
विश्वासको मत लिनुमा ओलीको यस्तो रहेछ मास्टर प्लान, भिडियो
संसद विघटन उल्टिए पछि पनि जब प्रधानमन्त्रीले राजिनामा दिएनन् तब देखि नै विपक्षीदलहरुले प्रधानमन्त्रीका विरुद्धमा अविश्वासको प्रस्ताव ल्याउँछौँ, अविश्वासको प्रस्ताव ल्याउँछौँ भन्दै धम्क्याइरहे तर अविश्वासको प्रस्ताव भने ल्याएनन् ।

अब प्रधानमन्त्री खड्गप्रसाद ओली आफैले विश्वासको मत लिने भएका छन् ।

विश्वासको मत लिने प्रयोजनका लागि आउँदो २७ गते प्रतिनिधीसभाको अधिवेशन आवहान गरिएको छ । संसदको गणित अनुसार जम्मा सांसदको संख्या २७५ मा बहुमतका लागि १३८ सांसद चाहिन्छन् तर ५ पद खाली भएकाले अहिले १३६ सांसदले नै बहुमत पुग्छ ।
संसदमा ओलीको दल एमालेका १ सय २१ सांसद छन् । आफ्नै दलका सबैले मत दिए पनि विश्वासको मत लिनका लागि ओलीलाई अरू १५ जना सांसद भए चाहिन्छन् ।
यसका लागि जसपाको १४ सांसद भएको एउटा पक्षलाई विश्वासमा लिन ओलीले सक्दो कसरत गरेका छन् तरपनि उनलाई बहुमत पुगेको छैन । यो हिसाब अर्को पाटो पनि छ ।
एमालेभित्र ३५ जना सांसद माधव नेपाल समूहमा छन् । यी मध्ये २७ जनालाई त ओलीले स्पष्टिकरण नै सोधिसकेका छन् । यी सांसदले फ्लोरक्रस गर्न सक्ने अनुमान गरिन्छ । अहिले त नेपाल पक्षका सांसदहरुले सामूहिक राजिनामा दिने तर ओलीलाई समर्थन नगर्नेसम्म समाचारहरु बाहिरिएका छन् ।
यसैले चमत्कारै भए मात्रै हो नत्र ओलीले विश्वासको मत नपाउने निश्चित प्राय छ । आफुले नपाउने विश्वासको मत लिन किन ओली अग्रसर भए ? राजनीतिकवृतमा अहिले चलेको प्रश्न यहि छ । आज यहि प्रश्नको सेरोफेरोमा रहेर कुरा गरौँ ।
ओलीको सरकार अहिले संविधानको धारा ७६ (२) बमोजिमको हो । यसरी बनेको सरकारलाई समर्थन गर्ने दलले समर्थन फिर्ता लियो भने संविधानको धारा १०० को उपधारा २ अनुसार त्यसको ३० दिन भित्र संसदमा विश्वासको मत लिनु पर्ने हुन्छ तर ओलीलाई हटाउन दौडधुप गरिरहेको माओवादीले ओली आफैले विश्वासको मत माग्दासम्म पनि सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको थिएन । यसैले धारा १०० को उपधारा २ अनुसार विश्वासको मत लिइएको होइन ।
यसो त संविधानले प्रधानमन्त्रीलाई यो अधिकार दिएको छ । संविधानको धारा १०० को उपधारा १ मा प्रधानमन्त्रीले कुनै पनि बखत आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठाने विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्न सक्ने प्रावधान छ । तर यहि बेला किन त ? पुन: प्रश्न त्यहि आउँछ ।
यो प्रश्नको सहि जवाफ ओलीले मात्रै दिन सक्छन् । बिडम्बना भन्नु पर्छ कि नेताहरुमा देखिएको इमान्दारिता, पारदर्शीता, जवाफदेहिता र नैतिकताको कमीले गर्दा नेपाली राजनीति पानी भन्दा तरल छ । यसैले घटनाक्रम यसरी फेरिन्छ कि हाम्रो अनुमान हवाइ फायर भन्दा बढि निशानाहीन बन्छ ।
त्यै पनि अहिलेको घटनाक्रमका आधारमा ओलीले विश्वासको मत लिन चाहनुका ३ वटा कारणहरु उल्लेख्य देखिन्छन् । यसबारेमा तपाईले भिडियोमा थाहा पाउनुहुनेछ । कृपया, भिडियो हेर्नुहोस् ।
यो पनि,,,,राजधानीका अस्पतालमा बिरामी राख्ने ठाउँ नभएपछि हेलिकोप्टरमा चितवन ल्याउँदै कोरोना सङ्क्रमित
राजधानी काठमाडौँसहित देशका मुख्य ठूला शहरका अस्पतालमा शय्या भरिएपछि हेलिकोप्टरमार्फत यहाँ सङ्क्रमित ल्याउन थालिएको छ । यहाँ अक्सिजन र शय्याको अभाव हालसम्म नदेखिएपछि अन्यत्रबाट यहाँ सङ्क्रमित ल्याउने क्रम बढेको हो ।
जिल्लाको सरकारी भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेजमा कोभिड उपचार हुँदै आएको छ ।
यहाँकै विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले पनि क्यान्सरका बिरामी र कर्मचारी सङ्क्रमित भएमा राख्नका लागि २० शय्याको कक्ष तयार गरेको छ । यी सबै अस्पतालका आफ्नै अक्सिजन प्लान्ट भएकाले हालसम्म अक्सिजनको अभाव देखिएको छैन ।
चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाका अनुसार हालसम्म काठमाडौँबाट दुई, नेपालगञ्जबाट दुई, दाङ र भैरहवाबाट एक÷एक सङ्क्रमितलाई हेलिकोप्टरबाट यहाँ ल्याइएको छ ।
आज मात्रै एक सङ्क्रमितलाई काठमाडौँबाट हेलिकोप्टरमार्फत यहाँ ल्याइएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार एम्बुलेन्स र अन्य साधन प्रयोग गरी धेरै टाढाबाट आउने सङ्क्रमितको सङ्ख्या ठूलो छ । उहाँले भन्नुभयो, “यसरी आउनेको यकिन तथ्याङ्क त छैन तर ठूलो सङ्ख्यामा काठमाडौँलगायतका ठूला शहरबाट सङ्क्रमित यहाँ आएका छन् ।”
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारी बिरामी थाम्न मुस्किल हुन थालेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अब थप बिरामी उपचार गर्न कठिन होलाजस्तो छ ।
सके र भएसम्म हामी जुटिरहेका छौँ ।” प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले यहाँ जटिल बिरामीलाई मात्रै पठाइदिन छिमेकी जिल्लामा अनुरोध गरेको बताउनुभयो ।
आज मात्रै मकवानपुर, नवलपरासी (त्रिवेणी सुस्तापूर्व) पश्चिम र रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरेर सामान्य अवस्थाका बिरामीलाई त्यहीँ व्यवस्थापन गरी जटिल मात्रै पठाइदिन अनुरोध गरेको जानकारी दिनुभयो ।
जिल्लाका अस्पतालमा अन्य जिल्लाबाट हेलिकोप्टरमा समेत बिरामी आएको भन्दै उहाँले सामान्य अवस्थाका सङ्क्रमित आएर शय्या भरिएमा जटिल बिरामीलाई उपचार दिन कठिन हुने बताउनुभयो ।
उहाँले जिल्लाका अन्य निजी अस्पतालले पनि आजदेखि सङ्क्रमितको उपचार थाल्ने जानकारी दिनुभयो । अस्पतालहरुलाई वैकल्पिक स्वास्थ्यकर्मीको टिम तयार गरेर राख्न भनिएको छ ।
जिल्लाका अस्पतालमा कोभिडको उपचार गराउन आउने ५० प्रतिशत हाराहारी बाहिरी जिल्लाका रहेको अस्पतालले जनाएका छन् । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार जिल्लाका अस्पतालमा ३५६ सङ्क्रमितको उपचार भइरहेको छ ।
तीमध्ये चितवन मेडिकल कलेजमा १४९, भरतपुर अस्पतालमा १३१, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा ५१, क्यान्सर अस्पतालमा एक र अन्य अस्पतालमा २४ जनाको उपचार भइरहेको कार्यालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा जिल्लाका विभिन्न अस्पतालमा र अस्पताल ल्याउँदै गरेको गरी १४ जनाको मृत्यु भएको छ ।
जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार भरतपुर अस्पतालमा छ, चितवन मेडिकल कलेजमा दुई, कलेज अफ मेडिकल साइन्सेजमा तीन, क्यान्सर अस्पतालमा एक र राप्ती नगरपालिकाबाट अस्पताल ल्याउँदै गर्दा बाटोमा एक जनाको मृत्यु भएको छ ।
प्रमुख र उपप्रमुख चढ्ने गाडी सङ्क्रमित बोक्न प्रयोग
पूर्वी चितवनको रत्ननगर नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले चढ्ने गाडी कोरोना सङ्क्रमित बिरामीलाई अस्पताल लान र ल्याउन प्रयोग गरिने भएको छ ।
कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि प्रमुख नारायण वन, उपप्रमुख विमला दुवाडी, प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल र योजना शाखाका कर्मचारीले प्रयोग गर्दै अएका गाडी कोरोना सङ्क्रमित बिरामीलाई अस्पताल लैजान प्रयोग गरिने भएको हो ।
सङ्क्रमितलाई अस्पताल लैजान एम्बुलेन्सलगायत अन्य सवारी साधनको माग बढ्न थालेपछि प्रमुख वनले आफू चढ्दै आएकोसहित चारवटा गाडी सङ्क्रमितका लागि प्रयोग गर्ने घोषणा गर्नुभएको हो ।
प्रमुख वनले चढ्दै आएको बा२झ ३३९९, उपप्रमुख दुवाडीले चढ्दै आएको ना१झ १५८६, प्रमुख प्रशासकीय अधिकृत पौडेलले चढ्दै आएको बा१२च२७१ र कर्मचारीले प्रयोग गर्दै आएको बा२झ १२१७ नम्बरको गाडी कोरोना सङ्क्रमितलाई घरबाट आइसोलेशन र आइसोलेशनबाट अस्पताल लैजान प्रयोग गरिने नगरपालिकाले जनाएको छ ।
“अब हाम्रा गाडीहरु एम्बुलेन्सका रूपमा प्रयोग गर्दैछौँ”, वनले भन्नुभयो, “कोही पनि नगरवासी सवारी साधन नपाएर छटपटाउनु पर्दैन ।” वनले सवारी साधनको आवश्यक परे ढुक्क भएर नगरपालिकामा सम्पर्क गर्नसमेत आग्रह गनुभएको छ ।
सङ्क्रमितलाई छिटोछरितोरूपमा सेवा दिनका लागि आफूहरुले चढेको गाडी प्रयोगमा ल्याइएको उहाँको भनाइ छ ।
यसअघि रत्ननगरले कोरोना सङ्क्रमितलाई अस्पताल लैजान निःशुल्क एम्बुलेन्स सेवा शुरु गरिसकेको छ । होम आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितलाई घरघरमै पुगेर यहाँका स्वास्थ्यकर्मीले उपचार तथा रेखदेख गर्दै आएका छन् ।



