काठमाडौँमा ‘शून्य’ बनेको माओवादीले कसरी गर्दैछ संगठन पुनरुत्थानको तयारी ?

गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रलाई काठमाडौँ उपत्यकामा निराशाजनक नतिजा हात लाग्यो । देशैभर १२२ स्थानीय तह जिते पनि देशको संघीय राजधानीसँग जोडिएको काठमाडौँ, ललितपुर र भक्तपुरमा माओवादी शून्य भयो । पहिलो संविधान सभा २०६४ सालको निर्वाचनमा राम्रो नतिजासहित काठमाडौँमा पाइला टेकेको माओवादी त्यसयता भने कमजोर बन्दै गएको छ । २०७० सालको दोस्रो संविधान सभा निर्वाचनबाट थला पर्न थालेको माओवादी अझै उठ्न सकेको छैन । २०७४ सालको स्थानीय चुनावमा एक पालिका मात्रै जिते पनि वडामा राम्रै उपस्थित थियो । तर गत वैशाख ३० गतेको स्थानीय चुनावमा यसअघिको निर्वाचनभन्दा पनि कमजोर भएपछि उपत्यकामा माओवादी संगठन कसरी बलियो बनाउने भन्ने विषयमा पार्टी चिन्तित बनेको छ ।

पार्टीका शीर्ष नेताहरू प्राय काठमाडौँमै भेटिन्छन् । तर, पार्टी संगठन भेटाउनै मुस्किल भएपछि माओवादीले योजनाबद्ध रूपमा काम गर्ने तयारी गरेको छ । पार्टीको चुनावी प्रतिस्पर्धाबाट बाग्मती प्रदेश अध्यक्ष भएका सरल सहयात्री पौडेलले काठमाडौँ उपत्यकाको संगठन कसरी बलियो बनाउने भन्ने विषयमा केन्द्रीय समिति बैठकमा आफ्नो रिपोर्ट प्रस्तुत गरेका थिए । अहिलेकै नेतृत्व र कार्यशैलीबाट उपत्यकाको संगठन बनाउन नसकिने भन्दै दीर्घकालीन योजना बनाएर काम गर्नुपर्ने उनको धारणा थियो । केन्द्रीय सदस्य सहित प्रदेश अध्यक्षको जवाफ दिने क्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि उपत्यकाको संगठन कमजोर भएको विषयमा समेत चिन्ता व्यक्त गरेका थिए । पार्टीका शीर्ष नेताहरू काठमाडौँमै बस्ने गरेपनि संगठन किन कमजोर भयो भन्दै प्रचण्डले समेत प्रश्न गरेका थिए । काठमाडौँको संगठन बलियो बनाउन सिनियर नेताको नेतृत्वमा कमिटी बनाएरै घनिभूत रूपमा लाग्ने प्रचण्डले वचन दिएका छन् ।

पार्टी बैठकमा उपत्यकाको संगठन बलियो बनाउने विषयमा छलफल भए पनि जिल्लामा कुनै योजना र कार्यक्रम आइनसकेको माओवादी केन्द्रका ललितपुर जिल्ला अध्यक्ष शिव कट्टेलले बताए । ‘ललितपुरमा कुनै बेला माओवादीको राम्रो सांगठनिक आधार भएको जिल्लाको रूपमा लिइन्थ्यो,’ कट्टेलले भने, ‘गत वैशाख ३० गतेको चुनावपछि नतिजाले संगठन कमजोर रहेछ भन्ने देखायो । अब संगठन निर्माणमा लाग्नुपर्ने भयो ।’

स्तै माओवादी भक्तपुर जिल्ला कमिटी अध्यक्ष सुनिल बासुले उपत्यकाको संगठन बलियो बनाउने विषयमा कुरा चलेको विषयमा थाहा नै नभएको बताए । उपत्यकाको पार्टी संगठन बलियो बनाउन योजनाबद्ध रूपमा काम गर्नुपर्ने बासुले बताए ।

तर, बाग्मती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेलले उपत्यकाको संगठन निर्माणका विषयमा विभिन्न सरोकारवाला निकायलाई भेटेर विश्लेषण गर्ने काम भई रहेको प्रतिक्रिया दिए । ‘उपत्यकाको संगठन बनाउन विशेष योजना बनाउँदै छौँ । परम्परागत नेतृत्वको केन्द्रीकृत भन्दा पनि फिल्डको रियालिटीको अवस्थालाई ख्याल गर्नुपर्ने छ,’ रातोपाटीसँग कुरा गर्दै पौडेलले भने, ‘उपत्यका बाहिरबाट आउनुभएका नेता कार्यकर्ता बस्ने ठाउँ उनीहरू आबद्ध भएको संगठनमा बलियो उपस्थित देखाउनु पर्‍यो ।’

उपत्यकाको माओवादी संगठन परम्परागत मोडालिटीमा बनाएकाले त्यसलाई परिमाजर्न गर्नुको विकल्प नरहेको पौडेलले बताए । ‘उपत्यकाको  हकमा परम्परागत संगठनको मोडालिटीबाट सोचेर हुँदैन । काठमाडौँ हरेक महिना जसो बदलिरहने शहर हो । यहाँको प्रविधिको विकासले राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिले बदलिरहेको हुन्छ,’ उनले भने, ‘त्यो अनुकूलको नेतृत्वको विकास गरेर जिम्मा दिनुपर्ने छ । नयाँ पुस्तालाई स्थापित गर्ने कुरामा माओवादीले सोच्नुपर्ने छ । लोकतान्त्रिक विधि र पद्धतिमा चल्ने संगठनको विकास गर्नुपर्ने छ ।’

उपत्यकाको पालिकादेखि वडासम्म यस्तो भयो 

२०७४ सालको निर्वाचनमा ललितपुरको कोन्ज्यासोम गाउँपालिका मात्रै जितेको थियो । तर, गत वैशाख ३० गतेको निर्वाचनमा गठबन्धन हुँदापनि माओवादी शून्य भएको छ । यस्तै उपप्रमुखमा ललितपुर–बाग्मती, महांकाल गाउँपालिका र भक्तपुर मध्यपुर थिमी नगरपालिका उपप्रमुख जितेको छ । त्यो पनि गठबन्धन बनाएर मात्रै जितेको हो । अधिकांश वडामा तालमेल नभएकाले माओवादीको उपस्थित कमजोर भयो ।

काठमाडौँमा जिल्लामा महानगर सहित ११ स्थानीय तह छन् । एक स्थानीय तह पनि जित्न नसकेको माओवादीको वडामा पनि कमजोर उपस्थित छ । महानगरको वडामा माओवादी शून्य छ । चन्द्रगिरिमा २ र ५ वडा अध्यक्ष, शंखरापुरमा १ वडा अध्यक्ष मात्रै जितेको छ । अरु ९ स्थानीय तहमा माओवादी शून्य छ । भक्तपुरका चार स्थानीय तहमा माओवादीले एक वडा अध्यक्ष पनि जित्न सकेन ।

ललितपुर महानगरका २९ वडामध्ये ३ वडा अध्यक्ष मात्रै जित्यो । गोदावरी नगरका १४ वडामध्ये २ वडा अध्यक्ष मात्रै जितेको छ भने महालक्ष्मी नगरपालिकाका १० वडाध्यक्षमध्ये एक वडा अध्यक्ष मात्रै जितेको छ । कोन्ज्यासोम गाउँपालिकाका ५ वडामध्ये २ वडा अध्यक्ष र बाग्मती गाउँपालिकाका ७ वडा अध्यक्षमध्ये एक वडा अध्यक्ष मात्रै जित्यो । महांकाल गाउँपालिकाका वडामा माओवादी शून्य भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button