
गण्डकी प्रदेशसभा बैठक सुरु : मुख्यमन्त्री गुरुङ विश्वासको मत लिँदै
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा बैठक अहिले सुरु भएको छ । प्रदेशसभामा ठूलो दलको नेताको हैसियतमा गत वैशाख २९ मा गुरुङ दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त गुरुङले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिन लागेका हुन ।

अहिले मुख्यमन्त्री गुरुङले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम प्रदेशसभाको विश्वास पाउँ भन्दै वक्तव्यसहित प्रस्ताव पेस गरिरहेका छन ।
यसअघि विपक्षी गठबन्धनले ल्याएको अविश्वास प्रस्तावमाथि मतदान गर्ने बेला वैशाख १५ मा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही बेपत्ता भएको सूचना पछि प्रदेशसभा बैठक स्थगित भएको थियो ।
त्यसपछि बैशाख २७ मा अविश्वास प्रस्तावमाथि मतदानको कार्यसूची तय गरिएकोमा त्यसको अघिल्लो दिननै मुख्यमन्त्री गुरुङले राजीनामा दिएका थिए ।
प्रदेश प्रमुख सीताकुमारी पौडेलले तीन दिनभित्र २ वा त्यसभन्दा बढी दललाई सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।
मुख्यमन्त्रीविरुद्ध गठबन्धन बनाएका विपक्षीले बहुमत दाबी गर्दै प्रदेशप्रमुखसमक्ष गए पनि बहुमत नपुगेको भन्दै प्रदेश प्रमुखले गुरुङलाई नै ठूलो दलको नेताका हैसियतले मुख्यमन्त्री नियुक्त गरेकी थिइन ।
६० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री गुरुङले विश्वासको मत पाउने आधार भने छैन । सरकार बचाउन र बनाउन ३१ सांसदको आवस्यकता पर्छ । प्रदेशसभामा एमालेका २७ सांसद छन ।
स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बनाएपछि मुख्यमन्त्रीको पक्षमा थिए । तर उनले प्रदेशसभा भंग गर्न नहुने भन्दै विपक्षी गठबन्धनलाई सघाउने आशयसाथ आजै बिहानदेखि सम्पर्कविहीन भएका छन् ।
राष्ट्रिय जनमोर्चाका सांसद थापाले पनि पार्टीमा विद्रोह गरी मुख्यमन्त्रीमा गुरुङलाई सघाउने भन्दै आएका छन । सरसर्ती हेर्दा मुख्यमन्त्री गुरुङको पक्षमा २९ मत देखिए पनि मन्त्री दीपक मनाङेको निश्चित छैन ।
अन्य दलका सांसदहरुले फ्लोरक्रस नगरे मुख्यमन्त्रीले विश्वासको मत पाउने छैनन् ।
विपक्षी गठबन्धनसंग पनि अहिल्यै बहुमत सांसद देखिँदैनन् । दीपक मनाङेले समर्थन गरे भने बहुमत पुग्छ । तर सत्तापक्ष विपक्षीलाई कुनै पनि हालतमा बहुमत पुर्याउनबाट रोक्नेमै केन्द्रित छ ।
यसो भएमा कसैको पनि बहुमत नपुगेको भन्दै प्रदेशसभा विघटनसमेत हुनसक्ने आकलन गरिएको छ ।
विपक्षी गठबन्धनमा कांग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, राष्ट्रिय जनमोर्चाका ३ (एकजना कृष्ण थापाले विपक्षीलाई नसघाउने भनेका छन) र जनता समाजवादीका २ सांसद छन् ।
यस्तो अवस्थामा विपक्षी गठबन्धनमा ३० मत छ । सभामुखले राजीनामा दिएर ३१ पुर्याउने अन्तिम कसरत पनि उनीहरुको छ । विपक्षी गठबन्धनले प्रदेश प्रमुखले जालझेल गर्न सक्ने भन्दै बुधबार भेटेर त्यस्तो नगर्न भनेका थिए ।



