
लुम्बिनी प्रदेश सरकार माओवादीको पोल्टामा, मुख्यमन्त्री बनेका केसी को हुन् ?
काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त भएका छन् ।

उनी माओवादी केन्द्र संसदीय दलका नेता हुन् । बुधवार ंशंकर पोखरेलले मुख्यमन्त्रीवाट राजिनामा दिएका थिए । प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्बिनी प्रदेशका संसदीय दलका नेता शंकर पोखरेलले बुधबार (हिजो) पदबाट राजीनामा दिएपछि केसीले आज ४२ जना प्रदेश सभा सदस्यहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए ।
गठबन्धनका मुख्य घटक कांग्रेस र माओवादीबीच आठ–आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।
प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुई भन्दा बढी दलको बहुमत पुर्याएर दाबी पेश गर्न २४ घण्टाको समय दिएका थिए । गठबन्धनमा नेपाली कांगेसका १९, माओवादी केन्द्रका १८, जसपाका ३, जनमोर्चाका १ र १ स्वतन्त्र जना गरी ४२ जना सांसद छन् ।
को हुन् कुलप्रसाद ?
केसी तत्कालीन माओवादी केन्द्रले सशस्त्र विद्रोह संचालनार्थ गठन गरेको जनमुक्ति सेनाका डिभिजन कमिसार थिए । एमाले–माओवादीको एकताबाट बनेको नेकपामा उनी केन्द्रीय सदस्य र संसदीय दलको उपनेता थिए ।
नेकपा ९मसाल०को विद्यार्थी संगठनबाट राजनीति थालेका रोल्पा लिवाङका केसी ०५९ सालमा माओवादीबाट फुटेको मोहन वैद्यको पार्टीमा लागेका थिए ।
०७३ मा प्रचण्ड नेतृत्वको माओवादीमा फर्किएर प्रत्यक्षतर्फ रोल्पा १ बाट निर्वाचित भएका उनी शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानूनमन्त्री थिए ।
नेकपा विभाजनपछि गण्डकी प्रदेशमा नेपाली कांग्रेस र लुम्बिनीमा नेकपा (माओवादी केन्द्र)ले मुख्यमन्त्री पाउने सहमति भएअनुसार ५१ वर्षीय केसीलाई लुम्बिनीका चार दलले मुख्यमन्त्री प्रस्ताव गरेका थिए ।
प्रवीणता प्रमाणपत्र तहसम्म अध्ययन गरेर ०४८ देखि ०५० सम्म शिक्षण पेशामा आवद्ध उनी ०५० देखि ०५२ सम्म नेकपा ९एकता केन्द्र० को रोल्पा इलाका सेक्रेटरी थिए । ०५५ सालमा माओवादीमा लागेका उनी एक वर्ष दाङ, सल्यान र प्युठानको संयुक्त सेक्रेटरी रहे ।
०५६ मा पार्टीको भेरी–कर्णाली क्षेत्रीय ब्यूरो सदस्यमा बढुवा भएका उनी ०५७ मा जनमुक्ति सेनाको कम्पनी कमिसार र पार्टीको केन्द्रीय सदस्य बने ।
०५९ सालदेखि पोलिटब्यूरो सदस्य र बागमती–नारायणी ब्यूरो इन्चार्जको भूमिकामा रहेका केसी ०६० मा भारतको पटनाबाट गिरफ्तार भए र ०६३ मा रिहा भए ।
२०६३ देखि ६८ सालसम्मको अवधिमा उनी जनमुक्ति सेनाको तेस्रो डिभिजन कमिसारका साथै विभिन्न ब्यूरो इन्चार्ज रहे । त्यसपछि पार्टीको युवा दस्ता योङ कम्युनिष्ट लिग (वाईसीएल) इन्चार्ज बने ।



