
राजा ज्ञानेन्द्र भन्छन्– देशलाई दुर्घटनातर्फ धकेल्नेलाई जनताले कहिल्यै क्षमा गर्ने छैनन्
काठमाडौं । राजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुले सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटना तर्फ धकेल्ने प्रयास गरेको बताएका छन् । उनले देशलाई दुर्घटनातर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा नगर्ने बताएका छन् ।

“यस वैश्विक महामारीको संकटका बेला जन दायित्वबाट पन्छिनका लागि असामयीक राजनैतिक जालझेल श्रृजना गरी, जनताको स्वास्थ्य जस्तो गम्भिर समस्यालाई थाती राखेर सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटनातर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा गर्ने छैनन्,” राजा ज्ञानेन्द्रले ट्विटरमा लेखेका छन् ।

यो पनि,,,,जुनसुकै बेला स्वास्थ्य आपतकाल घोषणा हुनसक्ने
कोभिड महामारी रोकथामका लागि सरकारले स्वास्थ्य आपतकाल घोषणा गर्न सक्नेगरी अध्यादेश जारी गरेको छ । राष्टपति विद्यादेवी भण्डारीद्वारा जारी कोभिड १९ संकट व्यवस्थापन अध्यादेशमा जुनसुकै बेला स्वास्थ्य आपतकाल घोषणा गर्न सकिने उल्लेख छ ।
राजपत्रमा प्रकाशित अध्यादेश संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सरकारले अध्यादेश जारी गर्न सिफारिस गरेको हो । कोभिड १९ स्वास्थ्य आपतकाल घोषणा गर्दा अपनाइने कार्य व्याख्या गरेको छ ।
जसमा स्वास्थ्य संस्थालाई संक्रमित निदान र उपचार गर्न लगाउने, आवश्यकताअनुसार स्वास्थ्य संस्था नियन्त्रणमा लिई सञ्चालन गर्ने वा गराउने उल्लेख छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।
यो पनि, कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि महानगरपालिकाको सक्रियता
कोभिड–१९ बाट सङ्क्रमितको उपचारका लागि काठमाडौँ महानगरपालिकाले सक्रियता बढाएको छ ।
पछिल्लो समय काठमाडौँमा बिरामीको सङ्ख्या बढिरहेको र उपचारमा समस्या हुँदा महानगरपालिकाले अस्पताललाई आवश्यक उपकरण र कर्मचारीसमेत सहयोग गरेर उपचारका लागि सक्रियता देखाएको हो ।
शुक्रबारदेखि महानगरको अनुदान सहयोगबाट नरदेवी आयुर्वेदिक अस्पतालमा अक्सिजनसहित ५० श्ययाको आइसोलेशन सञ्चालनमा आएको छ ।
आइसोलेशन सञ्चालन गर्न महानगर र अस्पतालबीच गत वैशाख २७ गते सम्झौता भएको थियो । अस्पतालको क्षमता ११८ श्ययाको हो । शुरुआतमा २५ श्ययाको एचडियु र २५ श्ययाको आइसोलेशनबाट सेवा थालिएको हो ।
महानगर प्रमुख विद्यासुन्दर शाक्यले महामारीमा जनताको जीवनरक्षाका लागि विकासका कामलाई रोकी स्वास्थ्य क्षेत्रमा लगानी बढाइएको बताउनुभयो ।
अस्पतालले आयुर्वेदतर्फ सात कन्सल्टेन्ट र आधुनिक चिकित्सातर्फ दुई कन्सल्टेन्टसहित १२ आयुर्वेद चिकित्सक, चार मेडिकल अफिसर, २२ नर्सिङ स्टाफ, दुई फिजियो थेरापिस्ट, १५ आयुर्वेद स्वास्थ्यकर्मी, लेखा प्रशासन पाँच र सफाइ तथा सहयोगी कर्मचारी २५ लाई आइसोलेशनका लागि खटाएको छ ।
त्यसैगरी शुक्रबारदेखि नै सामाखुशीमा रहेको राधास्वामी कोभिड आइसोलेशन तथा अक्सिजन थेरापी सेन्टर पनि शुरु गरिएको छ । सेन्टर सञ्चालन गर्न विसं २०७७ कात्तिक १४ गते मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । महानगरको आर्थिक अनुदानमा शुरु गरिएको सेन्टर नेपाली सेनाले सञ्चालन गर्नेछ ।
अहिले ८८ श्यया अक्सिजन र ९६ सामान्यबाट शुरु भएको हो । आवश्यकताका आधारमा ९६ श्ययालाई पनि अक्सिजनसहितको बनाउँदै लगिने बताइएको छ ।
महानगरपालिकाले अन्य ११ अस्पतालसँग सम्झौता गरी कोरोनाका बिरामीको स्वास्थ्य उपचारका लागि आवश्यक पर्ने उपकरण प्रदान गरिरहेको छ ।
महानगरको स्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरका अनुसार गत शनिबारसम्म स्वाब सङ्कलनका लागि पाँच केन्द्र बनाएर काम गरिरहेको महानगरपालिकाले हरेक दिन सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले आइतबारदेखि १६ वटा स्थल तोकेर परीक्षणलाई तीव्र बनाएको छ ।
महानगरका ३२ वडाबाट मात्रै अहिले हरेक दिन ६०० जनाको परीक्षण हुने गरेको र परीक्षण गरिएकामध्ये ४२० मा पुष्टि हुने गरेको महानगरपालिकाको जनस्वास्थ्य महाशाखाले जनाएको छ ।
महानगरपालिकाका ल्याब टेक्निसियन राधिका कुइँकेलका अनुसार परीक्षणका लागि आवश्यकताअनुरुप टोली तयारी अवस्थामा रहेका छन् । “कोरोनाको शङ्का देखिएका र वडाले खटाएअनुसार अहिले परीक्षणको कामलाई व्यापक बनाइएको छ”, कुइँकेलले भन्नुभयो ।
एम्बुलेन्सको आवश्यकता पर्ने बिरामीका लागि अस्पतालसम्म लैजाने र ल्याउने व्यवस्था पनि महानगरपालिकाले नै गर्दै आएको छ । यसका लागि पनि बिरामीले पैसा तिर्नु पर्दैन । सो सेवा महानगरका ३२ वडामध्ये सात स्थानबाट नागरिकले प्राप्त गर्न सक्नेछन् ।
कोरोनाका बिरामीले मात्रै होइन अन्य दीर्घ रोग भएका कसैलाई अस्पतालसम्म जान र आउन परेमा पनि महानगरपालिकाले निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । त्यसका लागि आवश्यक पर्ने जो कोहीले ११८० महानगरपालिकाको हटलाइनमा सम्पर्क गर्नुपर्ने छ ।



