रघुजी पन्त अस्पताल भर्ना

नेकपा एमालेका नेता रघुजी पन्त अस्पताल भर्ना भएका छन् । पन्त काठमाडौं मोडल अस्पतालमा भर्ना भएका हुन् ।

पन्तले गएको मंसिरमा पित्तथैलीको शल्यक्रिया गराएका थिए । त्यही शल्यक्रियाको असर भएको आशंकामा अस्पताल भर्ना गरिएको हो । अहिले उनको उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।

तम्घासमा बजार अनुगमन

निषेधाज्ञा जारी भएका बेला दैनिक उपभोग्यवस्तुको कालोबजारी तथा कृत्रिम अभाव हुन सक्ने भन्दै गुल्मी सदरमुकाम तम्घासमा बजार अनुगमन गरिएको छ ।

निषेधाज्ञाका बेला खाद्यवस्तुको कालोबजारी गरेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयको अगुवाइमा घरेलु तथा साना उद्योग कार्यालय लगायत अन्य सरोकारवालाहरुको सक्रियतामा तम्घासमा बजार अनुगमन गरिएको हो ।

तम्घास बजारका विभिन्न स्थानमा रहेका करिब ५० वटा पसल अनुगमन गर्दा म्याद नाघेका र अखाद्य चाउचाउ, बिस्कुट, चिजबल्स, मिटमसला, सुजी, आटा, धुलो दूध, दन्तमञ्जन लगायतका करिब १२ हजार रुपैयाँ मूल्य बराबरको खाद्य तथा अन्य सामग्री जफत गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।

अनुगमन गरिएका अधिकांश पसलमा मूल्य सूची नराखेको, खरिद तथा बिक्री विल प्रयोग नगरेको, मूल्य अभिवृद्धि करमा दर्ता तथा स्थायी लेखा नम्बर नलिएको, पसलको कारोबार गर्ने उद्देश्य फरक परेको अनुगमनकर्ताले फेला पारेका थिए ।

उद्योग तथा स्थानीय तहहरुमा दर्ता नगरेको, मदिराको छुट्टै स्टल नराखेको र म्याद नाघेका खाद्यवस्तु तथा अन्य सामग्रीहरु छुट्टाएर नराखेको पाइएकोले यी पक्षमा सुधार गर्न सुझाव दिइएको शर्माले बताइन् ।

उपभोक्ता हित संरक्षण गर्न, कालोबजारी, कृत्रिम अभाव र जम्माखोरी हुन नदिन जिल्ला प्रशासन कार्यालयले प्रचलित कानून बमोजिम जिल्लाभर अनुगमन गरिने उनले बताइन् ।

वीरगञ्जमा असार १ गतेदेखि विद्यालय सञ्चालन गरिने

वीरगञ्ज महानगरपालिकाले असार १ गतेदेखि क्रमिकरुपमा विद्यालय खोल्ने निर्णय गरेको छ । महानगरपालिकाले असार १ गतेदेखि विद्यार्थीको उपस्थितिमै कक्षा ८ देखि १२ सम्म कक्षा सञ्चालन गर्न लागेको हो ।

बालबालिकाको शैक्षिक क्षतिलाई मध्यनजर गर्दै क्रमिकरुपमा विद्यालय सञ्चालन गर्न लागिएको महानगरपालिकाको तर्क छ ।

शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्द लाल कर्णले सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा पत्राचार गर्दै असार १ गतेदेखि विद्यालय सञ्चालन गर्न आह्वान गरेका छन् ।

विद्यालय सञ्चालन गर्न ७ वटा शर्तहरु पालना गर्नुपर्ने पत्रमा उल्लेख गरिएको छ । विद्यालयमा भौतिक उपस्थिति गराई पठनपाठन गर्न विद्यार्थीहरुको अभिभावकहरुबाट लिखित सहमति लिने र स्वास्थ्य सुरक्षाका मापदण्डहरु (मास्क, साबुन, पानीले हात धुने व्यवस्था, सेनिटाइजर भौतिक दुरी, थर्मल गनले ज्वरो नाप्ने आदि) अनिवार्य पालना गर्नु पर्नेछ

यस्तै, अर्को सूचना जारी नहुञ्जेल सवारी साधन सञ्चालन गर्न नपाइने, शिक्षण सिकाइका वैकल्पिक उपायहरु विद्यालय र अभिभावकबीच सहमति गरी लागु गर्ने, असार १ गतेदेखि ७ गतेसम्म भर्नालगायतका व्यवस्थापकीय कार्य गर्ने गराउने, असार ८ गतेदेखि १५ गतेसम्म भर्ना सप्ताहअन्र्तगत घरदैलो कार्यक्रम सञ्चालन गर्ने, असार १५ गते पश्चात नियमति रुपले पठनपाठन सुरु गर्ने गराउने र कुनैपनि विषम स्थिति देखिनासाथ शैक्षिक प्रशासन महाशाखामा जानकारी गराइ निर्देशनअनुसार गर्ने गराउने पत्रमा उल्लेख छ ।

वीरगञ्ज महानगरमा निजी र संस्थागत गरी २०० हाराहारीमा विद्यालय छन् । नगर प्रमुख विजयकुमार सरावगीले कोरोना संक्रमण घट्दै गएकोले विद्यालय सञ्चालन गर्ने निर्णय भएको बताए ।

‘आइतबारदेखि नै स्कुल खोलेर सरसफाइ गर्ने, नतिजा निकाल्ने काम गर्न भनेका छौं । विद्यार्थी भर्नासँगै कक्षा सञ्चालनको काम क्रमशः गर्दै जाने नगर स्तरीय शिक्षा समितिको बैठकबाट निर्णय भएको छ,’ उनले भने, ‘परिस्थिति अनुसार आवश्यक निर्णयहरु गर्दै जान्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button