टी-२० विश्वकपको खेल तालिका सार्वजनिक, भारत र पाकिस्तान २४ अक्टोबरमा भिड्ने

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले टी-२० विश्वकप २०२१ को खेल तालिका सार्वजनिक गरेको छ।

आगामी १७ अक्टोबर देखि १४ नोभेम्बरसम्म युएई र ओमानमा हुने विश्वकपको मंगलबार खेल तालिका सार्वजनिक गरिएको हो। 

सहभागी १६ टिमले दुई चरणमा प्रतिस्पर्धा गर्नेछन्। जसमा आठ टिमले पहिलो चरणमा प्रतिस्पर्धा गर्दा आठ टिम सिधैं सुपर-१२ मा पुगेका छन्। सुपर-१२ मा बाँकी चार टिम पहिलो चरणबाट छनोट हुनेछन्।

‍पहिलो चरणमा दुई समूहमा प्रतिस्पर्धा हुनेछ। समूह विजेता र उपविजेता गरी चार टिम सुपर-१२ मा पुग्नेछन्।

पहिलो चरणको खेलअन्तर्गत १७ अगस्टमा ओमान र पपुवा न्युगिनीबीच खेल हुनेछ। सोहि दिन बंगलादेश र स्कटल्यान्ड भिड्नेछन्। 

पहिलो चरणबाट चार टिम सुपर-१२ पुगेपछि २३ अक्टोबरबाट दोस्रो चरणको खेल हुनेछ।

जसमा अस्ट्रेलिया र दक्षिण अफ्रिका तथा इंग्ल्यान्ड र वेस्ट इन्डिज पहिलो दिन भिड्नेछन्। 

२४ अक्टोबरमा भारत र पाकिस्तानबीच खेल हुनेछ।

सुपर-१२ को समूह विभाजनमा भारत र पाकिस्तान एउटै समूहमा छन्। भारत र पाकिस्तानसँगै न्युजिल्यान्ड, अफगानिस्तान, समूह ए उपविजेता र समूह बी विजेताले समूह-२ मा प्रतिस्पर्धा गर्नेछन्। 

समूह-१ मा इंग्ल्यान्ड,  अस्ट्रेलिया,  दक्षिण अफ्रिका,  वेस्ट इन्डिज,  समूह ए विजेता र समूह बी उपविजेताबीच खेल हुनेछ।

प्रतियोगिताका खेल दुबई अन्तर्राष्ट्रिय रंगशाला, अबुधावीको शेख जायेद रंगशाला, शारजाह रंगशाला र ओमान क्रिकेट एकेडेमी मैदानमा हुनेछन्।

प्रतियोगिताको सेमिफाइनल १० र ११ नोभेम्बरमा हुनेछ भने फाइनल खेल १४ नोभेम्बरमा दुबईमा हुनेछ।

पहिलो चरण
समूह ए :  श्रीलंका, आयरल्यान्ड, नेदरल्यान्ड्स र नामिबिया 
समूह बी :  बंगलादेश, स्कटल्यान्ड, पपुवा न्युगिनी र ओमान 

सुपर-१२
समूह १ :  इंग्ल्यान्ड,  अस्ट्रेलिया,  दक्षिण अफ्रिका,  वेस्ट इन्डिज,  समूह ए विजेता, समूह बी उपविजेता
समूह २ :  भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह ए उपविजेता, समूह बी विजेता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button