
६० देखि ६५ वर्ष उमेर समूहलाई जेठ २५ गतेदेखि कोभिडविरुद्धको खोप दिइने
चीन सरकारले दिएको अनुदान स्वरूप दिएको १० लाखमध्ये ९ लाख खोप मंगलबार काठमाडाैं आइपुगेको छ।

नेपाल वायुसेवा निगमको जहाजले ८ लाख र एक लाख हिमालय एयरलायन्सले तिब्बतको केरुङबाट लिएको हो। बाँकी एक लाख बुधबार ल्याउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आपूर्ति व्यवस्थापन महाशाखाले जनाएको छ।

चीनको सिनोफार्म कम्पनीले उत्पादन गरेको भेरोसेल नामक खोप नेपाललाई अनुदानको रूपमा दिएको हो। यो खोपलाई विश्व स्वास्थ्य संगठनले मान्यता दिइसकेको छ।
चीन सरकारले नेपालमा पछिल्लोपटक थप १० लाख खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेको एक साता नबित्दै ९ लाख खोप आइसकेको हो। प्राविधिक कारणले एकैदिन ल्याउन नसकिएको थप १ लाख खोप पनि हिमालय एयरलायन्समार्फत ल्याइनेछ।
चीनले अनुदान स्वरूप दिएका १० लाख खोपमध्ये ८ लाख चीनको केन्द्रीय सरकारले र २ लाख चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले उपलब्ध गराएको हो। बुधवार नै थप २ हजार अक्सिजन सिलिण्डर नेपाल आइपुग्दैछ।
यसअघि १५ सय गरी ३५ सय वटा सिलिण्डर आइपुग्नेछ। २ लाख खोपबाहेक अन्य स्वास्थ्य सामग्री पनि तिब्बतले सहयोग गरेको महाशाखाले जनाएको छ।
खोप अभियान जेठ २५ देखि
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले चीनबाट खोप आएलगत्तै खोप अभियान २५ गतेदेखि सुरु गर्ने निर्णय भएको बताए। २५ गतदेखि देशभरका खोप लिन बाँकी ६० देखि ६५ वर्ष उमेर समूहलाई दिइनेछ।
चीन र अमेरिकाबाट खरिदबाट खोप आउने सम्भावना रहेको कुराप्रति संकेत गर्दै खोप प्रक्रिया निरन्तर अघि बढ्दै जाने मन्त्री त्रिपाठीले बताए।
‘खोप आउँदै गर्छ, खोप दिँदै जान्छौं,’ उनले भने। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार पाँच दिनभित्र सबै जिल्लामा पठाउने र २५ गतेदेखि खोप अभियान सुरु ग र्ने निर्णय भएको छ। यसअघि ६५ वर्ष माथिकालाई ६३ जिल्लामा र १४ जिल्लामा ५५ वर्षमाथिकालाई खोप दिइसकिएको छ।
चीनबाट आएको १० लाख खोपमध्येमा ५ लाख मात्र दिने तयारी भएको छ। चीनबाट थप खोप आउने निश्चित भएपछि बाँकी सबैलाई लगाइने महाशाखा प्रमुख तारानाथ पोखरेलले बताए। नेपालमा ६० देखि ६४ वर्षका ८ लाख ५० हजार जनसंख्या रहेको तथ्यांक छ।
कोरोना संक्रमण दर ३० प्रतिशत
गत चौबिस घण्टामा नेपालका कोरोना संक्रमण दर ३० प्रतिशत रहेको छ। अघिल्लो दिन सोमबारको तुलनामा ३ प्रतिशत बढी हो भने नेपालमा कोरोना चुचुरोमा पुगेको अवधि अर्थात् एक महिनाअघिको भन्दा १६ प्रतिशत कम हो। एक सातादेखि ३० देखि ३४ प्रतिशतभित्र कोरोना संक्रमणको दर देखिएको छ।
गत चौबिस घण्टामा परीक्षण भएका २० हजार १ सय ६५ वटा नमुनामध्ये ६ हजार ८५ जनामा कोरोना पुष्टि भएको हो। थपसहित नेपालका कोरोना संक्रमितको कुल संख्या ५ लाख ६६ हजार ५ सय ८७ पुगेको छ। तीमध्ये ३ लाख १५ हजार ९ सय ४८ जना दोस्रो लहरयता दुई महिनाको अवधिमा मात्र संक्रमित भएका हुन्।
गत चौबिस घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि घटेको छ। एक महिनाअघि संक्रमण तीव्र भएको बेलामा दैनिक मृत्युदर २ सय ४०/४५ को हाराहारीमा रहेकोमा केही सातादेखि एक सय १० देखि वरपर रहँदै आएको थियो। मंगलबार मृत्यु संख्या घटेर ६८ पुगेको हो।
ससर्त पुरानो कमिटी ब्युँताउन ओली तयार’
आन्तरिक विवादमा रुमलिएको नेकपा एमालेभित्र विवाद मिलाउन दोस्रो तहका नेता सक्रिय भएका बेला अध्यक्ष केपी शर्मा ओली नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ससर्त ब्युँताउन तयार भएका छन्।
माधव नेपाल समूहले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिए नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ब्युँताई पार्टी २०७५ जेठ २ गतेको अवस्थामा फर्किएको घोषणा गर्न ओली सहमत भएको एमाले उच्च स्रोतले जानकारी दिएको छ।
विवाद मिलाउन सक्रिय आफू पक्षधर नेताहरूसँग ओलीले आफू पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउन तयार रहेको तर त्यसका लागि नेपाल समूह पार्टीमै रहने विषयमा विश्वासिलो आधार बन्नुपर्ने बताएका छन्।
यसो भएमा वक्तव्य निकालेर पार्टी पुरानै अवस्थामा फर्किएको घोषणा गरी त्यति बेलाको स्थायी कमिटीको बैठक राख्न आफू तयार रहेको उनले जनाएका छन्।
नेपाल समूहका तर्फबाट मध्यस्थता गरिरहेका दोस्रो पुस्ताका नेताले पनि यसबारे जानकारी दिएर नेता नेपाललाई मनाउन प्रयास गर्ने बताएको स्रोतको दाबी छ।
सोमबार साँझ काठमाडौंको याक एन्ड यती होटलमा दुवै पक्षका नेताबीच भएको संवादमा पार्टीलाई कुनै पनि हालतमा विभाजनको बाटोमा लैजान नहुने र यसका लागि ओली र नेपाललाई सहमति गराउने प्रतिबद्धता व्यक्त भएको थियो।
संवादमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली तथा नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण बिष्ट सहभागी थिए। राति अबेरसम्म भएको बैठकले उनीहरूबीच पुरानो संरचना र पार्टीको वर्तमान अवस्थाबारे समेत छलफल भएको स्रोतले जनाएको छ।
‘अहिले नै परिणाम हात परेको छैन। हामी अझै आशावादी छौं। कहिलेकाहीं सडकको डिलमा पुगेको गाडीलाई ब्याक गरेर बचाउन सक्ने अवस्था हुन्छ।
अहिले हामी दुवै नेता ब्याक हुनसक्ने अवस्था केके छन्, त्यसबारेमा छलफल गरिरहेका छौं’, संवादमा सहभागी एक नेताले भने। उनका अनुसार जेठ ९ गते मिलिसकेको कुराकानी बिग्रेकाले यसपटक वार्तारत नेताहरूले केके विषयमा छलफल भएको छ भन्ने जानकारी आफ्नो समूहका शीर्ष नेतालाई पनि गराएका छैनन्। उनीहरूले ‘कुराकानी हुँदैछ’ मात्रै भनिरहेका छन्।
‘यसबीचमा भएगरेका कार्यलाई कमजोरीका रूपमा स्विकार्ने, अब आइन्दा यस्ता कमजोरी नगर्ने, पार्टी विधि र विधानअनुसार सञ्चालन गर्ने’ बेहोरा राखी ओली र नेपालले संयुक्त वक्तव्य जारी गर्नेसम्मको तयारी रहेको स्रोतको दाबी छ।
नेता नेपालले पार्टी एकता बचाउने जिम्मेवारी लिएका सबै नेतालाई एक साताभित्र निक्र्योलमा पुग्न आइतबार निर्देशन दिएका थिए। ‘ओलीसँग सहज लाग्छ भने मलाई भन्नु केही छैन होइन भने विवाद मिलाउने कुरा गरेर अलमल नगर्नुस् भनेको छु’, आफू निकट रहेका विद्यार्थीको बैठकमा नेता नेपालले भनेका थिए।
एकता बचाउने कोसिसमा रहेका नेता गोकर्ण बिष्टलाई सहमति गर्ने वा नगर्नेबारे प्रधानमन्त्री केपी ओलीसँग अन्तिम छिनोफानो गर्न निर्देशन दिएको सन्दर्भ उनले जोडेका थिए। त्यसपछि ओलीले सोमबार बस्ने भनिएको स्थायी कमिटी बैठक मंगलबारलाई सारेका थिए।
सोही अनुसार मंगलबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले पनि जेठ १० गते स्पष्टीकरण सोधिएका नेतालाई थप कारबाही गर्ने विषयमा कुनै छलफल गरेन। बैठकको धेरै समय बजेट भाषणबारेको चर्चामा बित्यो।
बैठकमा विवाद निरूपणका लागि गठित कार्यदल र पछिल्लो समयमा भइरहको संवादबारे सामान्य छलफल भएको थियो। बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले एकताका लागि अन्य संयन्त्रबाट पहल भइरहेको बताए।
विवाद समाधानका लागि बनेको कार्यदलमा नेपाल पक्षबाट संयोजक रहेका भीम रावल पार्टीको साधारण सदस्यबाटै निष्कासित भएपछि कार्यदल अलपत्र परेको थियो।
यसबीचमा दुवै पक्षबीच भएका संवादमा भीम रावल र शंकर पोखरेल सहभागी छैनन्। प्रवक्ता ज्ञवालीले पार्टी विभाजन रोक्न आफूहरूले प्रयास जारी राखेको बताए।
जेठ १० गते बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेपाल र झलनाथ खनालसँगै भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, कलिला खातुन, निरादेवी जैरु, लक्ष्मी चौधरी र कल्याणी खड्कालाई पार्टीबाट निष्कासनको निर्णय गरेको थियो भने केहीलाई स्पष्टीकरण सोध्ने निर्णय भएको थियो।
मंगलबारको बैठकमा यसबारे कुनै निर्णय भएन। सोमबार साँझको संवादमा स्पष्टीकरण सोधिएका नेताहरूलाई थप कारबाही प्रकृया अघि नबढाई सबैले आआफ्ना कमजोरी स्वीकार गर्ने सहमति भएबमोजिम मंगलबारको बैठकमा यस विषयमा कुनै निर्णय नभएको बताइएको छ।



