मनाङलाई स्थलमार्गसँग सडक जोड्न डिभिजनले थाल्यो काम
लामो समयदेखि सडक सञ्जालबाट विच्छेद बनेको मनाङलाई जोड्न सडक डिभिजन कार्यालय लमजुङले काम थालेको छ। गत असार १ गते आएको बाढीपहिराले डुम्रे–बेँसीशहर–खाङ्सार सडकको करिब ८० प्रतिशत खण्डमा क्षति पुगेको छ।

लामो समयदेखि सडक सञ्जालबाट विच्छेद बनेको मनाङलाई जोड्न सडक डिभिजन कार्यालय लमजुङले काम थालेको छ। गत असार १ गते आएको बाढीपहिराले डुम्रे–बेँसीशहर–खाङ्सार सडकको करिब ८० प्रतिशत खण्डमा क्षति पुगेको छ।

जिल्लाकै ‘लाइफलाइन’का रूपमा रहेको सडकखण्ड अवरुद्ध हुँदा मनाङवासीलाई दैनिकी चलाउन धौ–धौ भएको छ। बाढीपहिराका कारण घरवारविहीन बनेका यहाँका बासिन्दालाई एक गाउँबाट अर्को गाउँ आवतजावत गर्न समेत कठिनाइ छ। साथै जिल्लामा आवतजावत गर्न सहज वातावरण तयार गर्नुपर्ने अवस्था छ । यसका लागि जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय सरकारको सहकार्यमा काठे पुल, फड्के र गोरेटो बाटो निर्माण गरी मानिसको आवागमन केही हदसम्म सहज बनाइएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिए।
उनका अनुसार सदरमुकाम चामेको पक्की पुल थुनिँदा बाढीको कटानले सामुदायिक तथा व्यक्तिगत संरचनामा क्षति पुगेको थियो । हाल नदीको धार पहिलाकै अवस्थामा फर्काइएपछि दुई गाउँपालिकाबीच आवतजावत भएको छ। ‘बाढीपहिराका कारण जनतासँगै म पनि त्रिपालमुनि बसेर सहयोग गरिरहेको छु, दुःखसुखमा स्थानीय सरकार अभिभावकका रूपमा रहेको आभास गराउने प्रयासमा लागिपरेको छु’, अध्यक्ष घलेले भने।
मनाङ ङिस्याङ गाउँपालिकाको पिसाङदेखि खाङ्सारसम्म, चामे गाउँपालिकाको तिमाङदेखि मनाङ ङिस्याङ गाउँपालिकाको सिमानासम्म र लमजुङको सदरमुकाम बेँसीशहरदेखि मनाङ जिल्लाको सिमानासम्म हाल यातायात सञ्चालन भएको सडक डिभिजन कार्यालय लमजुङले जनाएको छ ।



