
अहंकारी सोच र शैली गणतन्त्रवादी संस्कार हुनै सक्दैनः प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिशोधी भावना, अहंकारी सोच र शैली गणतन्त्रवादी संस्कार हुनै नसक्ने बताएका छन्।

गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै उनले अहिले गणतन्त्रका विरोधीहरुबाट यसका मूल्य–मान्यतामाथि निरन्तर प्रहार भइरहेको बताएका छन्।

प्रतिशोधी भावना, निरंकुश सामन्ती व्यवस्थाको अन्त्य गर्दै नेपाली जनताको बलिदानीपूर्ण संघर्षले स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
उनले भनेका छन्, ‘यस अवसरमा महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन लगायत सबै प्रकारका न्यायपूर्ण आन्दोलनहरुमा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। साथै, बेपत्ता एवं घाइते योद्धाहरुमा उच्च सम्मान प्रकट गर्दछु।’
यस्तै, उनले नेपाली जनताको ठूलो त्याग र बलिदानबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताउँदै पारस्परिक सम्मान, सहअस्तित्व र सहभागितामुलक राजनीतिले नै मुलुकको सर्वाङ्गीण विकास सम्भव हुने बताएका छन्।
नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै गणतन्त्रात्मक संस्कार र संस्कृति निर्माण गर्न प्रतिगामी तत्व विरोधी सम्पूर्ण लोकतन्त्रवादी शक्तिहरुबीच सुदृढ राष्ट्रिय एकता अपरिहार्य भएको उनको भनाई छ।
यस्तै, उनले विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डहरुको पालना गर्दै आफू र आफ्नो समाजलाई सुरक्षित राख्न सबैमा हार्दिक अपिल गरेका छन्। पछिल्लो समयमा फैलिएको यस भाइरसको दोस्रो लहरले नेपालमा धेरै व्यक्तिको ज्यान गएको छ।
स्वदेशमै उपलब्ध साधनस्रोतको उचित व्यवस्थापन नहुँदा पनि नागरिकले ज्यान गुमाउनु परिरहेको छ। कतै अस्पतालमा विद्युत आपूर्ति बन्द हुँदा संक्रमितले ज्यान गुमाइरहेका छन् भने कतै अस्पतालभित्र स्वास्थ्यकर्मी र चिकित्सकमाथि सांघातिक आक्रमण हुँदा उपचार नपाई नागरिकको ज्यान गइरहेको पनि उल्लेख गरे।
यसप्रकारका घटनाको निन्दा र भर्त्सना गर्दै अस्पताल क्षेत्रको सुरक्षा र अत्यावश्यक सामग्रीको आपूर्तिका लागि आफ्नो पार्टी सरकारको गम्भीर ध्यानाकर्षण गराएको जनाएका छन्।
‘यस गौरवपूर्ण ऐतिहासिक दिनका अवसरमा सम्पूर्ण नेपाली जनसमुदायमा सुस्वास्थ्य र प्रगतिको उत्तरोत्तर कामनासहित संविधान र लोकतन्त्र विरोधी तत्वहरुका विरुद्ध एकतावद्ध संघर्षका लागि हार्दिक अपिल गर्दछु,’ उनले भने।
गणतन्त्र संस्कृति र सामाजिक जीवन पद्दति हो’ प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रको यस युगान्तकारी राजनीतिक परिवर्तनलाई सामाजिक जीवनका बहुआयामिक क्षेत्रमा विकास गर्ने समुन्नत प्रणालीतर्फ अग्रसर रहेको बताएका छन्।
गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले मुलुकको विकासका लागि सामाजिक र भौतिक पूर्वाधार बनाउँदै तिनै पूर्वाधारहरुले जनताको सुख र समृद्धिका आधार निर्माण गर्ने बताए।
यस्तै, उनले यसैलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाका रुपमा अघि सारेको पनि स्पष्ट पारे।
‘हामीले लोकतान्त्रिक गणतन्त्रलाई सबल तुल्याउन समावेशीकरणसहितको सामाजिक न्याय, सुशासन र समृद्धिका तीनवटै आयामलाई समुचित सन्तुलनका साथ अगाडि बढाएका छौँ,’ उनले भने, ‘गणतन्त्रलाई जनताको जीवनसँग तादात्म्य कायम गरेर अघि बढ्न हाम्रा सम्पूर्ण प्रयासहरू केन्द्रित छन्।
जनताको जीवनमा परिवर्तन ल्याउन नै विकासका चौतर्फी अभियान अघि बढाइएको छ। गणतन्त्र शासन प्रणाली मात्र नभएर सभ्यता, संस्कृति र सामाजिक जीवन पद्दति समेत हो।’



