
कांग्रेस नेता इन्द्र बानियाँ भन्छन्, जनताको पक्षमा काम गर्ने जनप्रतिनिधि जुनसुकै दलका भए पनि उसलाई साथ दिनुपर्छ

कांग्रेस बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका बानियाँले वातावरण स्वच्छताका लागि बृक्षरोपण गर्नुपर्ने आवश्यकता रहेको भन्दै यसले मानव स्वास्थ्यका लागि निकै फाइदा पुग्ने बताए । ‘वृक्षरोपणले वातावरण मात्र राम्रो हुन्न, यसले मानव स्वास्थ्यलाई समेत फाइदा पुग्छ,’ बानियाँले भने । उनले जनताको काम गर्न जुनसुकै दलबाट विजयी भएका जनप्रतिनिधि भए पनि उनीहरूलाई साथ दिनुपर्नेसमेत बताए ।

नेता बानियाँकै पहलमा इन्द्र क्लासिक शान्तिमार्ग पक्की बनाउन भौतिक पूर्वाधार मन्त्रालयले ३३ लाख रुपैयाँ विनियोजन गरेको थियो । सोही मार्गको दायाँबायाँ विभिन्न प्रजातिका ५५ वटा बिरुवा रोपिएको छ ।
ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले ललितपुरलाई हरियाली सहर र स्मार्ट सिटी बनाउन आफूलाई जनताले पुनः अत्यधिक मतका साथ विजयी गराएको बताए । ‘यसपटक म जनताको जुन अपेक्षा छ, त्यो पूरा गर्न लागिपर्नेछु । ललितपुरलाई हरियाली मात्र होइन, उज्यालो सहर पनि बनाउनेछु । यदि तपाई रातिको समयमा उपत्यका बाहिरबाट हवाई मार्ग भएर आउनु भयो भने उज्यालो सहर देख्नु भएमा त्यो ललितपुर हुनेछ,’ महर्जनले भने ।
ललितपुर महानगर क्षेत्रका सडकमा १४ सय सडक बत्ती राख्ने काम धमाधम भइरहेको उनले बताए ।



