एमालेजत्रो भए माओवादीले मान्छे कुट्दै हिँड्थ्यो होला: ओली

नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकर्तालाई ढाडस दिँदै अहिले पनि एमाले नै मुलुकको सबभन्दा ठूलो दल भएको दाबी गरेका छन्।

मोरङमा एमालेका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई बधाई दिन शुक्रबार विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कांग्रेस, माओवादी लगायतका दलहरूले एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने बताए।

‘अस्ति एक जनाले भनेको सुन्दैथें’, माओवादी अध्यक्ष पुष्पकमल दाहालतिर संकेत गर्दै उनले भने, ‘हामीले चाह्यौं भने कांग्रेसको हालत पनि एमालेको जस्तै बनाइदिन्छौं। एमालेको हालत बनाउने भनेको के हो? एमालेको हालत बनाइदिन्छु भन्नेको हैसियत जम्मा कम्मर-कम्मर होइन?’

कार्यकर्ताले हौसिएर ताली बजाएपछि ओलीले थपे, ‘कम्मर कम्मर पनि होइन। घुँडा-घुँडासम्मको पार्टीले एमालेको हालत बनाउने रे। आफू एमालेजत्रो हुन पाए उनले के गर्थे होला? मान्छे कुट्दै हिँड्थे होला। पहिले मान्छे मार्दै हिँडेका थे।’

अरू सबै दल एकातिर र एमाले एक्लै अर्कोतिर भएर चुनाव लड्दा पनि एमालेले नै सबैभन्दा धेरै मत ल्याएको भन्दै ओलीले कार्यकर्तालाई आश्वस्त पार्न खोजे।

‘दुई चार भोटले गर्दा केही ठाउँमा पछि परियो होला। तर, देशभर सबभन्दा धेरै मत एमालेले ल्याएको छ’, उनले भने, ‘अहिले अरूको भागमा देखिएको ठूलो थुप्रो सबैको भाग अलि अलि परेर हो। एमाले बराबर कुनै पनि दल छैन।’

स्थानीय चुनावको नतिजाले एमाले नै सबभन्दा जनाधारयुक्त पार्टीका रूपमा देखापरेको दाबी गर्दै ओलीले आउँदा निर्वाचनबाट झन् धेरै शक्ति आर्जन हुने ठोकुवा पनि गरे।

‘हामीले निराश हुनुपर्ने कुनै कारण छैन’, उनले भने, ‘धेरै ठाउँमा अन्तर्घातका कारण हारियो। मोरङमा अलि कम अन्तर्घात भएकाले धेरै जितियो।’

उनले एमालेले पुरानो कमजोरी सच्याएर अघि बढ्ने बताए।

‘एमालेका कार्यकर्ता मस्तिष्कले सोचेर अघि बढ्ने खालका हुन्छन्। त्यसैले पुराना कमजोरी सच्याएर अघि बढौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button