
एमालेले भन्यो : वैद्यको अभिव्यक्ति आपराधिक
शनिबार पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्ने बारे दिएको अभिव्यक्तिलाई अत्यन्त गम्भीर रुपमा लिएको जनाएको छन् ।

‘प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ ।’

विज्ञप्तिमा भनिएको छ ‘उक्त अभिव्यक्तिको घोर भत्र्सना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानुन समेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ र यस विषयमा सम्बद्ध राजनीतिक दलको समेत गम्भीर ध्यानाकर्षण गर्दछ ।’
वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको मनोमानी बढेको भन्दै उनको लागि एक जना नाथुराम गोट्सेको आवश्यकता परेको विवादास्पद अभिव्यक्ति दिएका थिए ।
नाथुराम गोड्से तिनै व्यक्ति हुन् जसले भारतमा महात्मा गान्धीको हत्या गरेका थिए । वैद्यले आवश्यक परे देशको लागि आफैँ नाथुराम गोड्से बन्न पनि तयार रहेको अभिव्यक्ति दिएपछि उनको चौतर्फी विरोध भएको छ ।
वाग्मती प्रदेश सभामा काँग्रेस सांसद वैद्यको आपत्तिजनक अभिव्यक्ति
वाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाथुराम गोड्से जस्तो व्यक्ति चाहिएको भनेर आपत्तीजनक अभिव्यक्ति दिएका छन् ।
शुक्रबार प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उनले प्रधानमन्त्री ओलीविरुद्ध नाथुराम गोड्सेको आवश्यकता परेको बताएका हुन् ।
नाथुराम गोड्से तिनै व्यक्ति हुन् जसले महात्मा गान्धीको गोली हानी हत्या गरेका थिए ।
आफ्ना धारणा राख्न ६ मिनेटको समय पाएका वैद्यले भने, ‘ओली यसरी आइरहेको छ कि आफ्नो सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता गरिराखेको छ ।
यो समयमा खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है । त्यसैले मेरो आग्रह, कोही नाथुराम गोड्से आवश्यक पर्यो है अब यो देश बचाउनका लागि ।’ उनले आवश्यक परे आफैँ पनि गोड्से बन्न तयार रहेको बताएका छन् ।
वैद्यले यस्तो अभिव्यक्ति दिंदा पनि प्रदेशसभामा न कसैले नियमापत्ती जनायो, न त सभामुखले नै रोके ।
संसदमा आपत्तीजनक वा अमर्यादित अभिव्यक्ति आए रेकर्डबाट हटाउन सभामुखले निर्देशन दिन सक्छन् ।
वैद्यको चौतर्फी विरोध, आत्मालोचना गर्न कांग्रेस प्रवक्ताको निर्देशन
उनको यो अभिव्यक्तिको सामाजिक सञ्जालमा चौतर्फी विरोध भएको छ । उनले सार्वजनिक रुपमा यो अभिव्यक्ति फिर्ता लिन पनि आग्रह गरिएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले वैद्यले संसदमा संयम गुमाएको टिप्पणी गर्दै आत्मालोचना गर्न निर्देशन दिएका छन् । ‘सडकमा पनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइन्न ।
आवेगको बोली र व्यवहार ‘भावनात्मक उत्तेजना’ भनेर उन्मुक्ति हुन्न । शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ । तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन,’ शर्माले ट्वीट गरेका छन् ।
वैद्यले संसदीय मर्यादा विपरीतको अभिव्यक्ति दिएको भन्दै प्रदेशसभा सदस्य अजयक्रान्ति शाक्य लगायतले उनलाई हदैसम्मको कारवाही गर्न माग गरेका छन् ।
वैद्य काठमाडौं क्षेत्र नं. ४ (क) बाट बाग्मती प्रदेशसभामा काँग्रेसबाट निर्वाचित सांसद हुन् । उनी पशुपति क्षेत्र विकास कोषको पूर्व कोषाध्यक्षसमेत हुन् ।



