
पूर्वराजा ज्ञानेन्द्रप्रति मेरो सम्मान अझै बढेको छ : कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा )अध्यक्ष कमल थापाले पूर्व राजा ज्ञानेन्द्रप्रति सम्मान बढेको बताएका छन् ।

राप्रपा अध्यक्ष थापाले तालिवानी विद्रोहीले सत्ता कब्जा गर्न लाग्दा अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले देश छोडेर भागेको प्रशंगलाई जोड्दै पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान बढेको बताएका हुन् ।

उनले सोमबार ट्विट गर्दै लेखेका छन्,‘तालिवानी विद्रोहीले सत्ता कब्जा गर्न लाग्दा अफगानिस्तानका राष्ट्रपति देश छोडेर भागेको घटना देख्दा राजा ज्ञानेन्द्र प्रति मेरो सम्मान अझै बढेको छ ।
२०६३ पछि देश भित्रै रहेर देश र जनताको सेवामा समर्पित हुने राजा ज्ञानेन्द्रको निर्णय दूरदर्शी छ। राजा र राष्ट्रपति बिचको फरक पनि यही हो ।’
मन्त्रिपरिषद बैठक बस्दै
मन्त्रिपरिषदको बैठक बस्दै छ । सोमबार विहान १० बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा बैठक बस्न लागेको हो । उर्जामन्त्री पम्फा भुसालले नियमित एजेण्डाका साथ बैठक बस्न लागेको बताइन् ।
ट्रान्स मिटर लाइन लागि रुख काट्ने अनुमति लगाएका एजेण्डा रहेको उनको भनाइ छ ।
महन्थ ठाकुर र राजेन्द्र महतो जसपा नेपालको साधारण सदस्यमात्र
जनता समाजवादी पार्टी नेपालमा महन्थ ठाकुर र राजेन्द्र महतोलाई साधारण सदस्यको रुपमा मात्र सीमित गरिएको छ ।जसपाले केन्द्रीय कमिटीलाई अध्यावधिक गर्दै महन्थ ठाकुर, राजेन्द्र महतोलाई साधारण सदस्यका रुपमा सीमित गरेको हो ।
यसअघि ठाकुर पार्टीका अध्यक्ष थिए भने महतो वरिष्ठ नेताका रुपमा थिए ।
जसपाले निर्वाचन आयोगमा ५१५ जना केन्द्रीय सदस्यको नामावली पठाएको छ । उक्त नामावलीमा महन्थ ठाकुर पक्षका अधिकांशको नाम छैन ।
जसपा नेपाल पार्टी कार्यालय स्रोतका अनुसार केन्द्रीय सदस्यको सूचीमा उपेन्द्र यादव नेतृत्वका तत्कालीन समाजवादी पार्टी नेपालका चारसय जना छन् भने बाँकी एकसय १५ जनामा महन्थ ठाकुर नेतृत्वको तत्कालीन राजपा र अन्य दलबाट आएकाहरु छन् ।
जसपा गठन हुँदा ७७९ सदस्य केन्द्रीय कार्यकारिणी समिति बनाइएको थियो । त्यसलाई अध्यावधिक गर्दा ५१५ मा झारिएको हो । पुरानो केन्द्रीय कमिटीबाट २२८ जनालाई हटाइएको छ ।
जसपाको केन्द्रीय कार्यकारिणी सदस्य इस्तियाक राईले कतिपय नेताले नागरिकता नदिएको, कतिपयको कागजात अपूर्ण रहेको र कतिपय पार्टी छाडेर हिँडेका र कतिपयको मृत्यु भइसकेका कारण अद्यावधिकका क्रममा ५१५ सदस्य कायम भएको बताए ।
जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि केन्द्रीय कमिटीलाई अध्यावधिक गर्नका लागि कार्यकारिणी सदस्य मृगेन्द्रकुमार सिंह यादवको संयोजकत्वमा एक कार्यदल गठन भएको थियो ।
सोही कार्यदलले ५१५ सदस्यीय कार्यसमिति कायम गरेर पार्टीलाई प्रतिवेदन बुझाएको थियो ।
पार्टीले त्यसलाई अन्तिम रुप दिइ निर्वाचन आयोगमा बुझाइसकेको छ । कार्यदलका सदस्य एवं कार्यकारिणी सदस्य मृगेन्द्रकुमार सिंह यादवका अनुसार ज–जसले नागरिकतासहितको डकुमेन्ट बुझाए, उनीहरुको छानविन गरी केन्द्रीय समिति सदस्यमा कायम गरिएको छ ।
महन्थ ठाकुर, राजेन्द्र महतोहरूलाई पार्टीको साधारण सदस्यमा राखिएको बताउँदै उनले पार्टीले कारवाही नगरेसम्म उनीहरु पार्टीको साधारण सदस्य रहिरहने बताए ।
उनीहरुले नयाँ पार्टी गठन गरेमा वा पार्टीको अनुशासन विपरीत कुनै गतिविधि गरेमा भने पार्टीले कारवाही गर्न सक्ने कार्यदलका संयोजक यादवको भनाइ छ ।
निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएर महन्थ ठाकुर पक्षलाई नयाँ पार्टी गठन गर्न भनेको थियो ।
तर निर्वाचन आयोगको निर्णयलाई चुनौती दिँदै ठाकुर पक्षले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएको छ । यद्यपि ठाकुर पक्षले अहिले पनि जसपाकै ब्यानरमा जिल्ला तथा प्रदेशमा कार्यक्रमहरु गरिरहेको छ । ]
महन्थ ठाकुरले जसपा आफूहरुको पार्टी रहेको दावी गर्दै आएका छन् ।



