
भक्तपुरमा गाई फार्मको टहराभित्र थुनेर २० वर्षीय युवकको खुकुरी प्रहार गरी हत्या
भक्तपुर मनोहरास्थित सुकुम्बासी बस्तीमा बस्ने एक युवकको खुकुरी प्रहार गरी हत्या गरिएको छ।

भक्तपुर सूर्यविनायक-८ सिपाडोलस्थित गाई फार्ममा बोलाएर सोलुखुम्बु घर भई सुकुम्बासी बस्तीमा बस्दै आएका २० वर्षीय ईश्वर राईको बिहीबार हत्या गरिएको हो।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार राईलाई गाई फार्मको टहराभित्र बोलाएर हत्या गरिएको बुझिएको छ।
राईलाई २० वर्षीय आशिष खुलालले खुकुरी प्रहार गरेका थिए। घाँटीमा खुकुरी प्रहार गरिएका राईको घटनास्थलमै मृत्यु भएको थियो।
राईले र खुलालबीच बिहान ९ बजे मोबाइल सम्पर्क भएको थियो। राईलाई खुलालले सूर्यविनायक-८ सिपाडोलको गाई फार्ममा बोलाएका थिए।
खुलालका बुवा त्यहाँ गाई फार्म गरेर बस्थे। राई त्यहाँ पुग्दा खुलालसँगै युनिश योञ्जन र सुनिल बल पनि थिए।
राई पुग्नासाथ वादविवाद सुरू भएको थियो। परिसरका अनुसार वादविवाद हुँदा टहरामा चुकुल लगाएर खुलालले खुकुरी प्रहार गरेका थिए।
खुलालले राईलाई खुकुरी हान्न थालेपछि योञ्जन र बल झ्यालबाट हाम्फालेर भागेको प्रहरीको दाबी छ।



