
आज देखि कहाँ गएर खोप लगाउने भन्ने अन्यौल छ ? यी हुन् काठमाडौँका खोप केन्द्र
काठमाडौँ महानगरपालिकाले आज ६४ वर्ष उमेरका व्यक्तिलाई कोभिड –१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा दिने तयारी गरेको छ । खोप लगाउने कार्य बिहान १० बजेदेखि कामपाका ३२ वटै वडामा केन्द्र तयार गरिएको छ ।

चौँसठ्ठी वर्ष उमेर पुगेका नागरिकले आफूलाई पायक पर्ने केन्द्रमा पुगी खोप लगाउन सकिने बताइएको छ । खोप लगाउन जाँदा उमेर खुलेको फोटो भएको सरकारी कागज लिएर जानु पर्नेछ ।

यदि यसप्रकारको कागज नभए वडासँग सम्पर्क गरेर सिफारिस लिएर जानुपर्नेछ ।
कामपाले खोप कार्यक्रममा भीड कम गराउन एउटा उमेर समूहका व्यक्तिलाई एक दिन खोप दिने कार्यक्रम तय गरेको हो । सहरी स्वास्थ्य विभागले सार्वजनिक सूचना प्रकाशन गर्दै आज ६४ वर्ष उमेर समूहलाई, जेठ २६ गते ६३ वर्षका लागि, जेठ २७ गते ६२ वर्षका लागि, जेठ २८ गते ६१ वर्षका लागि र जेठ २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप लगाउन तालिका सार्वजनिक गरेको छ ।
यसअघि कोभिडको सङ्क्रमण भइसकेको भए एक महिना पूरा भए मात्र खोप लगाउन, तोकेका दिनमा मात्र खोप लगाउन र पहिलो मात्राका लागि मात्र खोप केन्द्रमा जान सूचनामा भनिएको छ ।
सरकारले कोभिड विरुद्धको खोप कार्यक्रमअन्तर्गत पहिलो पटक महामारी नियन्त्रणका लागि अग्रपङ्क्तिमा खटिने पेशाकर्मी, दीर्घरोगी आदिलाई प्राथमिकताका आधारमा समूह विभाजन गरेर खोप दिँदै आएको छ ।
यसक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, शिक्षक, प्राध्यापक, सार्वजनिक सवारी चालक र सहचालकसहित ६५ वर्षदेखि माथिल्लो उमेर समूहका र १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका नागरिकलाई खोप दिएको थियो ।
यसअघि यही जेठ २ गतेदेखि चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाइएको थियो । जेठ ११ गतेसम्म वडास्तरमा केन्द्र स्थापना गरेर चलाइएको खोप कार्यक्रमबाट करिब एक लाख नागरिक लाभान्वित भएका थिए ।
प्रत्येक वडामा एउटा खोप केन्द्रको व्यवस्था गरिएको छ । वडा नं १ मा नन्दी रात्रि स्कुल नक्साल, २ मा वडा कार्यालय लाजिम्पाट, ३ मा वडा कार्यालय महाराजगञ्ज कान्ति सांस्कृतिक केन्द्र, ४ मा वडा कार्यालय बालुवाटार, ५ मा वडा कार्यालय हाँडीगाउँ, ६ मा महेन्द्र बौद्ध उच्च माध्यमिक विद्यालय बौद्ध, ७ मा वडा कार्यालय मित्रपार्क चावहिल, ८ मा गोल्डेन लाइट पार्टी प्यालेस जय बागेश्वरी, ९ मा अनुपम फुडल्याण्ड बत्तीस पुतली, १० मा म्याक डोनाल्ड पार्टी प्यालेस मध्यबानेश्वर, ११ मा विश्व निकेतन उच्च माध्यमिक विद्यालय त्रिपुरेश्वर, १२ मा बुद्ध माई अस्पताल टेकु रहेका छन् ।
त्यसैगरी वडा नं १३ मा जनप्रभात माध्यमिक विद्यालय कालीमाटी, १४ मा वडा कार्यालय भुवनेश्वरी कलङ्की, १५ मा भुइँखेल चौर स्वयम्भू, १६ मा बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र, १७ मा पब्लिक युथ क्याम्पस धोवीचौर, १८ मा पुष्पलाल पार्क, १९ मा वडा कार्यालय परिसर, २० मा शान्ति निकुञ्ज माध्यमिक विद्यालय, २१ मा सामुदायिक शहरी स्वास्थ्य क्लिनिक, २२ मा वडा कार्यालय टेवहाल, २३ मा नव आदर्श विद्यालय वसन्तपुर, २४ मा इतुमबहाल, तारणीबहाल, २५ मा कन्या मन्दिर माध्यमिक विद्यालय छत्रपाटी, २६ मा वडा कार्यालय परिसर २७ मा महाबौद्ध चोक, २८ मा कार्यालय परिसर, २९ मा विजय स्मारक माध्यमिक विद्यालय, ३० मा सामुदायिक शहरी स्वास्थ्य क्लिनिक, ३१ मा इपियस स्कूल, मीनभवन, र वडा नं ३२ मा वडा कार्यालय परिसर तयार गरिएको छ ।
तोकिएका खोप केन्द्रबारे थप जानकारी आवश्यक परे कामपाको हटलाइन नम्बर ११८० मा फोन गर्न पनि आग्रह गरिएको छ । खोप कार्यक्रम आगामी २९ गतेसम्म सञ्चालन हुनेछ ।
काठमाडौं उपत्यकाका सडकमा सवारी जाम हुन थाल्यो
संक्रमण कायमै रहेको र निषेधाज्ञा जारी रहेकै बेला काठमाडौं उपत्यकाका सडकमा सवारी जाम हुन थालेको छ। महामारीको यो घडीमा मुख्यतः दुई कारणले निषेधाज्ञा उल्लंघन भइरहेको देखिन्छ। एक, बाहिर कस्तो रहेछ भन्दै हेर्न निस्किने।
दुई, रोजीरोटी र बिरामीको हेरचाह गर्नुपर्ने बाध्यता।
विज्ञ भने सरकार आफ्नो दायित्व एवं कर्तव्य पूरा गर्न चुकेका कारण जनताले निषेधाज्ञा उल्लंघन गर्न सुरु गरेको तर्क गर्छन्। जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनी राज्य अभिभावक भएकाले पहिलो सर्तका रूपमा राज्यले नै कर्तव्य पूरा गर्नुपर्ने बताउँछन्। ‘सरकारले कर्तव्य पूरा गर्ने हो।
त्यसपछि नागरिकलाई पनि आफ्नो कर्तव्य सम्झाउने र पालना गर्न लगाउनुपर्छ’, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशकसमेत रहेका डा. मरासिनी भन्छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल राज्यले ६ वटा दायित्वलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न नसकेको बताउँछन्।
संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले ६ टी (टेस्टिङ, ट्राभल रेस्ट्रिक्सन, टे«सिङ, ट्रयाकिङ, ट्रिटमेन्ट, टुगेदर )को रणनीति बनाए पनि कार्यान्वयन नगरेको डा. प्याकुरेको भनाइ छ।
‘राज्यको अधिकार र कर्तव्यसँगै जनताको पनि अधिकार र कर्तव्यको कुरा आउँछ। राज्य र जनताबीचको कर्तव्यबीच नै सामञ्जस्यता भएन। आपसमा मेल खाएन’, डा. प्याकुरेल भन्छन्।
निषेधाज्ञा गर्नु सरकारको अधिकार भए पनि ‘६ टी’को रणनीति कार्यान्वयन र खोपको व्यवस्थापन सरकारको कर्तव्य भएको उनी बताउँछन्। ‘सरकारले कर्तव्य निभाउँदै निषेधाज्ञा पनि लगाएको भए जनताले वाहवाही गर्थे। निषेधाज्ञाको पनि विरोध नगरी पालना गर्थे’, उनी भन्छन्, ‘जनताले पनि सरकारले भने झैं जनस्वास्थ्यको मापदण्ड पालना गरेर बस्नु कर्तव्य हो। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
त्यस्तै सरकारले जारी निषेधाज्ञा ‘मोडालिटी’मा केही परिवर्तन गरी ‘लुजडाउन’ शैली अपनाउने तयारी थालेको छ । दोस्रो चरणको संक्रमण सुरु भएपछि गत १६ वैशाखबाट जारी निषेधाज्ञाको ‘मोडालिटी’ सर्वसाधारणको दैनिकी र जनजीवन सहज बनाउनेगरी जारी राख्ने तयारी गरिएको हो ।
गृह मन्त्रालयका अनुसार सोमबार साँझसम्म देशका ७७ जिल्लामध्ये ७५ जिल्लामा निषेधाज्ञा छ । खोटाङ र मनाङमा भने निषेधाज्ञा छैन । पछिल्लोपटक काठमाडौं उपत्यकामा ३१ जेठसम्म निषेधाज्ञा तोकिएको छ ।
गृह मन्त्रालय प्रवक्ता जनकराज दाहालले अब निषेधाज्ञा शैलीमा दैनिक जनजीवन सहज बनाउनेगरी परिमार्जन गरिने जानकारी दिएका छन् ।
‘निषेधाज्ञा अहिले तत्काल हट्दैन, तर मोडालिटीमा परिवर्तन गरिन्छ, अब निषेधाज्ञा लुजडाउन शैलीमा जनजीवन सहज बनाउनेगरी अझै केही समय जारी रहन्छ,’ गृह प्रवक्ता दाहालले सोमबार राजधानीसँग भने । गृह मन्त्रालयले यो शैली अवस्था हेरेर अघि बढाउन प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशनसमेत गरिसकेको छ ।
जिल्लास्थित डीसीएमसीले जिल्लाको अवस्था हेरेर सोबारे निर्णय लिन सक्नेछन् ।
गृह प्रवक्ता दाहालका अनुसार प्रमुख जिल्ला अधिकारीबाट प्राप्त रायका आधारमा नै यस्तो शैली अपनाउन लागिएको हो । यो शैलीअन्तर्गत निर्माण, उत्पादनजन्य, कृषि कार्य खुला गर्ने सरकारको तयारी छ । वर्षयाम सुरु भएपछि कृषि कार्यलाई समेत खुला गर्न सरकारले निषेधाज्ञा ‘मोडालिटी’मा परिवर्तन गर्न लागेको हो ।
तर, विद्यालय, कलेज, होटल व्यवसाय, पार्टी प्यालेस, सपिङ मलसहितका भीडभाड हुने क्षेत्र भने तत्काल खुल्ने छैनन् ।



