
मनसुनले मात्र आएको होइन मेलम्चीमा बाढी, यस्तो छ कारण
मौसम पूर्वानुमान महाशाखाले यस वर्ष पहाडी र हिमाली भेगमा बढी वर्षा हुने पूर्वानुमान गरेको छ तर असार १ गतेको आसपास मेलम्ची क्षेत्रको वर्षाको आकलन त्यसअनुसार भएको थिएन ।

त्यसबेला वर्षा पश्चिम नेपालमा केन्द्रित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको थियो । मौसमविद्हरू ठूलो वर्षा भएको कुरा स्वीकार गर्दैनन् ।

भूगर्र्भविद्हरू माथिल्लो भेगमा वर्षा नभई पहिरो जानै नसक्ने बताउँछन् । पछिल्लो समय खण्डित वर्षा हुने क्रम बढेको छ । सानो स्थानको एकै ठाउँमा वर्षा भएका कारण एक्कासि बाढीपहिरो सिर्जना हुने गरेको भूगर्भविद् शिवकुमार बाँस्कोटा बताउँछन् ।
उनले पोहोर साल पर्वतको दुर्लुङमा गएको पहिरोको उदाहरण दिए । लुम्लेनजिकै रहे पनि त्यस समयमा त्यहाँ पानी परेको थिएन तर दुर्लुङका बासिन्दाले कहिल्यै नदेखेको दर्के पानी देखे । त्यसको केही निमेषमै पहिरोले बस्ती बगाएको थियो ।
मेलम्चीको माथिल्लो जलाधार क्षेत्रमा वर्षामापन यन्त्र थिएन । त्यहाँ पानी परेको हुनसक्ने आकलन उनले गरे ।
उनले भने, “पहिले हिमनदीले ल्याएको माटोसहितको गेग्रान हेलम्बुमाथिको खहरे छेउछाउमा थुप्रिएका छन्, पानी परेपछि बल्ल त्यो बग्न थालेको हो र कतै गएर खहरे थुनिएपछि भेलपहिरो विस्फोट भएको हुनसक्छ ।”
बाँस्कोटासहितको उच्च सरकारी टोली त्यो पहिरोले थुनेको स्थलको अवलोकन गर्न गएका थिए । खराब मौसमका कारण राम्ररी ठम्याउन नसकिए पनि प्रारम्भिक अवलोकनले त्यही देखाएको उनले सनाए ।
उनका अनुसार एक डेढ सय वर्षअघि अहिलेकैजस्तो पहिरो आएर मेलम्ची थुनिएको घटना दोहोरिएको हो । स्थानीय पाकाहरू पनि यस्तै घटना धेरै वर्षअघि भएको सुनाउँछन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
आयो अहिले सम्मकै खुसिको खबर : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकाल्यो यस्तो तथ्यांक
दुई सातायता कोरोनाबाट संक्रमित हुनेभन्दा निको हुने दर अत्यधिक रहेको पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २९ जेठ २०७८ यता दैनिक संक्रमित संख्याभन्दा संक्रमणमुक्त हुनेको संख्या अत्यधिक रहेको पाइएको हो ।
२९ जेठमा ३ हजार ३ सय ८४ जनामा संक्रमण देखिएकोमा ६ हजार २ सय ९५ जना संक्रमणमुक्त भएका थिए । त्यसयता दैनिक थपिने संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ ।
२ सातामा ३८ हजार ६ सय ९० जनामा संक्रमण पुष्टि हुँदा ५५ हजार ५ सय ९६ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयको तथ्याकंले देखाएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ५ हजार ४ सय ५५ जना संक्रमित निको भएका छन् । हाल नेपालमा संक्रमित निको हुने दर ९१ दशमलव ३ प्रतिशत रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ७६ हजार ४ सय १३ जना संक्रमित निको भइसकेका छन् ।
हवाई उडान खुलेसंगै भाडा पनि परिवर्तन, कति बढ्यो हवाई भाडा ?
मुलुकको आन्तरिक हवाई उडान यही असार १७ गतेदेखि सञ्चालन हुने निर्णय भएसँगै आन्तरिक उडानका एयरलाइन्स जनस्वास्थ्यको मापदण्डको परिपालना गर्दै उडानको तयारीमा जुटेका छन् ।
आन्तरिक उडानका अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलगायत एयरलाइन्सले सङ्क्रमणरहित उडानका लागि आवश्यक तयारी गरेका हुन् ।
उपर्युक्त एयरलाइन्सले यसअघिको को भिड–१९ महामारीको पहिलो लहरपछिको उडानमा अपनाइएको स्वास्थ्य प्रोटोकललाई पूर्ण रुपमा पालना गर्दै उडान सञ्चालन गरिने जनाएका छन् ।
एयरलाइन्सले यात्रुको सुरक्षा र जनस्वास्थ्यको मापदण्डलाई प्रभावकारी रुपमा पालना गरी उडान सञ्चालन गर्नेगरी टिकट बुकिङ पनि शुरु गरिसकेका छन् ।
बुद्ध एयरले आइतबारदेखि औपचारिक रुपमा कार्यालय सञ्चालन गर्ने जनाएको छ । निषेधाज्ञाका कारण अनौपचारिक रुपमा सीमित सङ्ख्याका कर्मचारीमार्फत सेवा सञ्चालन गरिरहेका एयरलाइन्सले उडान खुल्ने भएपछि कार्यालय सञ्चालन तथा यात्रुको सहजताका लागि बुकिङ पनि शुरु गरिएको जनाएका छन् ।
अघिल्लो महामारीपछिको उडानमा हवाई भाडामा भारी छुटका साथ उडान गरेका एयरलाइन्सले पछिल्लो उडानमा हवाई भाडा केही मात्रामा बढ्नसक्ने जनाएका छन् । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेकाले साबिकको हवाई भाडादर केही वृद्धि हुने बुद्ध एयरले जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना हुने गरी अर्को आदेश जारी नभएसम्मका लागि असार १७ देखि कूल उडान सङ्ख्याको ५० प्रतिशत नबढ्ने गरी आन्तरिक उडान सञ्चालन गर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण लाई निर्देशन दिएको थियो ।
उक्त निर्णयबमोजिम क्यानले एयरलाइन्सलाई उडान कोटा निर्धारण गरेको छ ।
अहिलेको अवस्थामा बुद्ध एयरले जम्मा ३१ उडान गर्नेछ । कम्पनीले काठमाडौँदेखि विराटनगर गन्तव्यमा दैनिक चार, भद्रपुर तीन, तुम्लिङटार एक, जनकपुर तीन, पोखरा तीन, भैरहवा पाँच, धनगढी दुई र सुर्खेत एक उडान गर्ने तालिका बनाएको छ ।
यस्तै यती एयरलाइन्सले कूल १५ उडान गर्नेछ । यतीले विराटनगर तीन, भद्रपुर दुई, जनकपुर दुई, सिमरा दुई र पोखरा दुई उडान तालिका बनाएको छ । श्री एयरलाइन्सले सात, सौर्य एयरलाइन्सका तीन उडान तालिका छन् ।
महामारी नियन्त्रण गर्न सरकारले गत वैशाख २० गतेदेखि आन्तरिक तथा वैशाख २३ गतेदेखि अन्तरराष्ट्रिय उडान स्थगन गरेको थियो । कोभिडका सङ्क्रमित बढेसँगै सरकारले गत वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेको थियो ।



