
११ महिनामा २८ अर्ब ६० करोडको चामल आयात
१० असार, काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालले साढे २८ अर्ब रुपैयाँ भन्दा धेरैको चामल आयात गरेको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको अन्तराष्ट्रिय व्यापारको तथ्याङ्कमा यस्तो विवरण सार्वजनिक भएको हो ।

यस वर्षको चामल आयात अघिल्लो वर्षको समीक्षा अवधिको तुलनामा ७ अर्ब ४० करोडले बढी हो । गत वर्ष जेठसम्म नेपालले २१ अर्ब २० करोड ४३ लाख ८३ हजार रुपैयाँ बराबरको चामल आयात गरेको थियो ।

चालु आर्थिक वर्षको साउनदेखि जेठ अन्तिमसम्म ६० करोड ३७ लाख २४ हजार ९८६ किलो विभिन्न प्रकारको चामल नेपालमा आयात भएको छ । सो आयातका लागि मुलुकबाट २८ अर्ब ६० करोड ३० लाख रुपैयाँ भन्दा धेरै रकम बाहिरिएको छ ।
उक्त परिणामको चामल आयात हुँदा सरकारले भने दुई अर्ब ७५ करोड १३ लाख रुपैयाँ भन्दा धेरै राजश्व संकलन गरेको छ ।
वैशाख अन्तिमसम्म नेपालले २८ अर्ब ३० करोड ४ लाख रुपैयाँ बराबरको चामल आयात गरेको थियो । नेपालमा चामल निर्यात गर्ने प्रमुख मुलुकको रुपमा भारत रहेको छ भने चीन, फिलिपिन्स, जापान थाईल्याण्डबाट पनि मुलुकमा चामल आयात भएको भन्सारको विवरणमा देखिन्छ।
बजार खुल्यो, दंग छन् व्यापारी !
झण्डै दुई महिनापछि पसल खोल्न पाउँदा न्यूरोडको एनजे फुटवेयरका सञ्चालक नारायण अधिकारी दंग छन् ।
स्थानीय प्रशासनले १६ वैशाखदेखि निषेधाज्ञा लगाएपछि अरुको जस्तै उनको पसलको सटर लागेको थियो । ५४ दिनपछि निषेधाज्ञा खुकुलो गरेको स्थानीय प्रशासनले बार तोकेर पसल चलाउन दियो । कपडा तथा जुत्ता पसलका लागि सोमबार, बुधबार र शुक्रबार विहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म खोल्न भनिएको छ ।
लामो समयपछि बुधबार पहिलो दिन पसल खोलेका उनले फाट्टफुट्ट ग्राहक पनि पाए । ‘यदि अहिले पनि निषेधाज्ञा नखोलेको भए भाडा तिर्न र कर्मचारीलाई तलब खुवाउन नै समस्या हुने अवस्था आउँथ्यो’ एक दशकदेखि न्यूरोडमा जुत्ताको व्यापार गर्दै आएका अधिकारी भन्छन्, ‘ढिलै भएपनि पसल खुलेको छ र पहिलो दिन फाट्टफुट्ट ग्राहक आउनुभएको छ, यसमै खुुसी छु ।’
उनी जस्तै न्यूरोड रञ्जना गल्लीमा व्यवसाय गर्नेहरुमा पसल खोल्न पाएकामा सन्तुष्टि देखिन्थ्यो भने व्यापार कहिले लयमा फर्किएला भन्ने चिन्ता । तर झण्डै दुई महिनापछि कपडा, जुत्ता, कस्मेटिक पसलहरु खुल्दा न्यूरोडमा थोरै भएपनि रौनक फर्किएको छ ।
सर्वसाधारणसँगै खुद्रा विक्रेताहरु आफूलाई चाहेको सामान खरिदका लागि पुगेका थिए । कतिपयले बोहोनी गर्न भ्याएका थिए भने कतिपयले पाएका थिएनन् । लेडिज जुत्ताको होलसेल पसल क्वालिटी फुटवेयरका सञ्चालक मोतीराज अधिकारीले एक जना पनि ग्राहक नआएको बताए । तर पसल खुल्न पाएकोमा उनी खुसी छन् ।
‘पोहोर झण्डै चार महिना लकडाउन भयो, खुकुलो भएपछि राम्रो व्यापार हुन्छ भन्ने अपेक्षा थियो’ भन्छन्, ‘तर व्यापारले राम्रो पिकअप दिन नपाउँदै फेरि बन्द भयो, अहिले हामी निकै मारमा छौं ।
’ तत्कालै व्यापार राम्रो भइहाल्ने सम्भावना कम रहेको भन्दै उनले यो अवस्थालाई बुझेको राज्यले उचित राहत दिनुपर्ने दाबी गरे ।
रञ्जना गल्ली जस्तै महावौद्धतर्फ जाने गल्लीमा पनि चहल पहल सुरु भएको छ । युरो कप र कोपा अमेरिका फुटबल चलिरहेकाले पसलहरुमा गल्तीका दुबै छेउमा रंगीविरंगी जर्सीहरु सजिएका छन् ।
पहिलो दिन भएकाले व्यापार भने खासै भएको छैन । बाहिर फाट्टफुट्ट व्यापार भइरहे पनि भित्र र ठूला होलसेल पसलहरुमा व्यापार सुरु हुन बाँकी रहेको व्यवसायी तेजप्रसाद आचार्य सुनाउँछन् ।
उनको शब्दमा भन्दा झोलामा किन्ने व्यापारीहरु आएका छन्, बोरामा किन्नेहरु आउन बाँकी छ । उनका अनुसार झोलामा सामान लैजानेहरु काठमाडौं उपत्यकाभित्रैका व्यापारीहरु हुन् भने बोरामा अर्थात ठूलो परिमाणमा लैजाने उपत्यका बाहिरका व्यापारी हुन् ।
‘अहिले पनि एक किसिमको त्रास बाँकी नै, यसले तत्कालै व्यापार राम्रो भइहाल्छ भनेर अपेक्षा गर्ने ठाउँ पनि छैन’ उनी भन्छन्, ‘व्यापार राम्रो हुन त अब कोरोना नियन्त्रणमा आउनुपर्यो नि ।’



