मुख्यमन्त्री भट्टलाई विश्‍वासको मत नदिने एमालेका ७ सांसदलाई २४ घण्टे स्पष्टीकरण

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिने एमालेका सात जना सांसदलाई संसदीय दलका नेता प्रकाशबहादुर शाहले २४ घण्टे स्पष्टीकरण सोधेका छन् ।  

एमाले संसदीय दलको निर्णय तथा ह्वीपको अवज्ञा गर्दै सांसदहरु रतन थापा, नेपालु चौधरी, लिलाधर भट्ट, पठानसिंह बोहरा, माया तामाङ, बलदेव रेग्मी र ग्याल्बोसिंह बोहराले मुख्यमन्त्री भट्टको मतको विपक्षमा मतदान गरेका थिए । दलका नेता शाहले उनीहरु सबैलाई स्पष्टीकरण माग्दै पत्र पठाएका हुन् ।

पत्रमा संसदीय दलको विधान एवं दलको ह्रवीप उल्लंघन गर्नुको कारण सोधेका छन् । निर्धारित समयभित्र जवाफ नआए विधानबमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ ।

विपक्षमा मतदान गर्ने सांसदहरु अध्यक्ष ओली पक्षधर हुन् । सुदूरपश्चिम संसदीय दलमा माधव नेपाल पक्षधरको नेतृत्वसहित बहुमत संख्या छ । मुख्यमन्त्रीलाई विश्वास मत दिने पक्षमा १७ जना एमाले सांसदहरुले मतदान गरेका थिए ।

विपक्षमा मतदान गर्ने सात जना सांसदहरुले पार्टीको निर्देशनको पालना गरेको बताएका छन् । ‘हामीले पार्टी निर्देशनको पालना गरेका हौं,’ सांसद लिलाधर भट्टले भने, ‘स्थायी कमिटीले नै समर्थन फिर्ताको निर्णय गरिसकेको छ ।’

कर्णाली प्रदेशलाई ५२ हजार मात्रा भेरोसेल खोप

कर्णाली प्रदेशमा कोभिड–१९ विरुद्धको भेरोसेल खोप करिब ५२ हजार मात्रा प्राप्त भएको छ ।  चीन सरकारको अनुदान सहयोगमा संघीय  सरकारलाई उपलब्ध भएको भेरोसेल खोपको उक्त मात्रा कर्णाली प्रदेशमा प्राप्त भएको हो ।

सो खोप कर्णालीका १० वटै जिल्लामा पुगिसकेको बताइएको छ । सो खोप ६२ देखि ६५ वर्ष उमेरसमूहका नागरिकलाई दिइने स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक डा।रविन खड्काले जानकारी दिए ।

प्रदेशका सबै जिल्लाको तथ्याङ्कलाई आधार मानेर पठाइएको सो खोप सम्बन्धित जिल्लाका स्वास्थ्य सेवा कार्यालयले आ–आफ्नो अनुकूलताका आधारमा सो समूहका ज्येष्ठ नागरिकलाई दिइने उनको भनाइ छ ।  

निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीका अनुसार प्राप्त खोपको मात्रामध्ये डोल्पामा एक हजार २१०, मुगुमा एक हजार ८२९, हुम्लामा एक हजार ६८०, जुम्लामा तीन हजार ६३६, कालीकोटमा चार हजार ५२९, दैलेखमा आठ हजार ४९५, जाजरकोटमा पाँच हजार ६७३, रुकुमपश्चिममा चार हजार ८५८, सल्यानमा सात हजार ७६८ र सुर्खेतमा ११ हजार ९७२ पठाइसकिएको छ ।

‘हामीले गत माघको १४ देखि २४ गतेसम्म पहिलो चरणको पहिलो प्राथमिकतामा रहेका नौ हजार ४८४ जनालाई कोभिशिल्ड खोप लगायौं’, उनले भने, ‘पहिलो चरणकै दोस्रो प्राथमिकतामा रहेका नागरिकलाई २१ हजार ७४२ खोप लगाइएको छ ।’

दोस्रो चरणमा गत फागुन २३ देखि चैत २ गतेसम्म ८१ हजार ४९६ जनालाई कोभिशिल्ड खोप दिएको तर उनीहरुले दोस्रो डोज लगाउन नपाएको उनले  बताए ।  

हालसम्म एक लाख १२ हजार ७२२ जना कर्णालीवासीले कोभिशिल्ड भ्याक्सिन लिएका छन् । उनीहरुलाई दोस्रो डोज लगाउन भने कोभिशिल्ड खोप नै आउनुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button