
प्रधानन्यायाधीश र सर्वोच्च बारका अध्यक्षबीच छलफल
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र सर्वोच्च बारबीच छलफल भइरहेको छ । इजलास गठनका विषयमा उठेका प्रश्न तथा विवाद निवारणका सम्बन्धमा राणा र सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यबीच छलफल भइरहेको हो ।

संवैधानिक इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाई राख्न नहुने वकिलहरूले अडान लिएपछि यसबारे इजलासमा चर्को विवाद छ । यद्यपी आज इजलास गठन गर्दा राणाले यी दुबैलाई निरन्तरता दिएका छन् ।

प्रतिनिधिसभा विघटनको मुद्दामा स्वार्थ बाझिएको भनेर कानुन व्यवसायीहरुले दुई न्यायाधीशलाई इजलासबाट पछाडी हट्न दबाव दिएका थिए । त्यसबारे निर्णय गर्नका लागि सोमबार पेशी नै स्थगित गरिएको थियो ।
कर्णालीमा ९५ प्रतिशत सङ्क्रमितले जिते कोरोना
पछिल्लो समयमा कर्णालीमा कोरोना सङ्क्रमण जित्नेको सङ्ख्या बढ्दै गएको छ । सोमबार मात्र कर्णाली प्रदेशमा ५१२ कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् ।
कर्णालीमा हालसम्म एक लाख १५ हजार ४३३ जनाको कोरोना सङ्क्रमण परीक्षणमा १७ हजार १५० अर्थात् १५ प्रतिशतमा सङ्क्रमण देखिएको छ ।
सङ्क्रमण देखिएको कूल सङ्ख्यामा ९५ प्रतिशतले कोरोना भाइरस जितेर घर फर्केको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक डा रविन खड्काले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा एक हजार ११३ जनाको कोरोना परीक्षण गरिएकामा २०६ जनामा सङ्क्रमण पुष्टि भएको छ”, निर्देशक डा खड्काले भने, “कोरोना भाइरस सङ्क्रमणबाट भने चार जनाले ज्यान गुमाएका छन् ।” मृत्यु हुनेमा सुर्खेतका दुई, सल्यान र जुम्लाका एक÷एक रहेको उनले बताए ।
उनका अनुसार कोरोना भाइरसबाट गम्भीर प्रकृतिका छ भेन्टिलेटरमा, ५३ आइसीयूमा, ३७० आइसोलेसन केन्द्रमा र पाँच हजार १७१ जना होमआइसोलेशनमा रहेका छन् ।
कर्णालीमा मृत्यु हुने सङ्क्रमितको सङ्ख्या केही घटे पनि मर्ने क्रम नरोकिएकाले सोमबारसम्म २४७ जना व्यक्तिको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ ।
६ पत्रकारलाई ‘संकटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार
पाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिले आर्थिक, फोटो, चलचित्र, खेलकुद, राजनीतिक र कार्टुन पत्रकारिता गरेर ६ विधाको पत्रकारितामा सक्रिय पत्रकारलाई ‘संकटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार प्रदान गर्ने भएको छ ।
कोरोनाको दोस्रो लहरको यो महामारीको कठिन समयमा ज्यानको बाजी राखेर निरन्तर पत्रकारितामा सक्रिय पत्रकारलाई प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गर्न लागिएको एसोसिएट प्रदेश समितिले एक विज्ञप्ती मार्फत जानकारी गराएको छ ।
जनही १०,००० नगद र प्रमाणपत्र समेत रहेको पुरस्कारले पत्रकारलाई निरन्तर काममा लाग्न प्रोत्साहन मिल्ने नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिका अध्यक्ष बैकुण्ठ राज पराजुलीले बताए ।
पुरस्कृत ब्यक्तिको छनौट भने ६ विधासँग प्रतिनिधि गर्ने संस्था, विज्ञ तथा अग्रज सहितको जुरी समितिले छनौट गर्नेछ ।
प्रोत्साहन पुरस्कारले पत्रकारिता प्रति थप जिम्मेवार हुन उर्जा प्रदान गर्ने विश्वास एसोसिएट प्रदेश समितिको रहेको समेत विज्ञप्तिमा भनिएको छ ।



