
दरबार हत्याकाण्डको २० वर्ष : घटना अझै रहस्य र शंकाकै घेरामा
काठमाडाैँ । नेपालको इतिहासमा कालरात्रिका रूपमा चर्चित दरबार हत्याकाण्ड भएको २० वर्ष पुगेको छ ।

तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्यलगायत राजपरिवारका १० सदस्यले ज्यान गुमाउनुपरेको २०५८ साल जेठ १९ गते शुक्रबारको त्यो घटना अझै रहस्यमय नै छ । राजा वीरेन्द्रसहित रानी ऐश्वर्य राज्यलक्ष्मी, छोरा युवराज दीपेन्द्र, छोरा राजकुमार निराजन र छोरी राजकुमारी श्रुति मारिएका थिए ।

तत्कालीन जनप्रिय राजा वीरेन्द्रको निधन भएपछि अस्पतालमा अचेतावस्थामै रहेका युवराज दीपेन्द्रलाई राजा घोषणा गरिएको थियो । जेठ २२ मा उनको पनि मृत्यु भएको घोषणा गरिएसँगै वीरेन्द्रका माइला भाइ ज्ञानेन्द्र राजा बनेका थिए ।
हत्याकाण्डको सात वर्षपछि २०६५ जेठ १५ गते राजतन्त्रको समाप्ति भई गणतन्त्रको उदय भयो । उच्च सैन्य घेराभित्र रहेको नारायणहिटी राजदरबारमा भएको हत्याकाण्डको रहस्य अहिलेसम्म खुल्न सकेको छैन ।
तत्कालीन सभामुख तारानाथ रानाभाट तथा प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय सम्मिलित उच्चस्तरीय छानबिन समितिले सो घटनाको दोषी दीपेन्द्रलाई देखाई प्रतिवेदन सार्वजनिक गरेको थियो । सो समितिले घटनासँग जोडिएका पात्रहरूको बयानलाई आधार बनाएर प्रतिवेदन तयार पारेको थियो । तर साे प्रतिवेदनप्रति आम जनताकाे विश्वास लागेन र घटना अहिले पनि शंकाकै घेरामा रहेकाे छ ।
हत्याकाण्डलगत्तै तत्कालीन राजा ज्ञानेन्द्रकाे निर्देशनमा घटना भएकाे त्रिभुवन सदनलाई भत्काउन लगाइएकाे थियाे । हत्याकाण्डको खास रहस्य पत्ता लगाउन नसकिए पनि नारायणहिटी संग्रहालयले दरबार त्रिभुवन सदनकाे पुनर्निर्माण गरेको छ ।
दरबार हत्याकाण्ड भएको स्थानको स्मरण गराउन त्रिभुवन सदन निर्माण गरी संग्रहालयका रुपमा संरक्षण गरिएको हो ।
अहिले नारायणहिटी दरबारलाई संग्राहलय बनाइएको छ । गत वर्षदेखि राजाले लगाउने गरेको श्रीपेचका साथै सुनकाे राजदण्ड समेत सर्वसाधारणका लागि प्रदर्शनीमा राखिएकाे छ ।
प्रधानमन्त्री ओलीद्वारा उज्ज्वल थापाको निधनप्रति दुःख व्यक्त
प्रधानमन्त्री केपी शर्मा ओलीले विवेकशील साझा पार्टीका संस्थापक संयोजक उज्ज्वल थापाको निधनमा दुःख व्यक्त गर्नुभएको छ ।
आज साँझ ट्वीट गदै प्रधानमन्त्री ओलीले दिवंगत थापाप्रति श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको हो ।
प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले पनि फरक तरीकाबाट छोटो समयमै आफ्नो ‘राजनीतिक अभियान’प्रति धेरैको ध्यानाकर्षित गर्न सक्षम थापाको असामयिक निधनमा दुःख व्यक्त गर्नुभएको छ ।
उहाँले सामाजिक सञ्जालमार्फत शोकाकुल परिवारजनमा समवेदना पनि व्यक्त गर्नुभएको छ ।



