
निषेधाज्ञा खुकुलो बन्दै, अब के गर्न पाउने के न पाउने ?
कोरोना (कोभिड–१९) सङ्क्रमण महामारीको ‘दोस्रो भेरियन्ट’ फैलिएसँगै असहज बनेको जनजीवन सामान्य बन्दै गएको छ । कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापनका लागि जारी निषेधाज्ञा क्रमशः खुकुलो बन्दै छ ।

गृह मन्त्रालयले आर्थिक गतिविधि चलायमान हुने गरी ७७ वटै जिल्लामा शान्तिसुरक्षा तथा कोभिड–१९ नियन्त्रणमा ध्यान दिई गतिविधि सञ्चालन गर्न निर्देशन दिएको छ ।

यो सँगै सार्वजनिक सेवाका कार्यालय, बैङ्क तथा वित्तीय संस्था र होम डेलिभरी सेवाका लागि रेस्टुराँ सञ्चालनलाई खुकुलो बनाइएको छ ।
कोरोना सङ्क्रमण दर ओरालो लागेसँगै कतिपय जिल्लामा जारी निषेधाज्ञा क्रमशः खुकुलो पार्न थालिएको छ ।
तर काठमाडौँ उपत्यकाको हकमा भने अझै जारी निषेधाज्ञा खुकुलो बनाउन सक्ने अवस्था आई नसकेको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
काठमाडौँ उपत्यकामा असारको सुरुआतसँगै आर्थिक गतिविधि बढाउन सम्बद्ध जिल्ला प्रशासन कार्यालयले घर तथा भवन निर्माण, ढुवानी, राहत वितरण, भन्सार, आन्तरिक राजस्व, कर तथा शुल्क लगायत आवश्यक काममा सहजीकरण गर्दै आएका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँका एक उच्च अधिकारीका अनुसार जारी निषेधाज्ञाको पालना गर्दै विकास निर्माण, ढुवानीलगायत आर्थिक गतिविधि बढाउने कार्यमा अवरोध गरिएको छैन ।
आर्थिक वर्ष अन्तिम महिनाको करलगायत हिसाबकिताब मिलाउनसमेत व्यापार, व्यवसायी नियमित कार्यालय जानुपर्ने भएकाले पनि स्वास्थ्य मापदण्डलाई ध्यान दिई खुकुलाे गरिएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
महाकाली नदीको सतह बढ्यो, सतर्कता अपनाउन आग्रह
लगातारको वर्षाका कारण महाकाली नदीको सतह बढ्दै गएको छ । महाकालीमा पानीको सतह बढेसँगै जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले सजकता अपनाउन सबैमा आग्रह गरेको छ ।
आज बिहान महाकाली नदीको बहाव पाँच मिटर ८० सेन्टिमिटर पुगेको छ । प्रहरी चौकी दत्तुका अनुसार छ मिटर नाघ्यो भने खतरा हुन्छ । नदीमा ढुङ्गा तथा ठूला काठ बगिरहेका छन् ।
नदी बढेर सदरमुकाम खलङ्गाको बङ्गाबगड क्षेत्रमा तटबन्ध माथि चढेको छ । पत्रकार भोजराज जोशीका अनुसार निर्माणाधीन तटबन्धभन्दा माथि महाकाली पुगेको छ । अहिले नदीले पुरानै स्वरुप लिएको छ ।
नदीमा पानीको बहाव बढ्दा आसपासका क्षेत्रमा जोखिम बढेको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताउनुभयोे ।
नदी तटीय क्षेत्र तथा जिल्लाका अन्य नदी तथा खोलामा बाढी आउन सक्ने सम्भावना रहेकाले जिल्लावासीमा सावधानी र सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।
गत जेठ २८ गते मनसुन भित्रिएसँगै देशभर लगातारजसो पानी परिरहेको छ । यो हप्ता मनसुन सक्रिय भई देशभर पानी पर्ने हुँदा बाढी र पहिराको जोखिम रहेकाले सचेत रहन प्रशासनले आग्रह गरेको हो ।
विसं २०७० को महाकाली बाढीपछि तटबन्ध निर्माण भएका कारण अहिलेसम्म सदरमुकाम सुरक्षित रहेको भए पनि सदरमुकामभन्दा माथिल्लो क्षेत्र र दक्षिण क्षेत्रका बस्ती अहिले पनि जोखिममा छन् ।
ग्रामीण सडक अवरुद्ध
निरन्तरको झरीका कारण यहाँका ग्रामीण सडक अवरुद्ध भएका छन् । वर्षाका कारण खार–खलङ्गा सडक, खलङ्गा–तिङ्कर सडक र विटुले–पारिबगड सडक अवरुद्ध भएका हुन् ।
प्रदेश गौरव योजनाअन्तर्गत ग्राभेल भइरहेको खार–खलङ्गा सडकको तीन ठाउँमा सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएसँगै खलङ्गा–खार क्षेत्रमा सञ्चालन हुँदै आएका यातायातका साधन प्रभावित भएका छन् ।
यो सडक खण्डको मालभेला, झुस्कु मोड र सेला क्षेत्रमा सडक अवरुद्ध भएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष मङ्गलसिंह ठगुन्नाले बताउनुभयो ।
सडक अवरुद्ध हुँदा नौगाडसम्म जाने स्थानीयवासीलाई समस्या भएको छ । नौगाडबाट खलङ्गा आउने तरकारी बिक्रेताले झनै सास्ती भोग्नुपरेको नौगाडका स्थानीयवासी धनसिंह सितोलीले बताउनुभयो ।
“सडक अवरुद्ध हुँदा पिठ्यूँमा तरकारी ढुवानी गर्न समस्या हुन्छ”, उहाँले भन्नुभयो, “गाडी चल्यो भने सहज रुपमा तरकारी बजारसम्म पु¥याउन सकिन्छ ।”
अवरुद्ध सडक खुलाउन निर्माण व्यवसायलाई आग्रह गरिएको अध्यक्ष ठगुन्नाले बताउनुभयो । “यो सडक खण्डमा ग्वालेक निर्माण सेवाले सडक ग्राभिल गर्दैछ”, अध्यक्ष ठगुन्नाले भन्नुभयो, “निर्माण व्यवसायलाई सडक खुलाउन आग्रह गरिरहेका छौं ।”
यस्तै विटुले पारिबगर सडक खण्डको रिल पहिरो क्षेत्र अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै खलङ्गा–तिङ्कर सडक खण्डको राताकाठा क्षेत्रमा सडक अवरुद्ध भएको स्थानीयवासी अशोक ओझाले जानकारी दिनुभयो ।
राताकाठामा पूरै पहिरो आएको छ । चट्टान खसेपछि अहिले प्रहरीले पहिरो क्षेत्रमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । अझै वर्षा नरोकिएको कारण सावधानी अपनाउन प्रहरी प्रशासनले आग्रह गरेको छ ।



