डन्डीको भाउ बढेर इतिहासकै उच्च, किलोको १२५ देखि १३५ रूपैयाँसम्म कारोबार

काठमाडौं । रसिया र युक्रेन बिच भइरहेको युद्धको प्रत्यक्ष प्रभाव फलामे डन्डीमा पनि परेको छ । नेपाली बजारमा निर्माण सामाग्री डन्डीको भाउ अहिलेसम्मकै उच्च विन्दूमा पुगेको छ ।

अहिले काठमाडौं उपत्यकामा डन्डीको भाउ किलोको १ सय ३५ रुपैयाँसम्म पुगेको हार्डवेयर व्यवसायीहरूले बताए । पछिल्लो एक डेढ हप्तामै डन्डीको भाउ किलोमा २०-२२ रूपैयाँले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा फलामको मूल्य अत्याधिक बढेपछि नेपालमा पनि डन्डीको भाउ बढेको नेपाल स्टिल बिलेट उत्पादक संघका अध्यक्ष विष्णु न्यौपानेले बताए ।

अहिले काठमाडौं उपत्यकामा ब्रान्ड हेरिकन डन्डीको मूल्य १ सय २५ देखि १ सय ३५ रुपैयाँसम्म बिक्री भइरहेको ब्यवसायीहरूले बताए ।

‘रसिया–युक्रेन युद्ध सुरु भएपछि फलामे डन्डीको भाउ अत्यधिक बढिसकेको छ’ लक्ष्मी र सर्वोत्तम स्टिलका सञ्‍चालक समेत रहेका न्यौपानेले भने, ‘अहिलेसम्म डन्डीको मूल्य बढीमा किलोको ११०–१२ रुपैयाँभन्दा माथि पुगेको थाहा थिएन, अहिले सम्भवतः भाउ इतिहासकै सबैभन्दा उच्च बिन्दूमा पुगेको हो ।’

अहिले बजारमा अधिकांश ब्रान्डका डन्डीहरू प्रतिकिलो १ सय २५ देखि १ सय २७ रुपैयाँसम्म बिक्री भइरहेको न्यौपानेले बताए । तर, पञ्‍चकन्या, हामा, हिमाललगायत केही उद्योगले ८–१० रुपैयाँ बढी मूल्यमा डन्डी बिक्री गर्ने गर्छन् ।

उपत्यकामा लक्ष्मी र सर्वोत्तम स्टिलको मूल्य किलोको १ सय २५ रुपैयाँ पुगेको छ । रसिया–युक्रेन युद्धअघि १ सय ५ रुपैयाँ हाराहारी मूल्यमा डन्डी बिक्री भइरहेको थियो । यस्तै, जगदम्बा लगायत केही ब्रान्डका डन्डी प्रतिकिलो १ सय २७ रुपैयाँमा बिक्री भइरहेको छ ।

युरोपेली मुलुक युक्रेन र रसिया विश्वका ठूला फलाम निर्यातक मूलक हुन् । त्यहीँ युद्ध सुरु भएपछि विश्‍वबजारमा  अहिले निर्वाध फलाम सप्लाई हुन पाएको छैन । विश्‍व बजारमा फलामको सप्लाई घटेपछि मूल्य पनि अकासिँदै गइरहेको न्यौपाने बताउँछन् ।

एक हप्ताकै बिचमा अन्तर्राष्ट्रिय बजारमा फलामको मूल्य १०० अमेरिक डलरले बढिसकेको छ । ‘रसिया–युक्रेन युद्ध सुरु हुने बेलामा अन्तर्राष्ट्रिय बजारमा फलामको मूल्य ५ सय ५० अमेरिकी डलर थियो। अहिले बढेर ७ सय ६५ अमेरिकी डलर पुगिसकेको छ’ न्यौपानेले भने, ‘नेपालमा फलाम खानी छैनन्, सबै फलाम आयात गर्नुपर्छ, त्यसैले अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यले आन्तरिक बजार पनि प्रभावित भयो ।’

दुइ मुलुकबीचको युद्ध नरोकिए अन्तर्राष्ट्रिय बजारमा फलामको भाउ अझै बढ्न सक्ने अनुमान छ । नेपाली बजारमा एक डेढ हप्ताभित्रै डन्डीको भाउ डेढ सय रूपैयाँसम्म पुग्न सक्ने प्रक्षेपण हुन थालेको छ ।

‘हामीले देशभित्रै बिलेट उद्योग लगाएर यहीँका फलाम खानीहरू खन्न सुरू गरिसकेको हुनुपर्थ्यो, यदि हामीले नवलपरासी लगायत विभिन्न ठाउँमा रहेका फलाम खानीहरू उत्खनन गर्न सकेको भए अन्तर्राष्ट्रिय बजारमा फलामको मूल्य बढेपनि नेपाली बजार प्रभावित हुने थिएन’ न्यौपानेले भने, ‘हामी सिमेन्टको कच्चा पदार्थ कंक्रिट र सिमेन्ट उत्पादनमा आत्मनिर्भर भइसकेको हुँदा अन्तर्राष्ट्रिय बजारमा कंक्रिट र सिमेन्टको मूल्य बढ्दा पनि नेपालमा मूल्यमा असर पर्दैन ।’

यदि कंक्रिट र सिमेन्टमा पनि विदेशकै भर परिरहेको भए अहिले सिमेन्टको मूल्य पनि बढिसकेको हुन सक्थ्यो । अहिले मुलुक कंक्रिट र सिमेन्टमा आत्मनिर्भर भइसकेको छ । अझ स्वदेशी उद्योगी निर्यातको तहमा पुगेर भारतमा बजार सम्भावना खोज्न थालेका छन् ।

रसिया–युक्रेन युद्धको बाछिटा नेपाली भान्छासम्म राम्रैसँग  परेको छ ।  अहिले बजारमा खाने तेल, पेट्रोलियम पदार्थदेखि सुन, डलरलगायतको मूल्य उच्च बिन्दूमा पुगेको छ । पेट्रोलको मूल्य लिटरकै १५० रुपैयाँ र मट्टितेल–डिजेलको मूल्य लिटरकै १३६ रुपैयाँ पुगिसकेको छ ।

यस्तै, नेपाली मुद्रा कमजोर बन्दै गएपछि अमेरिकी डलरको भाउ पनि अहिलेसम्मकै उच्च बिन्दूमा पुगेको छ । अहिले नेपाली बजारमा पहँलो धातु सुनको मूल्य पनि बढेर तोलाको १ लाख ३ हजार रूपैयाँ नाघिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button