
महन्त ठाकुरले ओलीलाई भने, ‘पार्टी फुटाउन सजिलो हुने अध्यादेश ल्याइदिनुस्’
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको निर्णय गरेपछि त्यसको असर अन्य राजनीतिक दलमा पनि परेको छ । जसपा फुटको संघारमा पुगेको छ । प्रधानमन्त्री ओलीले सरकार जोगाउन अन्य पार्टीका मुख्य नेताहरुलाई आफ्नो पक्षमा पार्ने प्रयास गरेका छन् । उनले त्यसका लागि सबैभन्दा धेरै जसपाका दुई नेतासंग बाक्लो छलफल गरेका छन् ।

अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोलाई ओलीले आफ्नो पक्षमा पारेका छन् । जसका कारण जसपा फुटको संघारमा पुगेका छन् । जसपाका अर्का नेता डा बाबुराम भट्टराईले सांसद किनबेचको खेल खेल्नुभन्दा आफ्नो आफ्नो बाटो लाग्न नेताहरुसंग सार्वजनिक आग्रह गरिसकेका छन् ।

भविष्यको जोखिमलाई दृष्टिगत गरी ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दल फुटाउन सजिलो हुने अध्यादेश ल्याउन आग्रह गरेका छन् । सोमवार ओलीसँग बालुवाटारमा भएको भेटवार्तामा ठाकुरले यो विषय पनि उठाएको बुझिएको छ ।
ठाकुर राष्ट्रिय जनता पार्टीलाई ब्युँताउन खोजिरहेका छन् । जसपाभित्रको पछिल्लो विवाद विभाजनको संघारसम्म पुगेपछि ठाकुरले त्यस्तो चाहनासहित अगाडि बढ्न खोजेका हुन् । वावुराम भट्टराईको सार्वजनिक आग्रह पछि अध्यादेश ल्याएर विभाजन सजिलो बनाउनेतर्फ ठाकुर लागेको देखिदैछ ।
सत्ता संघर्ष चुलिदा जसपा विभाजनको नजिक पुगेको हो । अध्यक्ष उपेन्द्र यादव समूह भने ओलीको विरोधमा छन् ।
डब्ल्यूएचओद्वारा भारतमा फैलिएको नयाँ कोभिड भाइरसलाई ‘डेल्टा भेरिएन्ट’ नामाकरण
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भारतमा फैलिएको बी.१.६१७.२ कोरोना भाइरसको प्रकारलाई जनाउने ‘भेरिएन्ट’ लाई डेल्टा भेरिएन्टका रूपमा पहिचान गराएको छ । भाइरसको नाम उच्चारण सजिलो बनाउन नसक्दा यसलाई सञ्चारमाध्यम तथा जनमानसले भारतीय भेरिएन्टका नामले चिन्दै आएका थिए ।
डब्ल्यूएचओले सोमबार आफ्नो एक विशेषज्ञ समूहसँगको छलफलमा भेरियन्ट्स को लागि सजिलै–उच्चारण र गैर–कलंकित सङ्केत (नाम)हरू प्रयोग गर्न सिफारिस गरेको हो ।
डब्लुएचओले जारी विज्ञप्तिमा भनिएको छ, “कोभिड–१९ को प्रकारलाई जनाउँदा कुनै देशको नाम उच्चारण गर्दा यसले सम्बन्धित देशको प्रतिष्ठामाथि आँच आएको गुनासोलाई सम्बोधन गर्दै ग्रीक वर्णमालाका अक्षर अल्फा, बीटा, गामाजस्ता गैर–वैज्ञानिक समूह वा श्रोता तथा दर्शकहरुद्वारा छलफल गर्न सजिलो र अधिक व्यवहारिक हुने अक्षरहरु प्रयोग गर्न सिफारिस गरिएको छ ।”
त्यसैगरी बेलायतमा भेटिएको खतरनाक नयाँ कोभिड भाइरस (बी.१.१.७) लाई डेल्टा, दक्षिण अफ्रिकामा भेटिएको भाइरसलाई बिटा र ब्राजिलमा भेटिएको नयाँ भाइरसलाई गामा नामाकरण गरिएको छ ।
यी भाइरसको वैज्ञानिक नाम पूर्ववत नै रहेपनि उच्चारण सजिलो बनाउन र भाइरसको पहिचान कुनै देश विशेषको नामबाट हुँदा यसले उक्त देशलाई हेर्ने विभेदकारी दृष्टिकोण बन्ने भनाइहरूपछि विश्व स्वास्थ्य संगठनले यो निर्णय लिएकोे हो ।
विश्व स्वास्थ्य सङ्गठनकी कोभिड–१९ प्राविधिक समूहकी प्रमुख मारिया भन कर्खोभले ट्वीट गर्दै भन्नुभयो, “भेरिअन्ट पत्ता लगाएर जानकारी दिएकोमा कुनै पनि देशलाई अप्ठेरोमा पारिनुहुन्न ।”
अमेरिका, ब्राजिल, फिलिपिन्स र अन्य मुलुकहरूमा भेटिएका कोभिडका नयाँ प्रकारलाई एप्सिलन, जेटा, आयोेटा र थेटाजस्ता नाम दिइएको छ ।
भारतमा सबैभन्दा पहिले भेटिएको प्रकारलाई भने ‘कप्पा भेरिएन्ट’ नामाकरण गरिएको छ । भारतमा भेटिएको बी.१.६१७.२ भेरिएन्ट भारतमा कोभिडको घातक दोस्रो लहरको रूपमा देखिएको छ । महामारीको उक्त दोस्रो लहरका कारण दैनिक हजारौँको मृत्यु हुनुका साथै लाखौँ सङ्क्रमित हुँदा भारतको स्वास्थ्य सेवा संरचनालाई नै अस्तव्यस्त बनाएको छ ।
कर्खोभका अनुसार यदि २४ भन्दा धेरै भेरिअन्ट भेटिएको खण्डमा ग्रीक वर्णमालाका अक्षर सकिनेछ र नयाँ प्रणाली घोषणा गरिनेछ ।
२ दिनपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो हुने, यस्तो हुन्छ अबको निषेधाज्ञाका मोडालिटी, हुने छ निकै सहज !
सङ्क्रमणको दोस्रो लहर फैलिएसँगै यसको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरिएको एक महिना पुगेको छ ।
सङ्क्रमणको अवस्था हेरेर जेठ अन्तिमसम्म निषेधाज्ञा थप्ने तयारीमा अधिकारीहरू लागेका छन् । काठमाडौँ, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले वैशाख १६ देखि उपत्यकामा निषेधाज्ञा जारी गरेका हुन् ।
सो अवधिमा निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै करिब ३३ हजार सवारी साधन र एक हजार आठ सय जनालाई ‘होल्ड’ गरिएको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार निषेधाज्ञा कार्यान्वयनका लागि ट्राफिक र अन्य गरी करिब पाँच हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।
उपत्यका प्रवेशको सात नाकासहित पाँच सय स्थानमा नियमित जाँच चौकी स्थापना गरिएको छ । निषेधाज्ञा उल्लङ्घन गर्नेविरुद्ध ‘होल्ड’ कारबाहीअन्तर्गत सवारी साधनको हकमा साँझ ६ बजेसम्म र सर्वसाधारणलाई आधा घण्टा सडकमै उभ्याई सम्झाइबुझाइ गरी फर्काइँदै आएको छ ।
तर, पछिल्लो पटक कोभिड–१९ सङ्क्रमण व्यवस्था अध्यादेश जारीपछि जरिवाना तथा कैद सजायको तयारी गरिएको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले पहिलो तीन हप्ताको निषेधाज्ञामा कोरोना सङ्क्रमण नघटेपछि चौथो पटक थप कडाइ गरिएको स्पष्ट पारेका छन् । सोही रणनीतिअनुसार खाद्य, थोक तथा किराना पसल र डिपार्टमेन्ट स्टोरहरू पूर्ण रूपमा बन्द गरिएको उनको दाबी छ ।
यसै क्रममा आज काठमाडौंका सिडिओ कालिप्रसाद पराजुली, भक्तपुरका सिडिओ प्रेम प्रसाद भट्टराई र ललितपुरका सिडिओ ढुण्डीप्रसाद निरौला सहभागी बैठकले निषेधाज्ञाका मोडालिटी परिवर्तन गर्नेबारे निर्णय गर्ने बताइएको छ ।
उपत्यकामा जेठ १४ बाट बन्द गरिएको किराना पसल र डिपार्टमेन्ट स्टोर खुल्ला गर्ने तयारी गरिएको छ । सार्वजनिक निर्माण पनि खुल्ला गर्ने प्रशासनको तयारी छ । आज अपरान्ह बस्ने उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गर्नेछ । अहिलेको निषेधाज्ञा जेठ २० गते मध्यरातसम्म कायमै छ ।
निषेधाज्ञालाई कडाइ तुल्याउने जानकारी दिँदै प्रजिअ पराजुलीले आज बस्ने बैठकले थप निर्णय गर्न सक्ने समेत बताए ।
कतिपय विज्ञले समेत संक्रमण दर घटेकाले असारबाट निषेधाज्ञा खुकुलो पार्न सकिने सुझाएका छन्। निषेधाज्ञालाई लम्बाइराख्दा सर्वसाधारणको दैनिक जीवनयापन कठिन हुने भन्दै संक्रमणलाई नियन्त्रण गर्दै निषेधाज्ञालाई समेत खुकुलो पार्दै लानुपर्ने उनीहरूको राय छ। स्वास्थ्य मन्त्रालयले हरेक दिन सार्वजनिक गर्ने तथ्यांकमा हाल संक्रमण दर केही घटेको देखिन्छ ।
तर कतिपयले परीक्षण नै कम भएकाले संक्रमितको संख्या पनि कम भएको बताउने गरेका छन् ।
महामारी नियन्त्रणको अन्तिम विकल्प निषेधाज्ञा नै भएकाले कडाइ गर्नु परेको भनाइ उनको छ । सङ्क्रमितको सङ्ख्या प्रतिदिन घट्नु नै निषेधाज्ञाको प्रभावकारिता भएको बुझाइ प्रमुख जिल्ला अधिकारी पराजुलीको छ ।
केही दिनयता निषेधाज्ञा थप कडा बनाइँदा काठमाडौँ उपत्यकामा सङ्क्रमितको सङ्ख्या तुलनात्मक रूपमा घटेको तथ्याङ्क सुनाउँदै उनले भने, “सङ्क्रमितको सम्पर्क तथा भीडबाट टाढा बस्नु नै जोगिने उपयुक्त विकल्प रहेछ ।”
त्यस्तै महानगरीय प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) हरिबहादुर पालले सरकारको निर्णयअनुसार निषेधाज्ञा कार्यान्वयनमा कुनै कमी हुन नदिएको बताए ।



