
किरात समुदायको समाधिस्थलमा डोजर लगाइएपछि उक्त समुदाय आन्दोलित
झापा । झापाको मेचीनगर नगरपालिकाले किरात समुदायको समाधिस्थल डोजर लगाएर नामेट पारिदिए पछि किरात समुदाय आन्दोलित बनेका छन् ।

किराती समुदायले पचाँस वर्ष अघिदेखि प्रचलनमा ल्याएको समाधिस्थलमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) राख्न भन्दै नगरपालिकाले बुधवार डोजर लगाएर नामेट पारिदिएको थियो ।

उक्त घटनालाई किरात सम्प्रदायको धार्मिक तथा सांस्कृतिक आस्थामाथिको प्रहार भएको प्रतिक्रिया जनाउँदै नेपाल आदिवासी जनजाति महासंघले बिनाशर्त पुनःस्थापनाको माग गरेकाे छ ।
मेची पुलको दक्षिणपट्टि पाँच कठ्ठामा रहेको सो समाधिस्थलमा २०० भन्दा बढी समाधि रहेको छ । पितृका नाममा राखिएका शिलास्तम्भहरु भताभुङ्ग बनाइएकोमा स्थानीय किरात समुदाय भावविह्वल बनेको नेपाल आदिवासी जनजाति महासंघ मेचीनगर समन्वय परिषदका अध्यक्ष ओमप्रकाश खापुङले बताए ।
आदिवासी जनजाति समन्वय परिषद् मेचीनगरले काँकरभिट्टाको किराती समाधिस्थल भत्काइएको घटनाको विरोधमा गर्ने भनिएको आन्दोलनका सबै कार्यक्रम कोरोना महामारी बढेको कारण जनाउँदै केही दिनका लागि स्थगित गरिएको अध्यक्ष खापुङले जानकारी दिए ।
विरोध स्थगन गरिए तापनि आज विहान भत्काइएको समाधिस्थलमा सामूहिक क्षमापूजा गरिएको छ । पीडित परिवारका तर्फबाट पितृहरुको आत्माको चिर शान्तिका लागि क्षमा पूजाको आयोजना गरिएको जनाइएको छ ।



