सिनेमा हल, विद्यालय लगायतका बन्द क्षेत्र खुलाउन सीसीएमसीले मन्त्रिपरिषदमा प्रस्ताव लैजाने
काठमाडौँ– कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि बन्द गरिएका क्षेत्र खुलाउन कोभिड संक्रमण रोकथामसम्बन्धी बनेको उच्च स्तरीय निर्देशक समिति (सीसीएमसी) ले मन्त्रिपरिषदमा प्रस्ताव लैजाने निर्णय गरेको छ ।
आज बसेको सीसीएमसीको बैठकले घट्दो कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै हाल बन्द रहेका क्षेत्रहरु खुलाउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको हो ।
सीसीएमसीको सिफारिसमा सरकारले २०७६ चैत्र ६ गतेबाट विद्यालय, चलचित्र घर, जिमखानालगायत मान्छेहरुको जमघट हुने व्यवसाय सञ्चालनमा रोक लगाएको थियो ।
मठ मन्दिर, खेलकुद लगायतका क्षेत्रहरु खुलेपनि विद्यालय, चलचित्र घर, जिमखाना लगायतका केही क्षेत्रहरु अझै बन्द छन् ।
यसैगरी बैठकले बेलायत लगायतका देशमा देखिएको नयाँ स्वरुपको भाइसको जोखिम फैलिन नदिन ती देशबाट आएका व्यक्तिहरुलाई कम्तिमा १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरेको छ ।
नयाँ कोरोना भाइरसको संक्रमण प्रवेश भएमा बढ्न सक्ने जोखिम र दोस्रो लहर आउन सक्ने अवस्थालाई ध्यान दिएर स्वास्थ्य सुरक्षा मापदण्डको पालना भए-नभएको सम्बन्धमा नियमित अनुगमन गर्ने र लापरवाही गर्नेलाई कारबाही गर्ने समेत सीसीएमसीको बैठकले निर्णय गरेको छ ।