चुनावपछि पनि यो बजेट हामी कार्यान्वयन गर्छौं : अर्थमन्त्री

१७ जेठ, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मध्यावधि निर्वाचनपछि पनि आफूहरुले नै सरकार बनाउने र बजेट कार्यान्वयन बताएका छन् । निर्वाचन घोषणा गरेको सरकारले पूर्ण बजेट ल्याएको भन्दै आलोचना भएका बेला उनले चुनावपछि पनि नेकपा एमाले नै सरकारमा आउने र बजेट कार्यान्वयन गर्ने दाबी गरेका हुन् ।

‘आज बजेट जसले प्रस्तुत गरेको छ, त्यसैले बजेट कार्यान्वयन गर्छ,’ आर्थिक पत्रकार समाज (सेजन)ले आर्थिक वर्ष २०७८÷७९ को बजेटका विषयमा गरेको छलफलमा अर्थमन्त्री पौडेलले भने, ‘आज पनि कार्यान्वयन गर्छ, निर्वाचनपछि पनि जनताबाट अनुमोदित भएर यो शक्ति आउँछ ।’

उनले बजेटमा अहिले केवल विरोधका लागि मात्र विरोध भइरहेको भन्दै तथ्यमा रहेर विरोध गर्ने कुनै विषय नै विपक्षीसँग नरहेको दाबी गरे ।

बजेट ल्याउन हुँदैन भन्नु कोरोना नियन्त्रण गर्नु हुँदैन, निजी क्षेत्र र जनताको माग सुन्नु हुँदैन भन्नुजस्तै रहेको अर्थमन्त्री पौडेलले बताए । संविधानको प्रावधान अनुसार नै बजेट आएको र कार्यान्वयन पनि हुने उनले जिकिर गरे ।

‘बजेट कार्यान्वयनको जिम्मा सरकारले लिन्छ, जसरी बनायो, कार्यान्वयन त्यसैगरी हुन्छ, द्विविधा नराख्नुस्,’ उनले भने । उनका अनसार सोमबार सबै मन्त्रालयका मन्त्री र सचिवसँग अर्थ मन्त्रालयले छलफल गरी बजेट कार्यान्वयनलाई तीव्रता दिने तयारी गरेको छ ।

सरकारले तोकेको मध्यावधि निर्वाचनको विषयमा पनि द्विविधा नराख्न अर्थमन्त्री पौडेलले आग्रह गरे । रहरका कारण नभई परिस्थितिले चुनावमा जानुपरेको भन्दै उनले मुलुक निर्वाचनमा होमिइसकेको बताए ।

तर, चुनावमा जाँदैमा सरकार नियमित अभिभाराबाट अलग बस्न नमिल्ने अर्थमन्त्री पौडेलको भनाइ छ ।

बजेटका कार्यक्रमले आलोचकको मुख थुनेको भन्दै उनले आलोचना गर्नेले विषयगत ढंगले गर्न नसकेको बताए । ‘कुनै पनि कुरा बेठीक भयो भनेर विषयवस्तुमा केन्द्रित रहेर बोलेको म देख्दिन, थोकमा अभिव्यक्ति आएको छ,’ उनले भने ।

बजेटमा कांग्रेसको प्रतिक्रिया : जनता झुक्याउन नयाँ नयाँ नारा

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले जनतालाई झुक्याएर चुनाव जित्ने आशा राखेर बजेट ल्याएको आरोप लगाएका छन् । वैधानिकता गुमाएको सरकारले जनता झुक्याउन नयाँनयाँ नारा ल्याएको उनले बताए ।

‘कुनैपनि आँकडा हेर्दा पार लाग्ने देखिदैन । यसैलाई देखाएर ठगेर चुनाव जित्न पाइन्छ कि भने नयाँनयाँ नारा ल्याइएको छ’, उनले भने । कांग्रेसले बनाएको छायाँ सरकारका अर्थमन्त्री समेत रहेका रिजालले वैधानिकता गुमाएको सरकारले बजेट ल्याउने कुरा नै अनुचित भएको बताए ।

बजेटको आकार ठूलो छ । सामाजिक सुरक्षा भत्ता र पूर्वाधारमा गरिने बाहेक अरू सबै खर्च दुई देखि तीन प्रतिशत बढाएको छ । बजेटको टेस्ट अरु बेला भन्दा डेढ गुणा लामो छ’, नेता रिजालले भने ।

अनुमानित खर्च र राजश्व संकलन पनि सम्भव नरहेको उनले बताए । ‘यो वर्षको संशोधित खर्च भन्दा झण्डै तीस प्रतिशतले बढी खर्च गर्छु भनेको छ, त्यो सम्भव छैन’ नेता रिजालले भने, ‘राजश्वको अनुमान २५ प्रतिशतले थपिन्छ भनेको छ, त्यो सम्भव छैन ।’

चालु आवमा आर्थिक वृद्धिदर दुई प्रतिशतले घट्ने सम्झाएको पनि उनले बताए । ‘अहिलेको वर्ष दुई प्रतिशत अर्थतन्त्र घट्छ भनेको थिएँ । दुई प्रतिशतले नै घट्यो । युवराज खतिवडाले मानेका थिएनन्, हामीले जे भनेको थियौं, त्यही भयो’, रिजालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button