विज्ञहरुले किन भने यो वर्षको मनसुनमा धेरै क्षति हुन्छ भनेर ?

सरकारले नै यो वर्षको मनसुनमा अन्य वर्षहरुमाभन्दा धेरै जनधनको क्षति हुन सक्ने प्रक्षेपण मनसुन सुरु हुनुभन्दा अघि नै सार्वजनिक गरेको थियो ।

नभन्दै मनसुन सुरु भएलगत्तै सिन्धुपाल्चोक, मनाङ लगायतका जिल्लामा आएको बाढीपहिरोले व्यापक क्षति पुर्‍यायो ।

यस वर्ष झन् ठूलो विपत्ति आउन सक्छ भन्नु पछाडिका कारणहरु यी हुन् ।

१. आगलागीका घटना

गत वर्ष सुक्खायाममा व्यापक आगलागीका घटना भए । २०७७ कात्तिकदेखि चैत महिनाको बीचमा ७३ जिल्लामा २ हजार ७ सय १३ वटा आगलागीका घटना भए ।

जबकी २०७६ सालमा यही पाँच महिनाको बीचमा ४० जिल्लाका १८८ स्थानमा आगलागीका घटना भएका थिए ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार २०७७ सालमा क्षेत्रफलको हिसाबले पोहोरभन्दा २० गुणा बढी भूभागमा डढेलो लागेको सरकारी तथ्यांक छ ।

यी आगलागीका घटनाबाट साना ठूला रुखबिरुवा, झाडी र बुट्यानहरु सखाप भएका छन् । प्राधिकरणका प्रमुख पोखरेल भन्छन्, ‘पहाडको रूखपात र पानी सोस्न सक्ने क्षमता डढेलोले घटाइदिएको छ । त्यसैले यस वर्षको मनसुनमा विपदका घटना वृद्धि हुनसक्ने आंकलन गरिएको छ ।’

२. बढी पानी पर्ने पूर्वानुमान

मौसमविदहरुले यस वर्षको मनसुनमा देशको अधिकांश भागमा सरदरभन्दा धेरै पानी पर्ने प्रक्षेपण मनसुन सुरु नहुँदै सार्वजनिक गरेका थिए ।

नेपालमा जेठ २८ गतेदेखि मनसुन सुरु भएको थियो र दुई दिनमै मनसुनी प्रणाली देशभर फैलिएको थियो ।

मनसुन सुरु भएदेखि असार १ गतेको बीचमा म्याग्दीको घोरेपानी, स्याङ्जाको स्याङ्जा र चापाकोट, कास्कीको लुम्ले र पाल्पाको गण्डाकोटमा २ सय मिलिमिटरभन्दा बढी पानी परेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद डा. इन्दिरा कँडेल बताउँछिन् । मनाङमा वर्षभरिमा सरदर ३९५ मिलिमिटर पानी पर्दछ ।

मनसुन अवधिको चार महिनामा मात्रै सरदर २३४ मिलिमिटर वर्षा भएको रेकर्ड छ ।

जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विक्रम श्रेष्ठका अनुसार मुस्ताङमा मनसुन अवधिभर सरदर २७१ मिलिमिटर पानी परेको रेकर्ड मौसम विज्ञान विभागसँग छ तर त्यसको ३० प्रतिशतभन्दा बढी पानी दुई दिनकै अवधिमा परेको छ ।

मनाङ जिल्लामा पि्रमनसुन अवधिमै पनि अन्य वर्षहरुको तुलनामा बढी पानी परेको थियो । हिउँ पनि धेरै परेको थियो । त्यसैले त्यहाँको जमिन कमजोर भयो र यस वर्षको मनसुन सुरु हुनासाथ विपत्ती निम्तायो ।

असार सुरुकै वर्षाका कारण मनाङमा मात्रै एक हजार भन्दा बढी व्यक्ति विस्थापित भएको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ ।

३. कोरोना संक्रमणको महामारी

कोरोना भाइरसको दोस्रो लहरले यस वर्ष नेपाल पनि नराम्रोसँग प्रभावित भयो । असार ३ गतेसम्म पनि ७५ जिल्लामा निषेधाज्ञा जारी रहनुले संक्रमणको जोखिम कायमै रहेको थाहा हुन्छ ।

वर्षायाममा पनि कोरोना संक्रमणको दोस्रो लहरको प्रभाव कायमै रहने देखिएको छ । बाढी, पहिरो, डुबान लगायतको पूर्वतयारी र प्रतिकार्य कोरोना संक्रमणले प्रभावित हुने चिन्ता सरकारी अधिकारीहरुलाई छ ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव राजेन्द्र शर्मा भन्छन्, ‘उद्धार, पुनःस्थापना र प्रतिकार्यका अरु क्रियाकलापनहरु कोभिड-१९ को सम्भावित संक्रमणबाट जोगिएर गर्नुपर्ने चुनौती छ । बाढी र डुबानको अत्यधिक जोखिम रहेका जिल्लाहरु नै कोभिडको पनि धेरै जोखिममा छन् ।’

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तयार पारेको सम्भावित जोखिमको सूची अनुसार २३ जिल्लाका १७ लाख बासिन्दा बाढीबाट र २६ जिल्लाका १ लाख २० हजार बासिन्दा पहिरोबाट प्रभावित हुने अनुमान छ ।

प्राधिकरणका अनुसार २०६८ साल वैशाख १ देखि २०७७ चैत ३१ सम्मको अवधिमा पहिरोबाट १२ सय ५ जनाले ज्यान गुमाए भने २९७ जना बेपत्ता भएको तथ्यांक छ ।

जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका छन् । झट्ट हेर्दा भोकाएर निकै थकित भएजस्ता देखिन्छन् ।

ज्ञानेन्द्र मेलम्ची बजारका पुराना व्यापारीमध्येका एक हुन् । बजारमा उनको परिवारले खाद्यान्न स्टोरको व्यवसाय गर्दै आएको थियो । एक साताअघि मात्र करिब तीन सय बोरा चामल, चिउरा, आटालगायत खाद्यान्न गोदाममा भण्डारण गरेका थिए उनले ।

मंगलबार साँझको बाढीले उनले पाँचवटा सटरभित्र राखेका सम्पूर्ण खाद्यान्न नष्ट गर्‍यो । सुन्दा मन कटक्क खान्छ, मेलम्चीकै ठूलो खाद्यान्न गोदामका मालिकसँग अहिले खाने चामल छैन । पकाउने सामल छैन ।

‘भान्सामा जहिले चाहियो त्यहीबेला मात्र दाल–चामल लाने गर्थ्यौं,’ श्रेष्ठले भने, ‘बाढीले गर्दा व्यापार त सधैंलाई सकियो, एकमुठी खाने अन्नसमेत बचेन !’

बाढी आएको मंगलबार साँझ श्रीमती र छोरासहित उनी बजारदेखि माथि डाँडामा रहेको इन्द्रावती माध्यमिक विद्यालयमा बास बसे । के हुने हो भन्ने सन्त्रासमै उनीहरूको त्यो रात बित्यो । रातभरि टर्च बाल्दै पसल भएको ठाउँतिर हेरिरहे ।

भोलिपल्ट बिहान पसल भएको ठाउँसम्म खानेकुरा लिन गए उनी । तर मूल सडकभरि जमेको लेदो पानीले गर्दा सटरसम्म पुग्न सकेनन् ।

‘दुई दिनसम्म गोदाम भएको ठाउँमा आउनै सकिएन । आज घाम लागेर पानी सुक्न थालेपछि मात्र आएको हुँ’, भुइँमा बसेर बचेका खुद्रा सामान मिलाउँदै ज्ञानेन्द्रले बताए ।

तीन दिनदेखि ज्ञानेन्द्रको परिवारलाई भात–भान्साको कुनै परवाह छैन । भाडाको घरमा सञ्चालन गरेको गोदाम सम्पूर्ण रुपमा काम नलाग्ने भएसँगै परिवार विछिप्त भयो । अहिले अरूले नै राहतमा दिएको चाउचाउ, रोटी खाएर गोदाम सफा गर्न व्यस्त छन् उनीहरू ।

खुद्रा सामान बिग्रँदा त केही थिएन तर चामल र चिउरा सखाप भएको देख्दा मन थाम्न सकेनौं’, ज्ञानेन्द्र भिजेको ठूलो चिउराको बोरालाई लौरोले घोचेर देखाउँदै भने ।

कुराकानीका क्रममा उनी अर्का एक स्थानीय वृद्धसँग भक्कानिए । स्थानीय ज्येष्ठ नागरिक भीमप्रसाद दंगाल पनि खानेकुरा नासिएकोमा निकै दुःखमनाउ गर्दै थिए । दंगाल अन्न नष्ट हुनु निकै ठूलो अनिष्टको संकेत भएको बताउँदै ज्ञानेन्द्रलाई सान्त्वना दिँदै थिए ।

‘यत्रो गोदामका मालिकसँग आज आफैंले खाने सामल–तुमल छैन !’ भन्दै दंगाल अपशोच मान्दै थिए ।

ज्ञानेन्द्रका छोरा बालुवा थुप्रिएको गोदामबाट कोकाकोला, स्प्राइट र बियरका बोतल निकाल्न व्यस्त थिए । उनलाई स्थानीय केही युवाले सघाइरहेका थिए ।

भोको पेटमा हिलो पानीले ढाडिएका चिउरा र चामलका बोरा बाहिर निकालिरहेका उनीहरु एक–अर्का सँग बोलिरहेका थिएनन् । तर काम गर्दागर्दै घामले खरो भएपछि उनीहरूले गोदामको हिलोबाट निकालेको स्प्राइट पखालेर खान थाले ।

‘जसोतसो ज्यान बच्यो, अब जे खाएर भएपनि काम गर्न थाल्नुपर्छ’, चाउचाउ र स्प्राइट खाँदै २३ वर्षीय स्थानीय युवा बताइरहेका थिए । एकैछिनको विश्रामपछि उनीहरू साबेल र कोदालोले बालुवा खन्दै पुनः सटर फुटाउँदै सामान निकाल्न व्यस्त भए ।

५० लाखको खाद्यान्न नष्ट

ज्ञानेन्द्रका अनुसार उनको मुख्य व्यवसाय नै खाद्यान्न गोदाम हो । वरपरका खुद्रा पसलेलाई समेत उनले नै होलसेलमा सामान उपलब्ध गराउँथे । रोपाइँको समय आएकाले अरुबेला भन्दा दोब्बर खाद्यान्न मगाएर भण्डारण गरेको उनी सुनाउँछन् ।

तर आफैंलाई खानसमेत नपुग्ने गरी व्यापार डुबेकाले सम्हालिन नसक्ने स्थितिमा पुगेको छ ज्ञानेन्द्र र उनको परिवार । ज्ञानेन्द्रका अनुसार पाँचवटा कोठाको भौतिक सामान तथा खाद्यान गरी ५० लाख रुपैयाँभन्दा बढी क्षति भएको छ ।

२०७२ को भूकम्पले पुरानो घर भत्किएपछि यो परिवार पसल भएकै घरमा बस्दै आएको थियो ।

छोरा रमेशका अनुसार खाद्यान्नसँगै कुकिज, कुरमुरे, बियर, पेय पदार्थलगायत सामग्री पनि बाढीले पुरेको छ । चाउचाउ, बिस्कुटजस्ता सुख्खा खानेकुरा पनि हिलोले परेर ओसिइसकेको थियो ।

हिलो पखालेर सामान फिर्ता गर्न सकिन्छ कि भनेर उनी स्थानीय युवासँगै गोदाम खन्न व्यस्त थिए । बिक्री कक्षमा पनि पानी जमेकाले सबै सामानको बिल र खाता भिजेर चिन्न नसकिने भएको थियो ।

‘सामानको बिल र पसलका कागजपत्र पनि सबै बिगारेको छ’ हिलैहिलोको दलदलबाट उनले भने, ‘अब सप्लायर्ससँग कसरी हिसाब मिलाउने हो केही थाहा छैन !’

ज्ञानेन्द्रमात्र होइन स्थानीय एक दर्जन खुद्रा खाद्यान्न पसलमा समेत इन्द्रवती र मेलम्चीको बाढीले क्षति पुर्‍याएको छ । गेगर हिलो मिसिएको पानीले गर्दा पसलका अधिकांश सामान नष्ट भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button