
यस्तो छ आजको मौसम पूर्वानुमान
आज देशभर सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान शाखाका अनुसार आज देशका अधिकांश स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कर्णाली प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना छ ।

यस्तै रातीपनि देशभर सामान्य देखि पूर्ण बदली रहने, देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।
हिजो सबैभन्दा धेरै पोखरमा १ सय १० मिलिमिटर पानी परेको छ । दाङमा ५० दशमलव ८ मिलिमिटर, धनगढीमा ५२ मिलिमिटर, नेपालगञ्जमा ४५ मिलिमिटर, बिरेन्द्रनगर सुर्खेतमा ४७ दशमलव ४७ मिलिमिटर, काठमाडौंमा १२ मिलिमिटर बर्षा भएको छ ।
आज पनि नदी तथा सहायक नदीहरुमा बाढीको सम्भावना रहेकोले सुरक्षित स्थानमा बस्न मौसमविद्हरुले सुझाव दिएका छन् ।
बो क्सी को आ रो प मा रौतहटमा वृद्धामाथि निर्घात कु ट पि ट
रौतहटमा बोक्सीको आरोपमा एकजना वृद्धामाथि मरणासन्न हुनेगरी कुटपिट भएको छ ।
जिल्लाको माधवनारायण नगरपालिका–५, मिठुहवा टोल बस्ने ६५ वर्षीय श्रीपती देवीलाई उनकै छिमेकी सन्दिप महरासहितको समूहले बोक्सीको आरोपमा साङ्घातिक आक्रमण गरेको पीडित परिवारका सदस्यहरुको आरोप छ ।
गत शनिबार आफ्नो घरबाट शिवनगरस्थित महादेव मन्दिर जानेक्रममा बाटोमा सन्दिप र उनका साथमा रहेका केही अन्य व्यक्तिले श्रीपतीलाई धारिलो हतियार र भाटासहित आक्रमण गरेका थिए ।
कुटपिटबाट श्रीपतीको टाउको, हात, कान लगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ ।
प्रहरीले घटनास्थलबाट उनलाई आक्रमण गर्न प्रयोग भएको भाटाको बन्डल बरामद गरेको छ ।
श्रीपती देवीलाई सोही बाटो हुँदै खेतमा गइरहेका स्थानीयवासीले देखेर उद्धार गरी चन्द्रपुर–४ स्थित सिभिल अस्पतालमा लगेका थिए । हाल सोही अस्पतालमा उनको उपचार भइरहेको छ ।
उपचारको क्रममा उनको टाउको लगायत शरीरका १० ठाउँमा ३ सय बढी टाँका लगाइएको चिकित्सकले बताएका छन् ।
श्रीपती देवीको श्रीमानको १० वर्ष अगाडि मृत्यु भएको थियो । श्रीमानको मृत्यु भएपछि नै उनलाई सन्दिपको परिवारले बोक्सी भन्दै मानसिक यातना दिने गरेको पीडित परिवारको आरोप छ ।
सन्दिपको परिवारका सदस्यहरुले दैनिकजसो घरमा आएर यो बोक्सी हो, यसलाई छाड्नु हुँदैन भन्ने गरेको श्रीपतीकी छोरी सुनितादेवीको भनाइ छ ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एवं डिएसपी भरत श्रेष्ठको कमाण्डमा गएको टोलीले घटनास्थलको निरीक्षण गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
गृह मन्त्रालयमा विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक जारी
गृह मन्त्रालयमा विपद व्यवस्थापन कार्यकारी समितीको बैठक बसिरहेको छ ।
सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा ठुलो जनधनको क्षति भएको खबर आएपछि कार्यकारी समितिको बैठक शुरु भएको गृह मन्त्रालयका प्रवक्ता (सह–सचिव) जनकराज दाहालले रातोपाटीलाई बताए ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा मात्र बाढीले बगाएर कम्तिमा ७ जनालाई बेपत्ता बनाएको छ । बेपत्ता मध्ये एकजनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले बताए ।
विपद् व्यवस्थापन कार्यकारी समितीको बैठकमा गृहमन्त्री खगराज अधिकारी, राष्ट्रिय विप्द न्यूनिकरण तथा व्यवस्थापन प्रधिकरणका सिइओ अनिल पोखरेल, गृह सचिव र सह–सचिव जनकराज दाहाल सहितका पदाधिकारी सहभागी छन् ।
बैठकमा पछिल्लो बाढी, पहिरोका कारण विस्थापितलाई राहत र पुनर्स्थापना कसरी गर्ने भन्नेबारे छलफल भइरहेको छ ।
बाढीले डुबायो रेडियो मेलम्चीको भवन
सिन्धुपाल्चोकको मेलम्ची बजारमा रहेको रेडियो मेलम्चीको भवन बाढीले डुबाएको छ । मंगलबार दिउँसोदेखि मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले मेलम्ची बजारमा रहेको रेडियोमा ३ तले भवनको २ तलासम्म डुबाएको छ ।
रेडियोको सम्पूर्ण सामग्री क्षतिग्रस्त भएको र करिब ५० लाख हाराहारी क्षति भएको स्टेशन म्यानेजर देवराज सुवेदीले बताएका छन् ।
रेडियोको सम्पूर्ण डकुमेन्ट, उपकरण, ल्यापटप लगायतका सामग्री बाढीले बगाएको छ । दोस्रो तलासम्म लेदोले पुरिएको र तेस्रो तलाको अलिकति भाग देखिएको छ ।
बाढीले मेलम्ची बजार डुबानमा परेपछि स्थानीयहरु बजारमाथि रहेको इन्द्रेश्वरी माविमा आश्रय लिएर बसिरहेका छन् ।



