माधव-झलनाथ समूह ओलीको चियापानमा नजाने
नेकपा एमालेको माधव-झलनाथ समूहले चैत ४ र ५ गतेको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने भएको छ । धुम्बाराहीमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीसहितका नेताहरूसँगको छलफलपछि नेकपा एमालेको माधवसमूहले बानेश्वरस्थित अर्याल होटलमा गरेको केन्द्रीय सदस्य र सांसदहरुको भेलाले राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णय गरेको हो।
यसैबीच मंगलबार अध्यक्ष ओलीले बालुवाटारमा चियापान कार्यक्रमका आयोजना गरेपनि माधव समूहका नेताहरु उक्त चियापानमा नजाने भएका छन् ।
ओली बोलाएको चियापानमा आफ्नो समूहका कोही पनि नेताहरुलाई नजान निर्देशन दिइएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।
भेलामा वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी कार्यालय धुम्बाराहीमा दुईपक्षबीच भएको छलफलको विषयबारे जानकारी गराएका थिए। ओलीसँगको छलफल निस्कर्षमा नपुगेकाले कुनैपनि कार्यक्रम नरोकिने निर्णय नेपालले बैठकमा सुनाएका थिए।
नेपाल पक्षले ओलीसँग फागुन २८ गते ओली पक्षले गरेको नेपाललगायतका पदाधिकारी हटाउने एकलौटी निर्णय खारेज हुनुपर्ने र त्यसपछि मात्र छलफल अघि बढ्ने अडान राखेका थिए। फागुन २८ को निर्णय फिर्ता भएपछि मात्र थप वार्ता हुने एमाले नेता भीम रावलले बताएका छन्।
‘फागुन २८ गते केन्द्रीय कमिटीले गरेका निर्णय औपचारिक नभएकाले हामीले मान्दैनौँ भन्यो तर उहाँहरुले त्यसलाई स्वीकार गर्नुभएन’, नेता रावलले भने, ‘कुरा नमिलेपछि पुनः बैठक बस्ने भनिएको छ।’
नेकपा प्रवक्ता प्रदीपकुमार ज्ञवालीले नेपाललगायत नेताहरुले फागुन २८ गते आफूहरुको उपस्थिति नभएको बैठकले गरेका निर्णयलाई स्थगन गर्न भनेको बताएका छन्। ‘हामीले ती निर्णयमा पुनरवलोकन, सुधार र समीक्षा गर्नुछ भने छलफलबाट गर्न सकिन्छ भनेका छौँ’, उनले भने, ‘फागुन २८ गतेको निर्णयलाई अर्को बैठकमा छलफल गर्न सकिने धारणा प्रधानमन्त्री ओलीले राख्नुभयो। बैठक बसिसकेको हुनाले फागुन २८ गतेको निर्णयलाई प्रतिष्ठाको विषय बनाएर जानु जरुरी छैन।’
उनले अर्को पक्षको यही चैत ४ र ५ गते गर्ने भनिएको भेलाले पार्टी एकतालाई बल नपुर्याउने जनाउँदै केन्द्रीय कमिटी बैठक आपसी परामर्शबाट तय गरौँ भनेर आफूहरुले भनेको स्पष्ट पारे।