
काठमाडौं महानगरका वडा अध्यक्षको गुनासो- मेयर अनुगमनमा आउँदा थाहै दिइएन
२९ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह स्थलगत अनुगमनमा जाँदा सम्बन्धित वडाका वडा अध्यक्षहरुले आफूहरुसँग समन्वय नगरेको गुनासो गरेका छन् । काठमाडौं महानगरपालिकाको आज बसेको कार्यपालिका बैठकमा सहभागीहरुले मेयर आफ्नो वडामा अनुगमन गर्न आउँदा आफूहरुलाई थाहै नदिइएको गुनासो गरेका हुन् ।

वडा अध्यक्षहरुको गुनासोपछि मेयर साहले अबदेखि जानकारी गराउने प्रतिबद्धता जनाए ।

कसले के भने ?
काठमाडौं महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष चिनकाजी महर्जनले शनिबारको दिन मेयर साह सुन्धारा क्षेत्रको अवलोकनमा आएको बेला आफूलाई थाहै नदिइएको गुनासो गरे । ‘मेयरसाप हिजो सुन्धारा पुग्नु भएको रहेछ । मलाई थुप्रै साथीहरुले हिजो तिमी कहाँ थियौ भनेर सोध्नुभयो, यहाँको उपस्थितिमा मेरो अनुपस्थितिबारे धेरै साथीहरुको प्रश्नको मैले जवाफ दिन सकिनँ,’ उनले भने, ‘मैले थाहा पाएको भए मेयरसापलाई फूलमाला लिएर स्वागत गर्न तयार थिएँ । हाम्रो संकटा बजारमा थुप्रै फूलमाला अहिले पनि बेचिरहेको होला ।’



