
राष्ट्रपति भण्डारी र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता
काठमाडौं :नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता भएको छ। राष्ट्रपति भण्डारीलाई भेट्न विदेशमन्त्री वाङ आइतबार बिहान शीतल निवास पुगेका थिए। भेटका क्रममा नेपाल -चीन सम्बन्ध र बीआरआईअन्तरगतका परियोजनाबारे छलफल भएको छ।

वाङले बीआरआई परियोजना कार्यान्वयन नभएको भन्दै चासो राखेको स्रोतले बताएको छ। केही दिनअघ राष्ट्रिपति भण्डारीले चिनियाँ अखबारमा अन्तरवार्ता दिँदै बीरआरआई परियोजना अघि नबढेकोमा दु:ख व्यक्त गरेकी थिइन्। २०७६ वैशाखमा राष्ट्रपति भण्डारीले बेइजीङमा बीआरआईसम्बन्धि भएको सभालाई सम्बोधन गरेकी थिइन्।

वाङले स्वदेश फर्किनुअघि आजै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्दैछन् । विदेशमन्त्री वाङले शनिबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासँग द्विपक्षीय छलफल गरेका थिए । चिनियाँ विदेशमन्त्री वाङ र परराष्ट्रमन्त्री नारायण खड्काबीच भेटवार्ता भएको थियो । सो क्रममा नेपाल चीनबीच विभिन्न ९ परियोजनामा हस्ताक्षर भएको थियो। चिनियाँ विदेशमन्त्री वाङ तीन दिने भ्रमण पूरा गरी आइतबार अपरान्ह स्वदेश फर्कदैछन् ।
चिनियाँ विदेशमन्त्री वाङ १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चैत ११ गते नेपाल आएका थिए।



