
कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार गम्भीर छः मन्त्री आले
वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकार गम्भिर रहेको बताएका छन्। जिल्ला अस्पताल डोटीमा आज स्वास्थ्य सामग्री प्रदान कार्यक्रममा मन्त्री आलेले सरकारले भरपुर प्रयास गरिरहको बताएका हुन्।

जिल्लाका नौवटै स्थानीय तह तथा जिल्ला अस्पताललाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री वितरण गर्दै मन्त्री आलेले अक्सिजन र स्वास्थ्य सामाग्रीको अभाव हुन नदिने समेत बताए।

कोरोनाका कारण मुलुकभर जटिल अवस्थाको सृजना भइरहेका बेला मन्त्री आलेले अक्सिजन र स्वास्थ्य सामाग्रीको अभाव हुन नदिने बताएका हुन्।
गृहजिल्ला डोटी र सुदूरपश्चिम प्रदेशिक अस्पताल कैलालीलाई आफ्नै लगानीमा आवश्यक स्वास्थ्य सामाग्री वितरणका लागि डोटी पुगेका मन्त्री आलेले थप आवश्यक स्वास्थ्य सामाग्री पठाउनका लागि केन्द्रबाट सहजीकरण गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको कार्य अगाडि बढिसकेकाले अब जिल्लामा खासै अक्सिजनको अभाव नहुने समेत उनले बताए। महामारीको रोकथामका लागि सबैले हातेमालो गरी अगाडि बढ्न आवश्यक रहेको भन्दै हरेक नागरिकलाई समेत सचेत बन्न मन्त्री आलेले आग्रह गरेका छन्।
जिल्लामा स्वास्थ्य सामग्री अभावमा जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको उपचारमा निकै समस्या भएको भन्ने गुनासो आएपछि मन्त्री आलेले स्वास्थ्य सेवा विभागबाट प्राप्त ३० वटा एचडियु श्यया, खाली १५ अक्सिजन सिलिन्डर तथा आफ्नो लगानीमा ६० वटा थप सिलिण्डर खरिद गरी ७५ थान भरिएका अक्सिजन सिलिन्डर, सर्जिकल मास्क एकलाख ५० हजार, तीन थान अक्सिजन उत्पादन गर्ने कन्सन्ट्रेटर मेसिन, एन्टिजेन किट, रेम्डेसिभिर, सेनिटाइजरलगायत स्वास्थ्य सामाग्री प्रदान गरेका हुन्।
केही नियमित सरकारी प्रक्रियाबाट प्राप्त हुने सामग्रीका अतिरिक्त ७५ थान भरिएका अक्सिजन सिलिन्डर, एक लाख ५० हजार सर्जिकल मास्क, एन्टिजेन किट, रेम्डेसिभिर, सेनिटाइजर मन्त्री आलेले व्यक्तिगत लगानीमा किनेर प्रदान गरेको उनका स्वकीय सचिव हेमन्त रेग्मीले बताए।
मन्त्री आलेले पठाएको स्वास्थ्य सामग्री कम्तिमा पनि रु एक करोड बराबरको रहेको बताइएको छ। यसैगरी मन्त्री आलेले भोली मङ्गलबार यहाँको सुदूरपश्चिम प्रादेशिक अस्पताल कैलालीमा ५० थान भरिएका अक्सिजन सिलिन्डर, मास्क ५० हजार एन्टिजेन किट, रेम्डेसिभिर, सर्जिकल मास्क, सेनिटाइजर लगायतका सामाग्री वितरण गर्ने कार्यक्रम छ।
अक्सिजनका लागि वाणिज्य संघको अभियान
पाँचथरमा अक्सिजनको व्यवस्थापन गर्न पाँचथर उद्योग वाणिज्य संघले रकम जुटाउने अभियान सञ्चालन गरेको छ।
जिल्लाका कोरोना संक्रमितका लागि अक्सिजन अभाव हुन नदिनका लागि अक्सिजन कन्सन्ट्रेटर र अक्सिजन सिलिण्डर व्यवस्थापन गर्ने गरी वाणिज्य संघले यो अभियान चलाएको हो।
केहि दिनदेखि सुरु भएको अभियानमा रकम जम्मा हुने क्रम जारी छ। आइतबार साँझसम्म ३५ लाखभन्दा बढी रकम जम्मा भएको पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दिपक नेपालले बताए। यो अभियानमा देश, विदेशबाट रकम जम्मा भइरहेको छ।
विभिन्न क्षेत्रका व्यक्तिहरुले रकम जम्मा गरिरहेका छन्। कोरोना भाइरसको प्रकोप फैलिदै गर्दा यो अभियान महत्वपूर्ण भएको ठम्याइका आधारमा रकम जम्मा भइरहेको छ।
रकम संकलन गरेर उक्त सामग्री खरिद गर्ने योजना छ। महामारीको बेला जिल्लाबासीको जीवन रक्षार्थ अभियान चलाइएको अध्यक्ष नेपालले जानकारी दिए। संकलित रकमबाट २० थान अक्सिजन कन्सन्ट्रेटर र पचास थान अक्सिजन सिलिण्डर किन्ने योजना छ। खरिद गरिएका सामग्री अस्थायी कोभिड अस्पताल पाँचथरमा हस्तान्तरण गरिने छ।
वाणिज्य संघले यस अघि २० थाना सिलिण्डर अस्पताललाई हस्तान्तरण गरेको थियो। यो अभियानमा सामाजिक सञ्जाल (फेसबुक) बढी प्रभावकारी देखिएको छ।



