
महन्थ ठाकुरको निर्णयबाट उपेन्द्र यादव पक्षका यी नेता भए आउट
जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादव पक्षका २० जनालाई हटाएर आफ्नो पक्षबाट २० जना राखेर कार्यकारिणी समितिमा हेरफेर गरेका छन् ।

तर अध्यक्ष यादव पक्षले त्यसलाई जालसाजी र फर्जी भन्दै आपत्ति जनाइसकेका छन् । गत पुस ७ गते बसेको कार्यकारिणी समितिको बैठकले आफूलाई कार्यकारिणी समिति हेरफेरका लागि दिएको म्यान्डेटको आधारमा त्यस्तो गरेको अध्यक्ष ठाकुरको दावी रहेको छ । तर उपेन्द्र यादवले पुस ७ गते त्यस्तो कुनै निर्णय नै नभएको दावी गरेका छन् ।

गत पुस ७ गते भएको निर्णय विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ र दुवैजना अध्यक्षको हस्ताक्षर रहेको विज्ञप्तिमा कहीँ कतै त्यो अधिकार दिएको कुरा उल्लेख नगरेको यादवको भनाइ छ ।
निर्णय भएको कुरा विज्ञप्तिमार्फत सार्वजनिक नगरिए पनि आन्तरिक सर्कुलरमा त्यो कुरा उल्लेख हुन्थ्यो । त्यो दिनको बैठकले गरेको निर्णय कार्यकारिणी समिति, प्रदेश, जिल्ला, स्थानीय तहसम्म सर्कुलरको रुपमा पठाइँदा पनि केही उल्लेख छैन ।
त्यो दिनको माइन्युटमा पनि यसबारे उल्लेख नरहेको बताउँदै यादवले निर्वाचन आयोगमा पेस गरिएको कागजात सबै फर्जी रहेको दावी गरे ।
तर सो पार्टीका कार्यकारिणी सदस्य अनिलकुमार झाले यसबारे आधिकारिकता जाँच गर्ने निकाय निर्वाचन आयोग भएकाले अहिले नै टिकाटिप्पणी गर्नुको आवश्यकता नरहेको बताए ।
आफूहरुको तर्फबाट चाहिने जति कागजात विधिसम्मत तरिकाले निर्वाचन आयोगमा बुझाई सकेको बताउँदै उनले निर्वाचन आयोगमा गइसकेपछि एकअर्काको बारेमा टिकाटिप्पणी गर्नुभन्दा त्यसको निर्णयलाई कुर्नुपर्ने बताए ।
ठाकुरले क–कसलाई हटाए समितिबाट ?
अध्यक्ष ठाकुरले यादवको पक्षबाट महेन्द्रराय यादव, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर साह, रामनरेश राय यादव, रमेशप्रसाद यादव, गज्जाधर रोहित यादव, राजेन्द्रप्रसाद श्रेष्ठ, नवराज सुवेदी, युवराज कार्की, रकम चेम्जोङ, रेणुकुमारी यादव, लालबाबु राउत, गंगानारायण श्रेष्ठ, रनध्वज लिम्बु, डम्बर खतिवडा, प्रकाश अधिकारी, इस्तियाक राई, प्रशान्त सिंह, भक्तबहादुर शाह र विजय यादवलाई हटाएका छन् ।
५१ सदस्यीय कार्यकारिणी समितिमध्ये २० जना सदस्यलाई हटाएर आफ्नो तर्फबाट २० जनालाई सदस्यको रुपमा राखेका हुन् । हटाइएकामध्ये पूर्व राजपाका ६ जना रहेका छन् भने १४ जना पूर्व समाजवादीका रहेका छन् ।
कुनै एकजनाको हस्ताक्षरबाट कसैलाई हटाउन वा राख्न नमिल्ने निर्णय निर्वाचन आयोगले गरिसकेका हुनाले अध्यक्ष ठाकुरले दिएका कार्यकारिणी समितिमा हेरफेरको निवेदनमा सुनुवाइमा अशंका रहेको जसपाका नेताहरु नै बताउँछन् ।
विपद्का बेला के गर्दैछ विपद् न्यूनीकरण प्राधिकरण ?
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न भन्दै २०७४ कात्तिकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बन्यो । प्राकृतिक प्रकोप तथा अन्य विपद्को समयमा राहत, उद्धार, पुनस्र्थापना गर्ने र विपद् आइपर्ने स्थान, सम्भावित जोखिम आदिका बारेमा पूर्वजानकारी दिई जनतालाई सुरक्षित गराउने प्राधिकरण स्थापनाको उद्देश्य हो ।
नेपालमा सामान्यतया जेठ १५ गते पछि मनसुन सुरु हुन्छ र त्यसपछि नै बाढी, पहिरो, नदी कटान आदि समस्या सुरु हुन्छ । मनसुन करिब १ सय दिन रहने भएको कारण त्यो समयलाई प्राकृतिक प्रकोपको बढी जोखिम रहेको समय मानिन्छ ।
असार १ गते सिन्धुपाल्चोकको इन्द्रावती तथा मेलम्ची नदीमा आएको बाढीले ३ जनाको ज्यान लियो भने २१ जना अझैपनि वेपत्ता छन् । बेपत्ताको खोजीमा उद्धार टोली लागिरहेको भएपनि हालसम्म थप प्रगति भएको छैन ।
सिन्धुपाल्चोक जिल्लामा मात्रै नभएर देशभरिमा जेठ ३१ गतेदेखि असार ५ गते अपरान्हसम्म १७ जनाको ज्यान गएको छ भने २२ जना वेपत्ता बनेका छन् । सयौं घरहरु बाढीले बगाएको छ भने कति स्थानमा डुबानमा परेका छन् । हजारौं मानिस घरबारविहीन बनेका छन् ।
तर गृह मन्त्रालय मातहत रहने गरी बनेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण चाहिँ यतिबेला के गर्दैछ त ?



