
ठाकुरले आयोगमा बुझाए कार्यकारिणी समितिमा थपिएका २० जनाको नामावली
जनता समाजवादी पार्टी नेपाल (जसपा)को उपेन्द्र यादवले पक्षको कार्यकारिणी समितिको बैठक बस्दै गर्दा पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरले २० जना कार्यकारिणी समिति सदस्य थपेर सो नामावली निर्वाचन आयोगलाई बुझाएका छन् ।

कार्यकारिणी समितिमा अल्पमतमा परेपछि अध्यक्ष ठाकुरले आफ्ना पक्षबाट २० जना सदस्य थपेका हुन् । जेठ ३० गते ठाकुरले आफूपक्षीय बैठक राखेर २० जनाको नाम थपेका थिए ।

थपिएका नाम दर्ता किताबमा अध्यावधिकका लागि असार १ गते उनले आयोगमा दर्ता गराएको उनीपक्षीय एक नेताले बताए । दर्ता गराउनका लागि केशव झा निर्वाचन आयोग पुगेका थिए ।
जेठ ३० गते नै आयोगले एकजना अध्यक्षले मात्र कसैलाई हटाउन वा कसैलाई राख्न नमिल्ने निर्णय गरेको थियो । तर ठाकुरले २० जनाको नाम थपेर आयोगमा अध्यावधिकका लागि पठाएका हुन् ।
निर्वाचन आयोगले त्यसलाई दर्ता गरेपनि थप निर्णय भने लिइसकेको छैन ।
थप गरिएका २० जनामध्ये सबैजना महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका हुन् । त्यसमा शरतसिंह भण्डारी, राजकिशोर यादव र अनिलकुमार झाका पक्षका नेतालाई नराखिएपछि असन्तुष्टि समेत देखिएको छ ।
कार्यकारिणी समितिमा थपिएका २० जनाको नामावली-
बाबुलाल साह, विजय गुप्ता, अर्जुन उप्रेती, अरविन्द साह, जयप्रकाश ठाकुर, उपेन्द्र महतो, मुकेश झा, शतरजित यादव, एकवाल मियाँ, रमेश पटेल, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, सन्तोष मेहता, डा.विजय सिंह, कृष्ण सिंह, परमेश्वर साह, अभिराम शर्मा, राजिव झा, सुरेश मण्डल र डा.सुरेन्द्र झा
पानीको बहाव बढेसँगै कालीगण्डकी जलविद्युत परियोजना प्रभावित
परियोजनाका इलेक्ट्रिक सुपरभाइजर युवराज पाण्डेका अनुसार असार १ गते बिहान ४ बजेदेखि बुधबार साँझ ६ बजेसम्म विद्युत उत्पादन बन्द भयो । बुधबार १२ बजे विद्युत उत्पादन सुरु गर्ने प्रयास गरिए पनि सफल हुन सकेन ।
दैनिक १ सय ४४ मेगावाट विद्युत उत्पादन क्षमताको त्यस परियोजनामा बुधबार साँझ ६ बजे विद्युत उत्पादन सुरु गर्दा ८५ मेगावाट उत्पादन भएको थियो । त्यसपछि क्रमशः बढेर अहिले १ सय ३० मेगावाटसम्म विद्युत उत्पादन भइरहेको पाण्डेले बताए ।
उनका अनुसार असार १ गतेदेखि अहिलेसम्म परियोजनाको ड्याममा पानीको वहाव अधिकतम ४४ सय ८४ मिटर क्युव प्रति सेकेन्ड विन्दुमा पुग्यो । उक्त उच्चतम विन्दु असार १ गतेको हो । विहिबार बिहान पानीको वहाव २९ सय ६१ मिटर क्युव प्रति सेकेन्ड रहेको परियोजनाले जनाएको छ ।
जयपृथ्वी राजमार्ग दुई दिनपछि खुल्यो
सडक माथिबाट पहिरो खस्दा अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग दुई दिनपछि सञ्चालनमा आएको छ । बैतडीको खोड्पेदेखि बझाङको चैनपुर जोड्ने उक्त राजमार्गको पुर्चौडी नगरपालिका–६ स्थित ढोल्यामोडमा सडक माथिबाट पहिरो खस्दा सोमबार रातिदेखि अवरुद्ध बनेको थियो ।
लगातारको वर्षाका कारण खुलाउन समस्या भएकोमा वर्षा कम भएपछि स्काभेटर र जेसिबीको सहयताले बुधबार दिउँसोपछि सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।
सडक माथिबाट ठूलो पहिरो खसेको र पहिरो पन्छाउन समस्या भएको थियो । उनले भने, “पानी पर्ने क्रम रोकिएपछि सडक विभागको स्काभेटर र जेसीबी लगाएर सडकमा खसेको पहिरो पन्छाइएको छ, अहिले सडक खुलेको छ ।”
बझाङबाट धनगढी, महेन्द्रनगर, काठमाडौँ, डडेल्धुरा, बैतडी र बझाङ भित्रिने ५० भन्दा बढी सवारी साधन र १०० भन्दा बढी यात्रु पहिरोका कारण रोकिएका थिए ।
अवरुद्ध राजमार्ग सञ्चालनमा आएपछि दुई दिनदेखि बीचबाटोमै रोकिएका एम्बुलेन्स, मालवाहक सवारी साधन र अत्यावश्यक कामका लागि हिँडेका यात्रुहरू आआफ्नो गन्तव्यमा हिँडेका छन् । पहिरोका कारण जयपृथ्वी राजमार्ग बेलाबेला अवरुद्ध हुने गरेको छ ।



