठाएकाले जिताउने कि नजिताउने भन्ने काठमाडौंका मतदाताले सोच्नुपर्ने धारणा राखे।
उनले सिर्जना सिंहको टीमसँग मिलेर काम गर्न कार्यकर्तालाई निर्देशन दिए। काठमाडौंमा महानगरभित्र जय नेपाल भन्दै कोठामा पस्न पाउँदा कस्तो आनन्द होला सोचेर अगाडि बढ्न आग्रह गरे। उनले निर्वाचनको समयमा मतदाता भगवान सरह भएकाले टोल-टोलमा पुगेर भेट गर्न आह्वान गरे।



