बन्दुक उठाएपछि के हुन्छ ? नेपालमा बन्दुक फेरि उठ्छ : मोहन वैद्य
नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले नेपालमा शान्तिको सम्भावना नरहेको बताएका छन् ।
आइतबार नेकपा(क्रान्तिकारी माओवादी) सम्बद्ध जवस तथा मोर्चाहरुले काठमाडौंको शान्तिबाटिकामा आयोजना गरेको विरोध सभामा बोल्दै महासचिव वैद्यले नेपालमा क्रान्ति पुरा नभएकाले शान्तिको सम्भावना नरहेको बताएका हुन् । क्रान्ति गरेपछि मात्रै शान्ति आउने भन्दै उनले नेपालमा फेरि बन्दुक उठ्ने दाबी समेत गरे ।
उनले भने–‘प्रधानमन्त्रीजीले दुईवटा कुरा भन्नुभयो । एउटा कुरा के भन्नुभो भने अब सब संसदवादी मुलधारमा आए भन्नुभो । यो झुठ हो । सरासर झुठ हो । संसदवादी मूलधारमा छैनन् । हामी यो व्यवस्थालाई मान्दैनौँ । त्यसकारण संसदीय मूलधारमा जाने कुरा आउँदैन । क्रान्ति गर्नुपर्छ ।
पहिलो कुरा त्यो हो । दोस्रो कुरा, अब शान्तिको नयाँ युग शुरु भो भन्नुभयो । यो पनि झुठ हो । विप्लवजीहरुले सम्झौता गर्न बित्तिकै शान्तिको युग उहाँहरुले भनेजस्तो शुरु भएको छैन । यहाँका समस्याहरु हुन, जबसम्म समाधान हुँदैन, तबसम्म शान्तिको युग शुरु हुँदैन ।
सत्ताधारी वर्गले जनतालाई शोषण, उत्पीडन, दमन गर्ने यी कम्युनिष्ट नामधारीहरु शहिदको रगतको आहालमा डुबेर सत्तामा जाने, अनि शान्ति कसरी हुन्छ ? शान्तिको संविधान छैनन् । शान्तिको युग क्रान्ति गरेपछि आउँछ । बन्दुक उठाएपछि के हुन्छ ? बन्दुक उठ्छ ।’