बादलसहित ७ मन्त्रीको नियुक्ति बदर

सर्वोच्च अदालतले सात जना मन्त्रीको नियुक्तिविरुद्ध परेको रिटमा नियुक्ती बदरको आदेश दिएको छ । 
नेकपा विवादमा गत फागुन २३ को फैसलापछि माओवादीमा नफर्की एमाले बसेका र सांसद पद खारेज भएका उनीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो मन्त्रिपरिषद्मा नियुक्ती गरेका थिए । 

बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले गृहमन्त्री रामबहादुर थापासहित पूर्व संघीय संसदको सदस्य नरहेका सात मन्त्री संविधानको धारा ७८ अनुसार एक पटकलाई बढीमा ६ महिनामात्र मन्त्री हुन सक्ने भन्दै पुनः नियुक्तिलाई अन्तरिम आदेशमार्फत बदर गरेको हो ।

अधिवक्ता कपिल देव ढकाल र रविराज थापाले सात मन्त्रीको नियुक्ती बदर माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
सर्वोच्चको आदेशपछि गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, शहरी विकासमन्त्री प्रभु साह, खानेपानी मन्त्री मणि थापा, श्रममन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुद मन्त्री दावा लामा मन्त्री पदबाट मुक्त भएका छन् ।

महानगरपालिकामा सञ्चालित केन्द्रबाट ४३ हजारले लिए भेरोसेल खोप

काठमाडौँ महानगरपालिकामा सञ्चालित केन्द्रबाट हालसम्ममा ४३ हजार १८ जनाले कोभिड–१९ विरुद्धको (चिनियाँ खोप) भेरोसेलको दोस्रो मात्रा लिएका छन् । पहिलो मात्रा दिएकालाई यही जेठ २ गतेदेखि भेरोसेलको दोस्रो मात्रा दिन थालिएको हो ।

यसरी खोप लिनेमा २३ हजार ४८५ पुरुष र १९ हजार ५३३ महिला छन् । यो सङ्ख्या कामपाको  वडास्तरीय ३२ वटा खोप केन्द्र र त्रिवि शिक्षण अस्पतालमा भएको एउटा गरी ३३ खोप केन्द्रको सङ्ख्या हो ।

यीमध्ये सबैभन्दा धेरै वडा नं २६ को खोप केन्द्र लैनचौरबाट दुई हजार ४९२ ले खोप लिएका छन् । वडा १६ को बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र जुडो हल केन्द्रबाट दुई हजार ४२७ ले र तेस्रोमा वडा नं ३२ बाट दुई हजार ३८५ ले खोप लिएका छन् ।

कामपामा ११ वडामा खोप लिनेको सङ्ख्या एक हजारभन्दा कम रहेको छ । यी वडामा सबैभन्दा थोरै, वडा नं १९ बाट १९७ जनाले, त्यसपछि वडा नं २० मा ३९४ र तेस्रोमा वडा नं २४ मा ४०८ जनाले खोप लिएका छन् । त्यसपछि वडा नं २१, २८, २३, २२, १८, ८, २५ र ३० मा क्रमशः ४१९, ४४२, ४८७, ५२५, ७०६, ७२९, ८१३ र ९०५ रहेका छन् ।

जेठ ११ गतेसम्म चल्ने खोपमा गत चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म पहिलो मात्रा १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई खोप दिइने व्यवस्था गरिएको छ ।

यस अवधिमा हरेक दिन बिहान १०ः०० देखि अपराह्न ४ः०० बजेसम्म पहिलो मात्रा लगाएको कार्ड लिएर पायक पर्ने खोप केन्द्रमा जानुपर्छ । दोस्रो खोप लगाउन पहिलो खोप लिएको मितिका आधारमा तय गरिएको छ । नागरिकलाई सहजताका लागि सबै वडामा खोप केन्द्रको व्यवस्था गरिएको छ ।  

पहिलो डोज जहाँसुकै  लगाएको भए पनि दोस्रो डोज भने पायक पर्ने स्थानमा लगाउने व्यवस्था हुँदा नागरिकलाई सहज भएको छ । कामपामा अहिलेसम्म ५४ हजार ५६८ सङ्क्रमितमध्ये १२ हजार ४१ सक्रिय सङ्क्रमित रहेका छन् ।

कोरोनाका कारण ३७२ जनाको मृत्यु भएको छ । बयालीस हजार १५५ जना निको भएको तथ्याङ्कमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button