
राहतको १० केजी चामलसँगै एमालेको चिठी !
इटहरी उपमहानगरपालिका–३ सुनौलो बस्तीमा कोरोना संक्रमितका लागि दिइएको राहतको पोकोमा ‘नेकपा एमालेको तर्फबाट’ लेखिएको भेटियो ।

त्यसभित्र एउटा चिठी पनि समावेश छ । जसमा लेखिएको छ, ‘यस महामारीको सामना गर्न तपाईंहरुको साथमा सिंगो नेकपा (एमाले) पार्टी रहेको छ, भन्दै संक्रमित टोलबासीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।’

सुनसरीमा स्थानीय प्रशासनले राहत वितरणका लागि एकद्वार प्रणाली अपनाएको छ । तर मंगलबार दिउँसो नेकपा एमालेको इटहरी नगर कमिटिले राहत बाँड्दै साथमा चिठी समेत थमाएको हो ।
एक साताअघि एमाले नगर कमिटीले राहत वितरण गर्न खोजको थियो । तर एकद्वार प्रणालीबाट वितरण गर्नुपर्ने भन्दै वडा अध्यक्षले रोकेका थिए ।
मंगलबार उपमेयर लक्ष्मी गौतमसमेत सहभागी भएर राहत वितरण गरिएको हो । ‘मलाई पनि चिठी छ भन्ने जानकारी भएन, उहीँ पुगेपछि मात्रै थाहा भयो,’ उपमेयर गौमले भनिन्,‘एमालेले एक साता अघि नै बाँड्न खोजेको राहत हो त्यो ।’ राहत वितरण गर्न वडाध्यक्षले रोके पनि नगर प्रमुखले अनुमति दिएको उपमेयर गौतमले दावी गरिन् ।
राहतको पोकोमा पत्र भेटिएपछि विवाद भएको थियो । विवाद भएपछि राहतको पोकोबाट पत्र फ्याँकिएको थियो । पत्रमा हस्ताक्षर गर्ने एमाले नगर अध्यक्ष यामकुमार सुब्बाले विपन्न बस्तीमा रहेकालाई सान्त्वनास्वरुप राहत पठाएको बताए ।
‘राहत पठाएको बोरामा स्वास्थ्य लाभको कामना गरिएको छ,’ उनले भने,‘ यो ठूलो इस्यू बनाउने विषय होइन ।’ उनका अनुसार ११२ परिवारलाई प्रति परिवार १० किलोग्राम चामल, तीन किलोग्राम दाल, तीन किलोग्राम आलु र तेल राहत वितरण गरिएको थियो ।
काठमाडौंमा पुनः बर्डफ्लु संक्रमण पुष्टि, ८ सय टर्की नष्ट गरिदै
काठमाडौंमा पुनः बर्डफ्लु संक्रमण पुष्टि भएको छ ।
काठमाडौंको कीर्तिपुरस्थिति दुई ठाउँ र चन्द्रागिरीमा पालिएको टर्कीमा बर्डफ्लु संक्रमण पुष्टि भएको पशु सेवा विभागले जनाएको छ ।
कीर्तिपुरको दुई वटा प्वाइन्ट र चन्द्रागिरीको एक ठाउँमा सोमबार बर्डफ्लु संक्रमण पुष्टिपछि त्यस क्षेत्रका पन्छी नष्ट गर्न टोली खटाइएको विभागका सूचना अधिकारी डा.चन्द्र ढकालले अनलाइनखबरलाई बताए ।
प्रारम्भिक रुपमा करीब ८ सय टर्की नष्ट गर्न र सो क्षेत्र निसंक्रमण गर्न बुधबार बिहानैदेखि प्राविधिक खटिएको सूचना अधिकारी ढकालले जानकारी दिए ।
अस्वभाविक रुपमा टर्की मृत्युको सूचना पछि विभागले नमुना संकलन गरेर केन्द्रीय प्रयोगशालामा रियलटाइम पीसीआर विधिबाट गरेको परीक्षण बर्डफ्लु पुष्टि भएको हो ।
‘हामी अहिले संक्रमण थप फैलन रोक्न काम गरिरहेका छौं ।’ सूचना अधिकारी ढकालले भने । व्यवसायीक प्रयोजनका लागि किसानले फर्ममा पालेको टर्कीमा उक्त संक्रमण पाइएको विभागले जनाएको छ ।
पन्छी नष्ट र निसंक्रमण विधि सकिएपछि बुधबार साँझसम्म विस्तृत विवरण सार्वजनिक गर्ने तयारी भइरहेको विभागले जनाएको छ ।
काठमाडौंको तारकेश्वर, ललितपुरको नख्खु लगायतका क्षेत्रमा केही महिना अघि लोकल कुखुरा र टर्कीमा बर्डफ्लु पाइएको थियो ।



