मर्न तयार छु तर झुक्ने छैन : प्रचण्ड
६ माघ, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहालले देशलाई प्रतिक्रान्तिको अँध्यारो, भड्खालोमा हालेको हेर्न नसकिने भन्दै आक्रमक र जुझारु ढंगले जाने गरी आन्दोलनका कार्यक्रम बनाउन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
दाहाल-नेपाल समूह निकट अनेरास्ववियू उपत्यकास्तरीय भेलालाई आइतबार राजधानीमा सम्बोधनका क्रममा दाहालले अन्तिम भरोषा जनतामाथि रहेकोले आक्रमक आन्दोलनको तयारीका लागि निर्देशन दिएका हुन् । उनले जनताले सडकबाटै ठूल्ठूला फैसलाहरु गरेको इतिहास स्मरण गराउँदै बरु मर्न तयार रहेको तर झुक्न नसकिने बताए ।
इतिहासको निर्माता जनता हो, अरु कोही होइनन् । जनताले सडकबाटै ठूल्ठूला फैसलाहरु गरेका छन् । जनताले सडक संघर्षबाट ठूल्ठूला तानाशाहहरुलाई गलहत्याएको छ ।
राजा-महाराजाहरुको श्रीपेजहरु निकालेर फुटबल खेलेको इतिहास छ । त्यसैले आक्रमक र जुझारु ढंगले जाने गरी कार्यक्रम बनाउनुस् । हामी नेतृत्व गर्न लास्टसम्मै तयार छौं,’ दाहालले भने, ‘देशलाई प्रतिक्रान्तिको भड्खालो, अँध्यारोमा हालेको हेर्न सकिँदैन, सकिन्न । हिजो पनि मर्न हिँडेका हौं जरुरी पर्छ भने मर्न तयार तर झुक्न तयार छैनौं’
उनले अगाडि भने, ‘संवैधानिक संस्थाप्रति हाम्रो अन्य केही गुनासो र अविश्वास छैन । गलत फैसला भयो भने के गर्ने त्यतिबेलै सोचौंला । तर हामीलाई सबभन्दा ठूलो भरोषा जनतामाथि छ ।’ केपी ओलीको अहंकार, दम्भ र निरंकुशताले नेपाली जनताको आश, आकांक्षालाई कुठाराघात गरेको दाहालको भनाइ थियो ।
उनले संविधानमाथि प्रहार हुँदा, सिंगो देश स्तब्ध भए पनि प्रधानमन्त्री ओली हाँस्दै हिँडेको टिप्पणी गरे । आफूहरुले भने कम्युनिष्ट आन्दोलनको एकताको प्रतिनिधित्व गर्न चाहेको अध्यक्ष दाहालले बताए । आफूहरु मार्क्सवादप्रति निष्ठावान हुँदै इमान्दार भएर अघि बढ्ने तथा आफूहरुको कम्युनिष्ट आदर्श तथा सिद्धान्तप्रति प्रतिबद्ध रहेको दाहालले प्रस्ट पारे ।