ओलीको बाटो ज्ञानेन्द्र र मण्डलेको जस्तै भयो : झलनाथ खनाल
५ माघ, काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका दाहाल-नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले आगामी माघ ९ गते देशभरबाट काठमाडौंमा उत्रिन आह्वान गरेका छन्। ९ गते ‘काठमाडौं जाऔं’अभियान चलाइएको उनले बताए। प्रज्ञा भवनमा दाहाल-नेपालनिकट अनेरास्ववियुले गरेको उपत्यकास्तरीय भेलामा बोल्दै उनले यस्तो बताएका हुन्।
प्रतिनिधिसभा विघटनविरुद्ध कडा आन्दोलन चाहिने बताउँदै उनले यही ९ गते काठमाडौं उपत्यका अस्तव्यस्त बनाउन विद्यार्थीहरुलाई अपिल गरे। ‘९ गते उपत्यकाका सडकमा मानिसहरु निकालेर अस्तव्यस्त बनाउनु पर्छ,’उनले भने, ‘दुई लाख जनता काठमाडौंमा उतारेर आन्दोलन चर्काऊँ।’
यसअघिको प्रदर्शनी मार्गमा भएको कार्यक्रममा धरहरा र रानीपोखरी इन्जिनियरले बनाएको बताएका खनालले यो पटक आफू अध्यक्ष हुँदा ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा तय गरिएको जिकिर गरे। ओलीले यो नारालाई आफ्नै बनाएर प्रचार गरेको उनले बताए।
ओलीले पार्टीलाई सत्तामा पुग्ने भर्याङ मात्रै बनाएको उनले बताए। ‘ओलीले क्याबिनेटमा मनपरी गरेर सरकारको नीति र कार्यक्रमसमेत घोषणापत्रअनुसार आएन’, उनले भने, ‘क्याबिनेटमा ओलीले एकलौटी गरे, योजना आयोगमा गुटका मान्छे हाले। नीति र कार्यक्रम पार्टीको घोषणापत्र अनुसार आएन, बजेट पनि मनपरी बाँडियो।’
प्रधानमन्त्री भएपछि केपी ओली दक्षिणपन्थी भड्काउतर्फ लागेको आरोप उनले लगाए। खनालले ओली गुट नेकपाको एउटा चोइटोको संज्ञा दिए। ‘केपी ओली आदरका साथ सम्मान गर्नुपर्ने व्यक्ति होइनन्। संविधान-लोकतन्त्र विरोधी हुन्’, उनले भने, ‘राणा शासनको हुकुम नै हो ओलीले हिँडेको बाटो, उनको बाटो ज्ञानेन्द्र र मण्डलेको हो।’