हाम्रो पीडालाई सरकारले सम्बोधन गरिरहेको छैन : महन्थ ठाकुर
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आफूहरुको माग पुरा नगरेसम्म सरकारमा जाने कुनै सम्भावना नरहेको बताएका छन् । आफूहरुले यसपटक चेक होइन, नगद मात्र लिने बताउँदै उनले छलफल गर्दा सबै दलले माग पुरा गर्ने प्रतिवद्धता जनाए पनि कार्यान्वयन कसैले नगरेको गुनासो गरे ।
उनले भने, ‘देशमा एकता र सुरक्षाको आवश्यकता छ । अहिले परिणामको आवश्यकता छ । यसका लागि बौद्धिक समाज लगनशील भएर लाग्नुपर्छ ।’
राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघले बुधवार आयोजना गरेको १३ औं वार्षिक उत्सव तथा संगठन समायोजन कार्यक्रममा उनले जसपाले आफ्नो अधिकारका लागि आन्दोलन गरिरहेको र आफ्नो माग पुरा गराउनका लागि हरेक दलसँग कुरा गर्दै आएको बताए ।
ठाकुरले उपेक्षित समाजका लागि सरकार नभएको भन्दै सरकारबाट नै जनता पीडित रहेको बताए । मधेश आन्दोलनमा लागेको कारण करिब १२ सय जनामाथि सरकारले मुद्दा चलाएको उनले बताए ।
‘हाम्रो पीडालाई सरकारले सम्बोधन गरिरहेको छैन,’ उनले भने, ‘हाम्रा थुप्रै मान्छे जेलमा छन्, मन्त्रीमाथि मुद्दा छन्, सांसद जेलमा छन् यी सबै मुद्दाहरु खारेज गर्नुपर्छ ।’ आफूहरुले प्रधानमन्त्रीलगायतका व्यक्तिलाई भेट्दा रेशम चौधरीलगायतका व्यक्ति दोषी नभएको बताए पनि उनीहरुलाई छाड्न नसकेको ठाकुरको गुनासो छ ।